२ प्रतिशत ब्याजदरमा डेढ लाखले पाए साढे २ खर्ब ऋण – Nepal Press

२ प्रतिशत ब्याजदरमा डेढ लाखले पाए साढे २ खर्ब ऋण

काठमाडौं । सरकारले २ प्रतिशत ब्याजदरमा साढे २ खर्ब रुपैयाँभन्दा बढी सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको छ । बैंक तथा वित्तीय संस्थाले आफ्नो आधारदरमा अधिकतम २ प्रतिशतसम्म मात्र थपेर ऋण प्रवाह गर्न पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको थियो ।

एक लाख ४७ हजार २३ जनाले सरकारले दिएको सस्तो ब्याजदरको ऋण लगेका छन् । यस्तो ऋणको अवधि बढीमा पाँच वर्ष हुनेछ । सरकारले ब्याजका लागि मात्र १८ अर्ब ८६ करोड ९७ लाख ८९ हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई दिएको छ ।

अर्थ मन्त्रालयले २०७५ सालदेखि राष्ट्र बैंकमार्फत सो ऋण दिन थालेको हो । २०७९ को साउनसम्म २ खर्ब ५७ अर्ब ७७ करोड ३६ लाख २९ हजार रुपैयाँ ऋण स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा प्रवाह गर्न थालेका छन् । सरकारले तोकेको सात शीर्षकअनुसार अनुकूल हुने गरी कर्जा दिने व्यवस्था राष्ट्र बैंकले गरेको थियो ।

व्यवसायिक कृषिमा सबैभन्दा बढी कर्जा

सरकारले सस्तो ब्याजदरमा उपलब्ध गराएको कर्जा सबैभन्दा बढी व्यवसायिक कृषि तथा पशुपक्षी कर्जाको नाममा स्वीकृत भएको छ । यसका लागि एक खर्ब ६३ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ कर्जा स्वीकृत भएको केन्द्रीय बैंकले जनाएको छ । यो कर्जा ५९ हजार ८७९ जनाले लिएका छन् ।

यो विनाधितो र धितोसहितको ऋण हो । विनाधितो ३ अर्ब २५ करोड रुपैयाँ र धितोसहित एक खर्ब ६० अर्ब २० करोड रुपैयाँ ऋण प्रवाह भएको छ । यो कर्जाको लागि पाँच करोड रुपैयाँसम्म पाउने व्यवस्था छ ।

यस्तै ८९ अर्ब ४४ लाख २६ हजार रुपैयाँ कर्जा महिला उद्यमशीलताका लागि प्रवाह भएको छ । यो कर्जा ८४ हजार ३०५ जना महिलाले लिएका छन् । यो शीर्षकअन्तर्गत १५ लाख रुपैयाँसम्म कर्जा पाउन सकिने व्यवस्था छ ।

यता १५९ जना शिक्षित युवाले स्वरोजगारका लागि ८ करोड १० लाख ५० हजार रुपैयाँ कर्जा लिएका छन् । यस्तो कर्जा सात लाख रुपैयाँसम्म पाइने व्यवस्था छ ।

विदेशबाट फर्केका ९४९ जना युवाले परियोजना कर्जातर्फ ७७ करोड ४० लाख ३१ हजार रुपैयाँ लिएका छन् । यो शीर्षकअन्र्तगत १० लाख रुपैयाँसम्म पाउने व्यवस्था छ ।

यस्तै दलित समुदाय व्यवसाय विकास कर्जा ७६ करोड १६ लाख ७९ हजार स्वीकृत भएको छ । यो कर्जा एक हजार ८९ जनाले लिएका छन् । यो कर्जाको सीमा १० लाख रुपैयाँसम्म हो ।

उच्च प्राविधिक तथा व्यवसाियक शिक्षाका लागि १४७ जनाले ४ करोड ९७ लाख ८७ हजार रुपैयाँ लिएका छन् । यो शीर्षकअन्तर्गत ५ लाख रुपैयाँसम्म पाइने व्यवस्था छ ।

भूकम्प पीडितको निजी आवास निर्माणका लागि सरकारले २०६ जनालाई ६ करोड १ लाख १७ हजार रुपैयाँ सस्तो ब्याजदरमा ऋण दिएको छ । यस्तो ऋण एक व्यक्ति ३ लाख रुपैयाँसम्म पाउँछन् ।

कपडा उद्योग सञ्चालनका लागि २५३ जनाले ३ अर्ब ५६ करोड ८० लाख ९९ हजार रुपैयाँ ऋण लिएका छन् । यो ऋण भने ५ करोड रुपैयाँसम्म लिन पाइने व्यवस्था छ ।

प्राविधिक तथा व्यवसायिक तालिम परिषद्बाट दिइने तालिमका लागि २ जनाले ४ लाख रुपैयाँ लगेका छन् । यो ऋणको सीमा एक व्यक्ति २ लाख रुपैयाँसम्म मात्र हो । युवा स्वरोजगार कर्जा ३४ जनाले १ करोड ४१ लाख रुपैयाँ लिएका छन् । यो ऋणको सीमा भने पाँच लाख रुपैयाँसम्म हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर