मंसिर ४ को चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा (भिडिओ) – Nepal Press

मंसिर ४ को चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिले सोमबार टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले निर्वाचनले मुलुकमा लोकतान्त्रिक विधिअनुसार शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणलाई सुनिश्चित गर्ने धारणा पनि राखे । प्रधानमन्त्री देउवाले जनताको जीवनस्तरमा सुधार ल्याई मुलुकको स्वाधीनता र स्वाभिमानलाई संरक्षण र संवर्द्धन गर्न तथा समृद्धिको सपनालाई चाँडो पूरा गर्ने गरी काम गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले लोकतन्त्रमा सम्पूर्ण निर्णायक शक्ति सार्वभौम जनतामै रहने हुनाले राज्यका सबै तहका संरचनामा देशका सबै वर्ग तथा समुदायको समान पहुँच र सहभागिता सुनिश्चित हुने स्पष्ट गरे । प्रधानमन्त्री देउवाले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै वृहत राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको बताए ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक निकायका प्रमुख, सरकारका उच्च अधिकारी, मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधिको उपस्थिति थियो ।

त्यस्तै, समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विविध सांस्कृतिक झाँकीका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट राष्ट्रिय धूनसहित ब्याण्डबाजा प्रस्तुत गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर