उच्चको आदेशपछि पनि टुकुचा उत्खनन् जारी, तीनवटा घरमात्रै छाड्ने महानगरको भनाइ – Nepal Press

उच्चको आदेशपछि पनि टुकुचा उत्खनन् जारी, तीनवटा घरमात्रै छाड्ने महानगरको भनाइ

काठमाडौं । उच्च अदालत पाटनले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना नहटाउन अल्पकालीन आदेश दिए पनि काठमाडौं महानगरले आफ्नो काम जारी राख्ने भएको छ । अदालतले ३ वटा घरका लागि मात्रै सो आदेश दिएकाले अन्य संरचना भत्काउन बाधा नपर्ने महानगर स्रोतले बतायो ।

महानगरले टुकुचा खोला खुला गर्न डोजर अभियान सुरु गरेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले रिट दायर गरेका थिए । रिटमा बहसपछि उच्च अदालतका न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले हिजो अल्पकालीन आदेश जारी गरेको हो । त्यसमा निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? भन्ने कुनै आधार, कारण र प्रमाण उल्लेख गरी लिखित जवाफ पेश गर्न विपक्षी महानगरपालिकालाई भनेको छ ।

साथै निवेदनपत्रमा उठाइएका विषयवस्तुका बारेमा विपक्षीलाई समेत छलफल गराइ अन्तरिम आदेश हुने वा नहुने विषयमा निर्णय गर्न उपयुक्त हुने देखिएको भन्दै अदालतले सो प्रयोजनका लागि असोज ५ गते पेशी तारेख तोकेको छ । सो अवधिसम्म निवेदकमध्ये काठमाडौं वडा नम्बर १ को कित्ता नम्बर ७ मा रहेको जे नेक्स इन्भेस्टमेन्ट प्रालिका नाममा रहेको जग्गा, कित्ता नम्बर ३०२८ को उत्तारमान लामाको नाममा रहेको जग्गा र कित्ता नम्बर २०२९ को प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिका नाममा रहेका जग्गामा बनेका संरचना नहटाउन अदालतले आदेश दिएको हो ।

तीमध्ये कित्ता नम्बर ७ मा २०६८ सालको जेठ २० मा घरजग्गा नै खरिद गरी भोगचलन गरिआएको देखिएको तथा कित्ता नम्बर ३०३८ र ३०३९ को जग्गा निवेदकहरुले २०५३ सालमा खरिद गरी महानगरपालिकाबाट २०५४ साल वैशाख ११ मा भवन निर्माण इजाजतपत्र प्राप्त गरी घर निर्माण गरेको र कित्ता नम्बर ३०३८ को जग्गामा बनेको घर निर्माण सम्पन्न भई प्रमाणपत्रसमेत लिइसकेको भन्ने देखिन आएको अदालतको आदेशमा उल्लेख छ ।

ती जग्गामा बनेका घर कानूनबमोजिम रित नपुर्‍याइ वा उचित क्षतिपूर्ति नदिइकन भत्काउने कार्य नगर्न नगराउनु भनी विपक्षीका नाममा अल्पकालीन आदेश जारी भएको थियो ।

अदालतको आदेशलाई पालना गर्दै ती तीनजटा जग्गामा बनेका घर तत्काल नभत्काइने महानगर स्रोतले बतायो । बाँकी अतिक्रमण गरिएका जग्गाहरुमा भने महानगरले आज पनि आफ्नो काम जारी राख्ने भएको छ ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

One thought on “उच्चको आदेशपछि पनि टुकुचा उत्खनन् जारी, तीनवटा घरमात्रै छाड्ने महानगरको भनाइ

  1. त्यस ठाउमा टुकुचा खोलालाई भुमिगत नै रहन दिदा पुरातत्वको महत्व पनि झल्कने थियो। त्यसमाथिको भवन त भत्काउनैपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *