फ्ल्यासब्याकमा वागमती प्रदेशसभा : २८८ घण्टा बैठक, ५५ वटा मुल विधेयक पारित – Nepal Press

फ्ल्यासब्याकमा वागमती प्रदेशसभा : २८८ घण्टा बैठक, ५५ वटा मुल विधेयक पारित

हेटौँडा । वागमती प्रदेशसभाका सांसदले २०७४ साल माघ ७ गते सपथ खाएर माघ १८ गते पहिलो बैठक बसेयता करिब ५ वर्षको अवधिमा २८८ घण्टा सदनमा बिताएका छन् ।

२५२ पटक बैठक बसेर प्रदेशसभा सदस्यले ५५ मुल विधेयक र १५ संशोधन विधेयकसहित ७० वटा विधेयक पारित गरेका छन् । ७५ वटा विधेयक दर्ता भएकोमा ७० वटा मात्र प्रमाणीकरण भएको छ । यो अवधिमा सरकारले जारी गरेको ८ वटा विधेयकलाई पारित गरेको प्रदेशसभाले ४ वटा विधेयक भने अस्वीकृत गरिदिएको वागमती प्रदेशसभा सचिवालयले जनाएको छ ।

पाँच वर्षको अवधिमा प्रदेशसभामा एउटा सार्वजनिक महत्वको प्रस्ताव दर्ता हुँदा १४ पटक मुख्यमन्त्रीले सांसदहरूबाट उठेका प्रश्नको जवाफ दिएका छन् । प्रदेशसभाले पाँच वर्षको अवधिमा २ वटा कार्यविधिलाई स्विकृत गरेको सचिवालयले जनाएको छ । पाँच वर्षको कार्यकालको अन्तिम बैठक गत भदौ ९ गते बसेको र उक्त बैठकले एक विधेयकलाई पास गरेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी सुन्दर बास्कोटाले बताए ।

प्रदेशसभाले कानून निर्माण बाहेक प्रदेशको स्थायी राजधानी तोक्ने तथा नामाकरण गर्ने महत्वपूर्ण कमम समेत गरेको छ । प्रदेशसभा सुरु भएको झण्डै दुई वर्षपछि गत २०७६ साल पुस २८ गते बसेको प्रदेशसभा बैठकले स्थायी राजधानी मकवानपुरको हेटौँडालाई तोकेको हो भने नाम वागमती प्रदेश कायम गरेको हो । प्रदेशसभाको पाँच वर्षको अवधिमा ११ वटा शुन्य समय र २९ वटा विशेष समयमार्फत प्रदेशसभा सदस्यले आफ्ना धारणा ब्यक्त गरेका थिए भने एक पटक प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गरेका थिए ।

आठ वटा राजनीतिक पार्टीका सांसदहरू समावेश रहेका प्रदेशसभामा नेकपा एमाले ४१ जनासहित सबैभन्दा ठूलो दल थियो । विभाजनअघि एकल बहुमतमा रहेको एमाले फुटपछि पनि पहिलो दलमा नै कायम भयो । २३ जनासहित नेकपा माओवादी केन्द्र दोस्रो, २२ जनासहित कांग्रेस तेस्रो हुँदा नेकपा एसका १३ जना, विवेकशील साझाका ३ जना, नेपाल मजदुर किसान पार्टीका २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ जना तथा जनता समाजवादीको १ जना सांसद थिए । प्रदेशसभाको ५ वर्षे कार्यकालमा यहाँ ३ जना मुख्यमन्त्री बन्दा ३७ जना सांसद मन्त्री भए ।

कार्यकाल सफल : सभामुख श्रेष्ठ

वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले पाँच वर्षको वागमती प्रदेशसभाको कार्यकाल सफल भएको दाबी गरेका छन् । नेपाल प्रेसँग कुरा गर्दै सभामुख श्रेष्ठले सबै हिसाबले प्रदेशसभाको पाँच वर्षे कार्यकाल सफल भएको बताए । प्रदेशले पाँच वर्षमा पहिचान गरेको ८४ कानूनमध्ये ५५ वटा मुल विधेयक पारित गरेको बताउँदै उनले संघीयतालाई कार्यान्वयन गर्ने सवालमा प्रदेशसभाले उल्लेख्य भूमिका निर्वाह गरेको बताए ।

अन्य प्रदेशको तुलानामा वागमती ती प्रदेशले कानुन निर्माण तथा कार्यसम्पादनको सबालमा अब्बल काम गरेको भन्दै उनले संघियताको मर्म अनुसार प्रदेशसभाले पाँच वर्षमा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको उनको भनाइ छ ।

संघिय सरकारले केही कानुन निर्माणमा ढिलाइ गर्दा प्रदेश तहमा समेत समस्या भएको भन्दै समास्याको बाबजुद पनि अध्यादेशमार्फत भएपनि कामकारबाही अघि बढाइएको श्रेष्ठले बताए । प्रदेश संरचना लागू भएपछि जनताले थाहा पाउने गरी विकासको गतिविधि गर्न प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।

प्रदेश सांसदहरूमा कानुन निर्माणको सवालमा विकासको गतिविधिमा भन्दा कम चासो रहेको आफूले महसुस गरेको भन्दै श्रेष्ठले अब हुने निर्वाचनमा कानूनमा चासो भएकाहरूलाई अघि सार्नुपर्ने सुझाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर