पोखरा वडा नं. १३ मा ४०० महिलाको निःशुल्क पाठेघर क्यान्सर जाँच – Nepal Press

पोखरा वडा नं. १३ मा ४०० महिलाको निःशुल्क पाठेघर क्यान्सर जाँच

पोखरा । वर्षमा दुइपटक वडाभरिका महिलाहरुको पाठेघरको मुखको क्यान्सरबारे निशुल्क चेकजाँच गर्ने नीतिअनुसार पोखरा १३ का ४०० महिलाहरुले पहिलो शिविरबाट लाभ लिएका छन् । वडाध्यक्ष किरण बरालले आफ्नो चुनावी नीतिअनुसार सम्पूर्ण महिलाहरुको लागि संवेदनशील रोगको बारेमा सचेतना फैलाउन तथा रोगको जाँचसहित उपचारको लागि सहजता प्रदान गर्न यो शिविर राखिएको बताए ।

शनिबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म चलेको शिविरमा ४०० जना आमा, दिदीबहिनीले चेकजाँच गराएको उनले बताए । पाठेघरको मुखको क्यान्सर चेकजाँचको लागि आवश्यक दक्ष कर्मचारी तथा उपकरणको वडाले नै व्यवस्थापन गरेको थियो । स्वस्थ वडा बनाउने लक्ष्यमा यसले सानो भएतापनि सहयोग पुर्‍याउने वडाध्यक्ष बरालले बताए ।

महिलाको मात्रै नभई यो वडाले अघिल्लो महिनादेखि तालिका नै बनाएर सेवाग्राहीको निशुल्क चेकजाँचको व्यवस्था पनि गरेको छ ।
अध्यक्ष बरालका अनुसार फास्टिङ ब्लड सुगर (एफबीएस) प्रत्येक हप्ताको बुधबार ८ बजे जाँच हुनेछ भने, पीपीबीएस खाना खाएको दुई घण्टापछि १० देखि ५ बजेसम्म जाँच हुनेछ ।

र्‍यान्डम ब्लड सुगर (आरबीएस) हरेक दिन १० देखि ५ बजेसम्म जाँच हुनेछ । ब्लड सुगरबाहेक वडाले हेमोग्लोबिन, ब्लड ग्रुप, युरिक एसिड, एचसीभी, भीडीआरएल, युरिन लगायत परीक्षण गर्ने गरेको छ ।

यसबाहेक वडामा आउने सेवाग्राहीलाई निःशुल्क स्यानिटरी प्याडको व्यवस्था समेत गरिएको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *