भीषण वर्षाले माछा बगाएपछि लाखौंको क्षति – Nepal Press

भीषण वर्षाले माछा बगाएपछि लाखौंको क्षति

कैलाली । कैलालीमा शुक्रबारदेखि परेको अविरल वर्षाले ठुलो क्षति पुर्‍याएको छ । जिल्लामा १५ सय घर डुबानमा परेका थिए भने, ६ हजार जना प्रभावित भएका थिए ।

भीषण वर्षाले कैलालीको घोडाघोडी नगरपालिका १२ रक्ताही तालमा शिवराज चन्दले पालन गरिरहेको लाखौँका माछा बगेको छ । ४६ लाख ८१ हजार नगरपालिकालाई दिने गरि ताल भाडामा लिएर माछा पालन गर्दै आइरहेका चन्दले शुक्रबारको वर्षाले ठूलो क्षति पुराएको बताए । ‘वर्षाले धेरै ठुलो नोक्सानी गराएको छ’ उनले नेपाल प्रेसलाई भने ‘यो सिजनमा एक हजार क्विन्टल माछा निकाल्ने योजना बनाएको थिए । तर, सबै बगायो ।’

२६ हेक्टरमा क्षेत्रफलमा फैलिएको तालमा चन्दले करिब ४ वर्ष पहिलेदेखि माछा पालन गर्दै आइरहेका छन् । कोरोनाको बेला पनि समस्या परेको झेलेको बताउने चन्दले पछिल्लो दुई वर्षमा बाढीले नोक्सानी गरेको बताए ।

‘कहिले कोरोनाले कहिले बाढीले नोक्सानी गरिरहेको छ । नगरपालिकाले कुनै चासो दिएको छैन’ उनले भने ‘सम्झौताको रकम माग्न चासो दिने नगरपालिकाले क्षतिपूर्तिबापतको रकम भने दिइरहेको छैन ।’ उनले कृषक बिमा गरेको र नगरपालिकासँग पनि राहतको लागि पनि पहल गरेको भन्दै दुबै ठाउँबाट कुनै उपलब्धी नभएको बताए ।

शनिबार बिहान बाढीले माछा बगाएपछि ठुलो संख्यामा गाउँकै स्थानीयलाई माछा छोप्न भ्याइ न भ्याइ थियो । त्यो दृश्य देखाउँदै चन्दले भने, ‘यसरी त राति २ बजेदेखि माछा मारिरहनु भएको छ । टाढा टाढा सम्म पनि आज यहाँको माछा पुगेको छ ।’ उनले यस बिषयमा वडाध्यक्ष र नगरपालिका प्रमुखले पनि कुनै चासो नदिएको बताए ।

राष्ट्रिय युवा संघ कैलालीका अध्यक्ष समेत रहेका चन्दले यी र यस्तै कारणले युवाहरू कृषिमा आकर्षित हुन नसकिरहेको बताउँछन् । ‘मैले प्रत्येक वर्ष घाटा बेहोरिरहेको छु नत अनुदान पाएको छु न राहत र क्षतिपूर्ति उनले भने यसरी कृषिमा युवाहरूको आकर्षण बढाउन मेरो जस्तो समस्या झेलिरहेकाहरूलाई सरकार भएको आभास हुनुपर्छ ।’

उनले आफू मात्र नभएर आफू जस्ता अन्य सबै पीडित किसानहरूलाई सरकारले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर