लोसपाको अल्टिमेटम : असोज ४ सम्म नागरिकता विधेयक प्रमाणीकरण नभए संघर्षमा जाने – Nepal Press

लोसपाको अल्टिमेटम : असोज ४ सम्म नागरिकता विधेयक प्रमाणीकरण नभए संघर्षमा जाने

संविधान दिवसका दिन ‘विरोध दिवस’ मनाउने

जनकपुरधाम । असोज ४ गतेसम्म नागरिकता विधेयक प्रमाणिकरण नभए संघर्षमा जान बाध्य हुने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चेतावनी दिएको छ ।

संघीय संसदको दुवै सदनबाट दोस्रो पटकसमेत पारित भएर नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको छ । तर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न आनाकानी गरेपछि लोसपा अध्यक्ष महन्थ ठाकुरले आज विज्ञप्ती जारी गरेर यस्तो चेतावनी दिएका हुन् ।

भदौं ३१ म लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकमा भएको तीन बुँदे निर्णय सार्वजनिक गर्दै लोसपा अध्यक्ष ठाकुरले नागरिकता विधेयक निर्धारित समयमै प्रमाणिकरण गरी लाखौं नेपाली युवाहरुलाई अनागरिक र राज्य विहिनताको अवस्थाबाट बचाउन आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनेका छन्- असोज ४ गतेसम्म नागरिकता विधेयक प्रमाणीकरण नभए राष्ट्रियता, लोकतन्त्र, मानव अधिकारी र नागरिक अधिकारको रक्षा गर्न पार्टी बाध्य भई संघर्षमा जानु पर्ने परिस्थिति आउन सक्छ ।

टिकापुर घटनामा मुद्दा लगाइएका रेशम चौधरी लगायतका आन्दोलनकारीहरुलाई मुद्दा खारेज गरी रिहाई गर्ने सरकारको निर्णयलाई लोसपाले अत्यन्त सकारात्मक रहेको भनेको छ । गत भदौं ३० मा सरकारले रेशम चौधरी लगायतका आन्दोलनकारीमाथि लगाइएको मुद्दालाई प्रक्रिया मिलाएर खारेज गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष ठाकुरले टिकापुर जस्तै महोत्तरी घटनाका मुद्दा पनि खारेज गर्न सरकारसँग माग गरेका छन् । साथै लाल आयोगको प्रतिवेदन समेत तत्काल सार्वजनिक माग गरिएको छ ।

यस्तै, लोसपाले असोज ३ गते संविधान दिवसलाई ‘विरोध दिवस’को रुपमा मनाउने पनि निर्णय गरेको छ । संविधानमा पूर्ण रुपमा सहमति नरहेको भन्दै विरोध दिवसको रुपमा पालिका स्तरसम्म मनाउन नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुमा अध्यक्ष ठाकुरले विज्ञप्तीमार्फत आग्रह पनि गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर