अछाममा पहिरोमा परी ज्यान गुमाउनेको संख्या २१ पुग्यो, २ जना बेपत्ता (अपडेट) – Nepal Press

अछाममा पहिरोमा परी ज्यान गुमाउनेको संख्या २१ पुग्यो, २ जना बेपत्ता (अपडेट)

काठमाडौं । अछामा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । जिल्लाको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा २१ जनाको मृत्यु भएको हो ।

मृत्यु भएका  १७ जनाको सनाखत भएको र ४ जनाको सनाखत हुन बाँकी रहेको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा कमलबजार नगरपालिका–६ बस्ने ३० वर्षीय अमृता कामी, १७ वर्षीय सरिता कामी, २१ वर्षीय अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीय मैनकला कामी, १५ वर्षीय गिता कामी र १२ वर्षीय सिरु कामी रहेका छन् ।

यस्तै, कमलबजार नगरपालिका–८ ढुङ्गला बस्ने २६ वर्षीय गम्भीर दमाई, बस्ने २३ बर्षीय भाना दमाई, २१ वर्षीय डिग्रा दमाई, तीन वर्षीय कलु दमाई र चार वर्षीय कल्पना दमाई रहेका छन ।

तुर्माखाँद गाउँपालिका–५ बस्ने १७ वर्षीय जानकी शाही, १७ वर्षीय बिमला शाही, ४५ वर्षीय नेत्रबहादुर शाही, ३६ वर्षीय मनिषा शाही र ढकारी गाउँपालिका–६ बस्ने दुई वर्षीय नविन बुढा पनि रहेका छन् । तुर्माखाँद गाउँपालिकामा थप ४ जना वेपत्ता भएकाको शव फेला परेको छ । तर, उनीहरुको सनाखत हुन बाँकी छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार पहिरोमा परी २ जना अझै बेपत्ता रहेका छन् । यसैगरी, घाइते हुनेमा ढकारी गाउँपालिका–६ बस्ने ६२ वर्षीय हर्क वुढा, २१ वर्षीय चन्द्रा बुढा, १२ वर्षीय धर्म बुढा र कमलबजार नगरपालिका–६ बस्ने ८५ वर्षीय भक्त कामी, ४२ वर्षीय ईन्द्र सिह कामी, १२ वर्षीय कल्पना कामी, १२ वर्षीय ममता कामी, १० वर्षीय शुसिल कामी, २ वर्षीय सफलता कामी र ३८ वर्षीय डिक्रा कामी रहेका निमित्त प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

उनका अनुसार ढकारी गाँउपालिका–६ का ३ जना घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट कर्णाली प्रदेश प्रादेशिक अस्पताल सुर्खेतमा पुर्याएको छ । अछाममा शुक्रबार रातिको अविरल बर्षाका कारण ठुलो जनधनको क्षति भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *