भैरहवाबाट दैनिक अन्तर्राष्ट्रिय उडान, थप ४ कम्पनीले सेवा थप्दै – Nepal Press

भैरहवाबाट दैनिक अन्तर्राष्ट्रिय उडान, थप ४ कम्पनीले सेवा थप्दै

रुपन्देही ।रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । कुबेत–भैरहवाबीच हवाई उडान संचालन गरेको जजिरा एयरलाइन्सले शुक्रबारदेखि नियमित उडान सुरु गरेको हो । जेठ २ गते जजिराको पहिलो उडानबाट यहाँको अन्तर्राष्ट्रिय उडान शुभारम्भ भएको थियो ।

उद्घाटनको दिनदेखि एयरलाइन्सले हप्तामा तीनवटा उडान गर्दै आएको थियो । अहिलेसम्म गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको एकमात्र अन्तर्राष्ट्रिय एयरलाइन्स हो जजिरा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुभाष झाले शुक्रवारदेखि जजिरा एयरलाइन्सले कुवेत–भैरहवाबीच नियमितरुपमा दैनिक एउटा उडान संचालन भएको जानकारी दिए ।

हालसम्म जजिरा एयरलाइन्सले कुबेत–भैरहवाबीच १ सय १० वटा उडान गरेको झाले बताए । यी उडान हुँदै कुबेतबाट–भैरहवा विमानस्थलमा कुल ६ हजार ५ सय ८७ जना हवाइ यात्रु आएका छन् । भैरहवाबाट कुबेतका लागि कुल ७ हजार २ सय ४० जना यात्रु बाहिरिएका छन् ।
जजिरा एयरलाइन्सको ‘एयर बस ३२० नीओ’ बिमानले कुबेत–भैरहवाबीच हवाई उडान भर्दै आएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय हवाइ उडान संचालन गर्दा विभिन्न छुट र सहुलियत दिएका कारण जजिरा एयरलाइन्सबाट काठमाडाैं–कुबेत भन्दा भैरहवाबाट भाडा दर धेरै सस्तो छ । भैरहवाबाट उल्लेख्य यात्रु पाएपछि जजिराले साताको पूरै दिन उडान सुरु गरेको हो । पश्चिम नेपालबाट वैदेशिक रोजगारीमा जाने यात्रुहरू भैरहवाबाटै विदेश जान थालेपछि उनीहरुलाई सहज भएको छ ।

यहाँबाट लुम्बिनी प्रदेशका साथै कर्णाली, सुदूरपश्चिम प्रदेश र पूर्वमा बीरगञ्जसम्मका हवाई यात्रुले कुबेतको हवाइ यात्रा भैरहवाबाट गर्ने गरेका छन् ।

थप ४ विदेशी कम्पनीले सेवा थप्दै

अबको केही समयमा यहाँबाट जजिराबाहेक थप ४ विदेशी वायु सेवा कम्पनीले उडानको तयारी गरेका छन् । हंगेरीको वायु सेवा कम्पनी विज एयरले आउँदो अक्टोबर ३० देखि युएईको अवुधाबी–भैरहवा हवाई उडान संचालन गर्ने तयारी गरेको छ ।

अहिले अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले उडानका लागि अध्ययन र छलफल गरिरहेको गौतम बुद्ध विमानस्थल कार्यालयले जनाएको छ । विज एयरले एसिया क्षेत्रमा दुबईलाई बेस बनाएर उडान गर्दै आइरहेको छ । यो वायुसेवाले नेपालमा दुबईबाट साताको सातै दिन उडान गर्ने तयारी थालेको हो । यो वायुसेवाले नेपाललाई युरोपसँग हवाई सम्पर्कमा जोड्ने हुँदा पर्यटक आगमन पनि बढ्ने अपेक्षा गरिएको छ ।

एयर अरेबिया र फ्लाई दुबईले पनि छिट्टै नै भैरहवा उडान गर्न खोजेको प्रवक्ता सुभाष शाहले बताए । एयर अरेबियाले एक दिन अबुधाबी र एक दिन सारजाहबाट उडान गर्ने तयारी थालेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ विमानस्थलमा अन्तर्राष्ट्रिय एयरलाइन्स आकर्षित गर्न भारी छुट दिएको हो । १४ जेठ ०७९ मा नयाँ विमानस्थल सेवाशुल्क नियमावली, २०७८ लागू भएपछि एक वर्ष (जेठ ०८०)सम्म अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीले भैरहवामा ल्यान्डिङ, पार्किङ, न्याभिगेसन र सेक्युरिटी शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । न्यारोबडी जहाज भैरहवा उडान गर्दा काठमाडौंको तुलनामा प्रतिउडान एक लाख रुपैयाँसम्म छुट पाउने प्रवक्ता शाहले बताए ।

यस्तै, काठमाडौंको तुलनामा भैरहवाबाट पश्चिम उडान गर्दा झन्डै २० मिनेट छिटो हुने हुँदा जहाजको अपरेटिङ कस्ट पनि घट्न जान्छ । त्यसैले पनि भैरहवा उडान गर्न धेरै वायुसेवा कम्पनीले चासो देखाएका हुन् । जजिरा एयरवेजमार्फत भैरहवा–कुवेत उडान गर्दा यात्रुलाई काठमाडौंको तुलनामा झन्डै आठ हजार रुपैयाँ कम भाडा लाग्ने गरेको जजिराको नेपालस्थित जिएसए कम्पनीले जनाएको छ । यसकारण पनि धेरैको रोजाइ बनेको छ ।

बाध्यकारी नियम बनायो प्राधिकरणले

काठमाडौंमा अहिले एयर ट्राफिक जाम हुँदा भैरहवाको आकाश खुला रहन्छ । काठमाडौंमा विमानको चाप हुने तर भैरहवामा उडान अवतरण नहुने भएपछि सरकारले अन्तर्राष्ट्रिय उडान गरिरहेको एयरलाइन्सलाई भैरहवा विमानस्थलबाट पनि उडान गर्नुपर्ने बाध्यकारी व्यवस्था अघि बढाएको छ ।

अहिले जजिराले भदौ ३१ देखि सातै दिन नियमित उडान सुरु गरिसकेको छ भने र बिज एयरले यूएईको अबुधावीबाट कात्तिक १३ गतेदेखि हप्ताको तीन दिन उडान गर्दैछ ।

अन्य एयरलाइन्स कम्पनीहरूलाई बाध्य बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनमा एकभन्दा बढी उडान गर्ने एयरलाइन्सलाई नागरिक उड्यन प्राधिकरणले अक्टोबरपछि भैरहवाबाट पनि अनिवार्य उडान गर्न पत्र नै काटेको छ । ३० अक्टोबरदेखि मार्च २०२३ सम्मको उडान तालिका भैरहवाबाट गर्न वायुसेवा कम्पनीहरूलाई पत्राचार गरेको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले बताए ।

यसो भएमा अब अक्टोबरदेखि भैरहवाबाट अन्य ५ वटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्नेछन् । उनका अनुसार एयर अरेबिया, कतार एयरवेज, फ्लाइ दुबई, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान भर्नेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *