टुकुचा खोलामाथि बनेका ५८८ घर भत्काउन सुरिए बालेन – Nepal Press

टुकुचा खोलामाथि बनेका ५८८ घर भत्काउन सुरिए बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार हात्तिसारस्थित जय नेपाल हलको कम्पाउण्ड खोतलेर टुकुचा खोला फेला पार्‍याे । डोजरसहित पुगेको महानगरको टोलीले जमिनबाट १५ फिटमुनि टुकुचा खोलाको अंश भेटेपछि महानगरबासीले मेयर बालेन साहलाई स्यावासी दिइरहेका छन् ।

बुढानिलकण्ठदेखि सुरु हुने टुकुचा खोला थापाथलीको कालमोचनबाट वागमतीमा मिसिन्छ । यसको लम्बाई साढे ५ किलोमिटर रहेको छ । यही टुकुचा खोला वर्षौंदेखि अतिक्रमण भएको थियो । खोलामाथि अनेक संरचना बनेका छन् । यी संरचना हटाएर खोलालाई खुला गर्न महानगरलाई सजिलो छैन ।

महानगरले अहिले मिचिएको खोला खुलाउन सक्रिय भएको छ । टुकुचा खोला पत्ता लागेसँगै मिचिएको ४ सय ५० मिटर खोला पहिलेकै अवस्थामा फर्किन्छ त ?

अहिले जहाँ खोला भेटिएको छ, त्यहाँ ठूला-ठूला व्यापारिक भवनहरु छन् । अहिले थोरै मात्र भेटिएको खोला त्यतिकै छोड्ने कि सुरुदेखि नै मिचिएको ठाउँबाट खाली गराउने भन्ने चुनौती महानगरलाई छ ।

जय नेपालहलदेखि काठमाडौं प्लाजासम्म ४ सय ५० मिटर खोला गायब छ । काठमाडौंमा महानगरपालिकाका यसअघिका नेतृत्वलाई खोला गायव भएको थाहा नभएको होइन । विगतमा पटकपटक खोला भएको संरचना हटाउन महानगरले भनेको थियो । तर यसमा गम्भीर ताकेता गर्न सकेन ।

महानगरमा बालेन साह आएपछि टुकुचाको खोजीमा जुटेका ुहन् । महानगरले सूचना जारी गरेर टुकुचा खोलाको अतिक्रमण खुलाउन समय दिएको थियो । सूचना जारी गरेलगत्तै साहले खोला कहाँबाट मिचिएको हो भनेर विज्ञहरुसँग छलफल गरेका थिए । त्यही क्रममा शहरी विकास मन्त्रालयको उपत्यका विकास प्राधिकरणले करिडोर बनाउन अध्ययन गरेको थियो ।

बोनाफाइड इञ्जिनियरिङ कन्सल्टेन्सी प्रालिले तयार पारेको उक्त पूर्वसम्भाव्यता प्रतिवेदनमा टुकुचा खोला कहाँ कसरी मिचिएको भन्ने प्रष्ट देखिन्छ । सोही प्रतिवेदनलाई आधार मानेर मेयर साहको टोलीले टुकुचा खोला कहाँबाट गायब भएको हो भनेर खोजी गरेको हो । त्यसमा स्थानीयले पनि साथ दिए । टुकुचा खोला फर्काउन महानगरले विभिन्न चरणमा काम थालेको छ ।

मेयर बालेनको सचिवालय सदस्य सुनिल लम्सालले सुरुमा खोला कतादेखि मिचिएको हो भन्नेमा धेरै अलमलमा परेको बताए ।

उनले भने, ‘हिजो हामीले फर्स्ट फेजमा टुकुचा छ कि भनेर जहाँ टि मार्क गरेका थियौं, त्यहाँ नै खन्दा भेटियो ।’

महानगरले जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्म (४ सय ५० मिटरमा) मिचिएको ठाउँमा पर्ने घरहरुलाई खाली गर्न सूचना दिइसकेको छ । अहिले महानगरले खोलामा पर्ने घरहरुमा रेखांकन गर्दैछ । रेखांकन गरिसकेपछि साइट क्लियर गरिने सचिवालय सदस्य लम्सालले बताए ।

उनले भने, ‘बीचमा जति पनि घरहरु पर्छन्, उहाँहरुलाई सुचना दिइसकेका छौं । पहिला साइट क्लियरेन्स गर्छौं । रेखांकनहरु गर्दैछौं । रेखांकन गरेर त्यसलाई क्लियर गर्छौ ।’

लम्सालका अनुसार १२ मिटर क्लियर गरेपछि टुकुचा खोल्ने महानगरको योजना छ । त्यसको लागि ठेक्का खुलाउन योजना पनि बनाइसकेको छ । ठेक्का प्रक्रिया छिटै अघि बढिहाल्ने उनले उल्लेख गरे । त्यसपछि व्यवस्थित रुपमा टुकुचा करिडोरको रुपमा विकसित गर्ने योजना महानगरसँग रहेको उनले बताए ।

जय नेपाल हलदेखि टनेल गरेर खोला काठमाडौं प्लाजासम्म लगिएको छ । ३ फिटसम्म माथिबाट माटोले खोला पुरेको छ ।

लम्साल भन्छन्, ‘त्यहाँ पहिलो खाल्डो ठाउँ हो । खोला पुरेर उनीहरुले त्यसलाई जमिन बनाएका छन् । त्यो खोला पहिला धेरै चौडा थियो ।’

पहिला खोला कम्तिमा १२ मिटरदेखि ५० मिटरसम्म चौडा थियो । स्थानीयका अनुसार खोला एकदमै ठूलो थियो । खोलालाई पूर्ववत अवस्थामा फर्काउन नसके पनि त्यसलाई एउटा करिडोर खोलाको रुपमा पहिलाको पूर्ववत अवस्थामा फर्काउने काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बताइन् ।

खोला खाली गराएर करिडोर बाटो बनाउने र करिडोर बाटोको मुनि ढलहरु खोलामा मिसिन नदिनका लागि सबै योजना तयार गरेको महानगरको दाबी छ । डंगोलका अनुसार कार्यन्वयनमा लग्ने तयारी भइरहेको छ ।

अब बीचमा पर्ने घरहरु भत्काउने तयारी छ महानगरको । तर कसले खोलालाई व्यक्तिको नाममा पास गरिदियो भन्ने इतिहास खोज्नु पर्नेछ महानगरले ।

सचिवालय सदस्य लम्साल भन्छन्, ‘खोलालाई जसले यो अवस्थामा पुर्यायो तिनीहरुलाई पनि कारबाहीको प्रकिया अगाडि बढाएका छौं । यो भनेको गैरकानुनी काम हो । खोलालाई दुनियाँमा कहि पनि यसरी मिच्न पाइँदैन । बिगार्न पनि पाइदैन ।’

जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्म ५ सय ८८ वटा घरले खोला मिचेको फेला परेको महानगरले जनाएको छ । ती सबै घरहरु हटाउने लम्सालले बताए ।

उनले भने, ‘खोला मिचिएको ठाउँमा क्लियर नै गर्छौं । घरले पुरै मिचिएको रहेछ भने पुरै घर भत्काउनै पर्यौ । कसै-कसैको थोरै थोरै भत्किन्छ । कुनै-कुनै घरको अलि धेरै क्षति हुन सक्छ ।’

अब टुकुचा खाली नहुँदासम्म काम निरन्तर चल्ने लम्सालले बताए ।

‘अब घरहरु प्वाल पार्नुपर्यो । भित्ताहरु फोड्नुपर्यो । मेसिनले भत्कायो भने घर नै ढल्ला । खोला हामीले पुरै खोल्छौं । खोला पूर्ववत अवस्थामा नै फकाउँछौं । त्यसमा हामी दृढ छौं ।’ उनले भने ।

सहरीविज्ञ भन्छन् : सम्भव छ, सहज छैन

टुकुचा खोला खाली गर्न सम्भव भए पनि गाह्रो रहेको शहरी विकास विज्ञ तथा पूर्वसचिव किशोर थापा बताउँछन् ।

उनले भने, ‘कति व्यक्तिले त्यसलाई कब्जा गरेका छन् । कति बाटो बनेको छ । घरमुनिबाट गएको छ । कम्पाउण्ड मुनिबाट गएको छ । त्यसले गर्दा सम्भव त छ, तर सजिलो छैन ।’

घरधनी, स्थानीय समुदाय, वडा कार्यालय, सरकार र महानगरपालिका मिलेर यो काम सकिने उनले बताए । यदि पुरै खोला खाली गर्न सकिएन भने पनि सुरुवात गराउनु राम्रो भएको उनको भनाइ छ ।

थापा भन्छन्, ‘नीतिगत कुरा के हो भने टुकुचालाई पुर्न पाइदैन, टुकुचालाई छोप्न पाइदैन भन्ने त भयो नि । महानगरले त्यो नीतिअन्तर्गत नै यो खुलेको हो । त्यो नीतिको कार्यान्वयन गर्दै जानुपर्छ ।’

पहिले खोला छोपे पनि हुन्छ भन्ने भएकाले जसले जहाँ-जहाँ सक्यो उसले छोपेको थापा बताउँछन् ।

उनले भने, ‘यो उपत्यकाको एकदमै महत्वपूर्ण नदी हो । जसले जहाँ जति सक्छ त्यति छोप्यो । बहाब साघुर्‍याइदियौं । त्यही भएर समस्या भएको हो ।’

अहिले हराएको ४ सय ५० मिटर खोलामाथि घर बनाउनेहरुले आफूसँग नक्सा भएको दाबी गरिरहेका छन् । तर शहरीविज्ञ थापा भने खोलाको जग्गा पास हुनै नसक्ने बताउँछन् ।

‘टुकुचाको जग्गामाथि घर बनाउनेको नक्सापास भएको जस्तो मलाई लाग्दैन । नक्सा पास त हुनै सक्दैन,’ उनले भने, ‘नक्सामा एउटा देखाएर अर्को काम गरे । कहीँ त्यहाँको स्थानीय समुदाय मिले होलान् । कहीँ उपभोक्ता समिति मिले होलान् ।’

उपत्यकाका शहरभित्र उपभोक्ता समिति बनाउँदै खोला ह्युम पाइपमा छिराएर बाटो बनाउने र जग्गा बेच्ने चलन विगतमा व्यापक चलेको उनले बताए । टुकुचा पनि त्यही चपेटामा परेको उनको भनाइ छ ।

टुकुचालाई पहिलेको अवस्थामा फर्काउन नसकिने उनी बताउँछन् । टुकुचामा पहिला दायाँबायाँ खेत बारीहरु रहेको सम्झदै थापा भन्छन्, ‘खेतबारी त छैन, अहिले घर सडकहरु बनेका छन् । टुकुचा धुम्बाराहीदेखि लिएर त्रिपुरेश्वरसम्म टुकुचा बगेको एउटा खोल्सो भए पनि बगेको देख्न सकिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *