स्पष्टिकरण सोधेपछि प्रमुख सचेतकले छोडिन् नेकपा एस, माओवादीमा प्रवेश – Nepal Press

स्पष्टिकरण सोधेपछि प्रमुख सचेतकले छोडिन् नेकपा एस, माओवादीमा प्रवेश

कैलाली । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गा विक माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । आज माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले उनलाई पार्टी प्रवेश गराएका हुन् । नेकपा एमालेबाट समानुपातिकमार्फत प्रदेशसभा सदस्य रहेकी दुर्गा एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीमा सनाखत गरेकी थिइन् । उनी नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रमुख सचेतक समेत हुन् ।

‘संविधानको रक्षा गर्न नेकपा एकीकृत समाजवादीमा लागेका थियौँ’ उनले नेपाल प्रेसलाई भनिन्, ‘अवसर त्यागेर त्यो पार्टीमा लागेका थियौँ । अहिले त्यहाँ अवसरवादीको हालीमुहाली हुन थाल्यो ।’

केही दिन पहिले उनलाई नेकपा एकीकृत समाजवादीमा रहेर एमाले र माओवादी केन्द्रलाई सहयोग गरेको भन्दै प्रदेश पार्टी कार्यालयले स्पष्टीकरण मागेको थियो । उनले स्पष्टीकरण बुझाउनु भन्दा पहिले पार्टी नै परिवर्तन गरेकी हुन् ।

नेकपा रहँदा भीम रावल निकट रहेकी दुर्गा एमाले विभाजन हुँदा रावलसँगै एमालेमा रहिनन् । पार्टी विभाजन हुन भन्दा पहिले नै प्रमुख सचेतक रहेका तारा लामा तामाङको स्थानमा दुर्गा विकलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको थियो । पछि उनी नेकपा एकीकृत समाजवादीको पनि प्रमुख सचेतक भइन् । केही दिन पहिले तारा लामा तामाङ र कुलवीर चौधरीले पनि नेकपा एकीकृत समाजवादी छोडेर एमाले रोजिसकेका छन् । १४ सांसदसहित प्रदेशमा सबैभन्दा ठुलो दल रहेको नेकपा एकीकृत समाजवादीबाट अहिलेसम्म ३ जना सांसदले पार्टी छोडिसकेका छन् ।


त्यस्तै आज थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं नेकपा(एस) काठमाडौं–कंचनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी, विक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावत लगायत पनि माओवादी केन्द्र प्रवेश गरेका छन् ।


प्रतिक्रिया

One thought on “स्पष्टिकरण सोधेपछि प्रमुख सचेतकले छोडिन् नेकपा एस, माओवादीमा प्रवेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर