‘शेरबहादुर-प्रचण्डजी ! पदलोलुपमा भागबण्डा नगर्नुस्, धरातल पनि हेर्नुस्’ (भिडिओ) – Nepal Press
नेपाल टक

‘शेरबहादुर-प्रचण्डजी ! पदलोलुपमा भागबण्डा नगर्नुस्, धरातल पनि हेर्नुस्’ (भिडिओ)

भोजपुर कांग्रेसका सभापति विनोद बान्तवा भन्छन्- सुदन र राजेन्द्रले गठबन्धनमा म उठ्छु र जित्छु भन्ने मानसिकता त्याग्नुपर्छ

काठमाडौं । २००७ सालको राणाविरोधी आन्दोलनदेखि राजनीतिक परिवर्तनका हरेक मुभमेन्टमा अगुवाइ गर्ने जिल्लामा पर्छ भोजपुर । राजनीतिक दलमा पनि थुप्रै हस्ती जन्माएको छ भोजपुरले । पञ्चायतदेखि गणतन्त्रसम्म हरेकजसो सरकारमा शक्तिशाली मन्त्रीसहित यहाँको प्रतिनिधित्व भइरहेको छ । यहाँको एउटा ‘रोचक’ पक्ष भने २०१५ सालमा कांग्रेसले जितेयताका ६४ वर्षका सबै संसदीय चुनावमा वामपन्थीको वर्चस्व रहँदै आएको छ ।

यसैबेला संघारमा आएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ दलमा सीट बाँडफाँट टुंगिनसक्दा कांग्रेसले भोजपुरमा सशक्त दाबी रहेको जनाएको छ । न्यायोचित रूपमा टिकट दिनुपर्ने भन्दै गठबन्धनको बलमा साढे ६ दशकपछि इतिहास रच्ने यो ‘कम्फर्टेबल’ अवसरलाई गुमाउन नचाहेको जिल्लाका नेताहरू बताउँछन् । सँगै सधैँ अरूलाई काँध थाप्न नसकिने भन्दै ‘विद्रोही’ स्वरहरू पनि सुनिन थालेका छन् ।

यसै सिलसिलामा कांग्रेस भोजपुरका सभापति विनोद बान्तवा (जो चुनावी रेसमै छन्) सँग मंसिर ४ का लागि कांग्रेसको तयारी, सीट भागबण्डामा पार्टीको दाबी, गठबन्धनका सम्भावित परिदृष्यमा केन्द्रित रहेर गरिएको कुराकानी नेपाल टकमा

– चुनाव आउन ६०-६५ दिन बाँकी छ, कस्तो छ भोजपुर कांग्रेसको तयारी ?

राजनीतिक दलका मान्छेहरू स्वाभाविक रूपमा सधैँ चुनावको तयारीमा हुन्छौं नै । अहिले पनि तयारीमै छौं तर गठबन्धनको कारणले के-कस्तो हुने हो अन्यौलमै छौं ।

– भोजपुरको संघमा एउटा प्रदेशमा दुईटा क्षेत्रमध्ये कांग्रेसको दाबी कहाँ ?

नेपाली कांग्रेस भोजपुरले चुनाव जित्छौं भनेर तीनै ठाउँ दाबी गरेका छौं । म जिल्ला सभापति भएपछि दौडाहासँगै अब कांग्रेस गाउँगाउँ आयो भन्ने सन्देश गएको छ । हामी संगठनमा सुदृढ र राम्रो छौं । अनुशासित छौं । जिल्ला सभापतिको फिल्ड मार्सलको आधारमा भन्ने हो भने कांग्रेस संघ र प्रदेशका दुवै निर्वाचन क्षेत्रमा जित्न सक्षम छौं ।

– यो दाबीपछाडिको आधार के छन् ?

स्थानीय चुनावको परिणामलाई आधार बनाउन सकिन्छ । हामीले २८ वटा वार्डमा अध्यक्ष जितेका छौं । भोटको आधारमा गठबन्धनका कारण हामीले सबै ठाउँ प्रमुख उठाए-नउठाएपनि अहिले हामी २३ हजार प्लस छौं । यदि हामी अरु ठाउँ पनि उम्मेदवार उठाएको भए जिल्लामा फस्ट हुन्थ्यौं । हाम्रो मूल दाबी त्यही हो ।

– यहाँले दाबी गरिरहँदा, गठबन्धनको कार्यदलमा त ७४ को निर्वाचनलाई आधार मान्ने मापदण्ड बनेको छ । त्यसलाई हेर्दा माओवादीका सुदन किराती, अहिलेका मुख्यमन्त्री नेकपा एसबाट राजेन्द्रकुमार राई स्वत: पर्नुहुन्छ । यसले त कांग्रेसको दाबी ओझेलमा पार्‍यो नि ?

कांग्रेस इमान्दारपू्र्वक लाग्छ उहाँहरूले दाबी गर्नु पनि स्वाभाविक हो । तर, दाबी गर्नुअघि उहाँहरूले हिजोको अवस्थालाई पनि बुझ्नुपर्छ । हिजो सुदनजी, राजेन्द्रजी र शेरधनजीहरू लड्दै गर्दा एउटै झण्डा, एउटै सिद्धान्त र एउटै कार्यकर्तामा लड्नुभाको थियो । माननीयज्यू तपाईँहरूले अहिले पुनर्विचार गर्न जरुरी छ ।

– तपाईँहरूले यसो भनिरहँदा भोलि केन्द्रको निर्णय त मान्नैपर्छ नि ?

कांग्रेस पार्टी हामी इमान्दार छौं केन्द्रको निर्णय मान्छौं, सुन्छौं, बुझ्छौं र जान्दछौं । मैले अघि नै पनि भनेँ जड के हो भन्ने मुख्य विषय हो । हिजो शेरधन, सुदन राजेन्द्रजी सबैको भोट एक ठाउँमा थियो । सुदनजीको पार्टी अफिस र शेरधनजीको पार्टी अफिसमा राखेको त्यही झण्डा । मार्क्स, लेनिन, एंगल्स सबै त्यही नेताहरू । त्यसैले उहाँहरू सहजै ढंगले मिसिन सक्नुभयो । भोजपुर एउटा ऐतिहासिक जिल्ला पनि हो । १५ सालमा तीनै क्षेत्र जितेको जिल्ला प्रजातान्त्रिक लडाइँमा भोजपुरलाई कब्जा गरेर क्रान्तिलाई सफल पारेको जिल्ला । भोजपुरको पृष्ठभूमि, यहाँको राजनीति अवस्था जिल्ला सभापतिको हिसाबले हेर्दै गर्दा अहिले फरक ढंगले बुझिरहेको छु । अहिले हामीले संघमा दाबी गर्दै गर्दा माओवादी साथीहरूको भोट लगभग ७ हजार भए हामीलाई पर्याप्त हुन्छ । हाम्रोमा उहाँहरूले ७ हजार मत थपिदिन सक्नुभयो भने नेपाली कांग्रेस विजयको नजिक पुग्छ । तर, हामीले माओवादीलाई २२ हजारभन्दा धेरै भोट दिनुपर्छ । भन्नुस् ७ र २२ को फरक कति हो ? तर, यसलाई कसैले दिग्भ्रमित नपारियोस्, नबुझुन् ।

कांग्रेस पार्टी निर्णयको पक्षमा अडिग भएर उभिन्छ उहाँहरूलाई दियो भने । सम्भावनाको खोजी र जमिनको अवस्था पनि हेर्नुस् । मुख्यमन्त्री राजेन्द्रजीलाई बोक्न पनि हामीलाई सहज छ बोक्छौं पनि । तर, उहाँहरूको भोट भनेको लगभग २ हजारको नजिक छ । १७ हजार भोटले निर्वाचित हुनुपर्छ भने कल्पना गर्नुस् १५ हजार भोट कहाँ खोज्ने ? जनता, कार्यकर्ता परिवर्तनको पक्षमा छन् । गठबन्धन हुन्छ म उठ्छु र चुनाव जित्छु भन्ने मानसिकता त्याग्नुपर्छ । म कार्यकर्ताको बीचमा कत्तिको छु, जनताको बीचमा कत्तिको छु, मुख्यमन्त्री हुँदै गर्दा के विकास गरेँ, माननीय हुँदै गर्दा सदनमा जनताका सवाल कति उठाएँ ती विषयमा पनि फर्किनुपर्छ । हामी गठबन्धनका साथीहरूले शेरबहादुरजी के भन्नुहुन्छ, प्रचण्डजी के भन्नुहुन्छ भोजपुर उहाँहरूले देख्नुमात्र भएको छ चिन्नुभएको छैन । उहाँहरूलाई स्वाभाविक लाग्छ आफ्नो स्वार्थका निम्ति पदलोलुप भएर, भागबण्डा लाएर कार्यकर्तालाई दिग्भ्रमित पार्नु स्वाभाविक हो । म शेरबहादुर-प्रचण्डलाई भन्दा पनि भोजपुरका अहिलेका माननीय र मुख्यमन्त्रीलाई आफ्नो दलको खुट्टा के-कस्तो छ भन्ने मनन गर्न निवेदन गर्न चाहन्छु ।

– १५ सालमा कांग्रेसले जितेको भोजपुर त्यसपछिका सबै चुनावमा वामपन्थीले कब्जा गर्‍यो । योपटक गठबन्धनका कारण तपाईँहरूलाई कम्फर्टेबल हुँदाहुँदै यसपटक ब्याक सर्नुपर्ने देखियो भनेर आकांक्षीहरू, जिल्लाका प्रभावशाली नेताहरूले सामाजिक सञ्जालमा असन्तुष्टि पोखिरहेका छन् । यसले बागी विद्रोहीको संकेत पनि देखिरहेको छ नि ? तपाईँले नै हाम्रो कति भोट खन्याउने त भन्नुभो ?

मैले भोट खन्याउन नसक्ने भन्दा पनि व्यवहारिकतामा कत्तिको सम्भव छ भन्ने उजागरमात्र गर्न खोजेको । समाजमा धेरैखालको मान्छे छौं । एउटै परिवार, दाजुभाइ पनि मिलिन्न । हामी त फरक पार्टी, विचार र सिद्धान्तका हौं । कांग्रेस भन्नेबित्तिकै पनि सबै विधिविधान पालना गर्छन् भन्ने छैन । त्यहाँ पनि तत् स्वार्थका परिचालित मानिसहरू हुन सक्छन् । अरुलाई भोट हाल्दै गर्दा ६० देखि ७० मत एकमतले मतदान गराउन सक्छौं । तर, कतिपय कार्यकर्ता विद्रोह स्वाभावका हुन्छन् । कतिपय आस्थावान् मान्छेहरू हिजोको द्वन्द्वकालको कारण, एमाले फुटेर नेकपा एस बनेको कारणले हुनसक्ला, कसैले कोही कालान्तरदेखि एउटै पार्टीमा लागेर अनुशासित छ भन्लान् । हिजो सूर्यबाट उठ्ने, आज अर्कोबाट उठ्ने, भोलि अर्कोबाट उठ्ने भो भने कांग्रेस पनि समस्यामा पर्नसक्छ । हामीले कार्यकर्तालाई ह्वीप जारी, निर्देशन गरेपनि पालना नहोला कि भन्ने मेरो चिन्ता हो । मलाई विभिन्न तहका साथीभाइ, वयोवृद्ध र युवाहरूले भन्छन्- दाइ हामी जिम्मेवार बन्न सक्दैनौं यस्ता कुरालाई चाहिँ मैले यो मिडियाबाट भन्न खोजेको हो ।

– भनेपछि तपाईँहरूलाई तलबाट दबाब छ ?

एकदम ठूलो दबाब छ ।

– तपाईँहरूको सभापति प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनविरुद्ध कोही नबोल्न कडा निर्देशन दिनुभएको छ नि ?

बोल्नुहुन्न, मैले पनि साथीभाइलाई गठबन्धनको विरुद्ध कोही पनि नबोल्नुस्- म भोट दिन्न भनेर । चुप्प भएर बस्नुस् । यो गठबन्धन राष्ट्रिय आवश्यकताको लागि पनि भएको होला । हामी भोजपुरेहरू अन्यायमा परौंला । तर, राष्ट्रिय आवश्यकताका निम्ति बल पुग्छ भने हामी भोजपुरे जनता-कांग्रेसजनले सहर्ष स्वीकारेर जानुपर्छ ।

– अस्ति भर्खर सकिएको स्थानीय चुनावमा पहिला जितेको षडानन्द कांग्रेसले गुमायो, पौवादुङ्मामा सहमति पालना भएन गठन्धन टुट्यो, हतुवागढीमा पराजित हुनुपर्‍यो यी कुराको असर मंसिर ४ मा पर्ला नि ?

स्थानीय चुनाव र संसद-प्रदेशको निर्वाचन फरक हो । स्थानीयमा माथ्लो घरको काका उठ्यो भने पारिवारिक नाताले सहयोग गर्नुपर्ने वा चुप्प बस्नुपर्ने हुन्छ । संसदीय चुनावमा संसद आउने राजनीतिकर्मीको व्यक्तित्वमा भर पर्छ । उसको प्रभूत्व कस्तो छ, कार्यकर्तामाझ कस्ता छन् । पहिले जितेर आउँदै गर्दा ५ वटा बजेट जाँदै गर्दा विकास के-के त्यसले असर पर्छ । प्रदेशमा पनि त्यही हो सबै प्रदेशको नामाकरण र राजधानी सकिँदा १ नम्बर प्रदेश अहिले पनि नामविहीन छौं । त्यसले गर्दा पनि मुख्यमन्त्रीजीलाई प्रश्नचिन्हरू उठ्न सक्छ । तपाईँले नामाकरण किन गर्न सक्नुभएन ? भन्दा हामी गठबन्धनलाई घाइते तुल्याउन सक्छ । यसलाई गम्भीर विश्लेषण गर्नुपर्छ ।

हामी पराजित भएका छौं जुन आशा, भरोसा र विश्वास लिएर गठबन्धन गर्दै गर्दा गरेका थियौं त्यो यात्रामा पुग्न सकेनौं मैले अस्ति निर्मम समीक्षा गर्नुपर्छ भनेको छु । त्यसमा नैतिक र राजनीतिकरूपमा कांग्रेसले पनि जिम्मा लिनुपर्छ । तर, पूर्ण समीक्षा नभएका कारण हामी खतराभित्र यात्रा गरिरहेका छौं । अहिले पनि गठबन्धनको जहाज खतरामुक्त छैन । त्यसैले प्रचण्डजीले के निर्णय गर्नुभो, शेरबहादुरजीले के गर्नुभो त्यसलाई पालना गर्न तम्तयार छौं । गाउँमा एउटा खसी काटेर भेजो लाउँदै गर्दा सकभर मेरै भागमा फल मासु परोस् भनेर एकहोरो हेर्ने हामी । यो त राजनीति हो धेरै कुरा सोच्नुपर्छ । एक भोटले कोही माथि आउँदा समाजमा चिनिन्छ राष्ट्रका लागि योगदान दिनसक्छ । तर, त्यही एक भोटले कम भो भने कोही समाजमै हराउँछ । यसलाई हामीले गम्भीर लिएका छौं । अरुले कसरी लिनुभएको छ हाम्रो छलफल भएको छैन । सायद आजभोलि होला ।

– समयका लागि यहाँलाई धन्यवाद

भोजपुर कांग्रेसका कुरा राख्ने यो सुनौलो अवसरप्रति यस मिडियाप्रति आभार व्यक्त गर्छु, धन्यवाद ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर