फागुन १९ मा एकैसाथ चार चलचित्र रिलिज हुने – Nepal Press

फागुन १९ मा एकैसाथ चार चलचित्र रिलिज हुने

काठमाडौं । चलचित्र ‘प्रेमगीत ३’ पछि यस वर्षको बहुप्रतिक्षित चलचित्र हो ‘छक्का पन्जा ४’ । हेमराज वीसी निर्देशित र कलाकार दीपकराज गिरी निर्मित चलचित्र ‘छक्का पन्जा ४’ यही तिहारमा रिलिज हुने कुरा थियो । तर तिहारसम्म चलचित्रको सम्पूर्ण काम नसकिने र हतारमा रिलिज गर्नुपर्ने अवस्था भएकाले निर्माणपक्षले आज नयाँ प्रदर्शन मिति तय गरेको हो ।

अब यो चलचित्र फागुणे १९ गते प्रदर्शन हुने भएको छ । आज बिहानै निर्माता तथा अभिनेता दीपकराज गिरीले आफ्नो सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै रिलिज मिति घोषणा गरेका हुन् । ‘छक्का पन्जा ४’ का अघिल्ला तीन सिरिजहरु बक्स अफिसमा हिट भएका सिरिजहरु हुन् । यसको चौथो सिरिजले बक्स अफिसमा फेरि हिट हुने अपेक्षा गरिएको छ ।

चलचित्र ‘छक्का पन्जा ४’को रिलिज मिति घोषणा हुनुअघि नै चलचित्र ‘परस्त्री’, ‘बर एन्ड बधु’ र ‘बुलाकी’ आउने पक्का भइसकेको छ । यदि यी तीन चलचित्रको पूर्वघोषित प्रदर्शन मितिलाई निर्माताले हेरफेर गरेनन् भने एकैदिन अर्थात फागुन १९ गते ४ वटा चलचित्र जुध्ने पक्का भएका छन् ।

फागुन १९ गते अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्का अभिनित चलचित्र ‘बुलाकी’ प्रदर्शनमा आउने भएको छ । त्यस्तै, सुरज पाण्डे निर्देशित चलचित्र ‘परस्त्री’ पनि यही मितिमा आउने भएको छ । यही मितिमा लाग्ने तेस्रो चलचित्र हो ‘बर एन्ड बधु’ । निर्देशक मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्रमा अभिनेत्री आँचल शर्मा र नवनायक विवेक कर्माचार्य मुख्य भुमिकामा प्रस्तुत भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर