मंसिर ४ मा झण्डै १ करोड ८० लाख मतदाताले भोट हाल्ने, वैशाख ३० भन्दा अढाई लाख थपिए – Nepal Press

मंसिर ४ मा झण्डै १ करोड ८० लाख मतदाताले भोट हाल्ने, वैशाख ३० भन्दा अढाई लाख थपिए

१० हजार ८ सय ९१ मतदानस्थल र २२ हजार २ सय २६ मतदान केन्द्र

काठमाडौं । आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पौने २ करोड मतदाता सहभागी हुन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताको संख्या कायम भएको हो ।

यो आगामी २०७९ मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि निर्वाचन घोषणा भएको मिति २०७९ श्रावण १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी २०७९ मंसिर ३ गते सम्ममा १८ वर्ष उमेर पूरा हुने मतदाताको संख्या हो ।

जसमा ८८ लाख ४७ हजार ५ सय ७९ जना महिला र ९१ लाख ४० हजार ८ सय ६ जना पुरुष तथा १ सय ८५ जना अन्य गरेर जम्मा मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार ५ सय ७० जना रहेका छन् । मतदाता नामावलीमा प्रकाशित मतदाताको विवरणलाई सही र त्रुटिरहित बनाउन आयोगको प्रयास गरिरहेको आयोगले जनाएको छ ।

मतदाता नामावलीमा भएका सानातिना त्रुटिको कारणले मात्र मतदान गर्ने अधिकारबाट कोही पनि बञ्चित हुन नदिन आयोग प्रयत्नशील रहने आयोगका प्रवक्ता शर्माले बताए । उनका अनुसार आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीको विवरण तथा मतदान स्थल र केन्द्रको विवरण आयोगको वेबसाइटबाट हेर्न सकिनेछ ।

ती मतदाताका लागि देशभर १० हजार ८ सय ९१ मतदानस्थलमा २२ हजार २ सय २६ वटा मतदान केन्द्र कायम गरिएको आयोगका सचिव गोकर्णमणी दुवाडीले नेपाल प्रेसलाई जानकारी दिए ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनको भन्दा २ लाख ५४ हजार ८ सय ४७ जना मतदाता थपिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए । मतदाताको संख्या थपिए पनि नाम दोहोरिएका र मृत्यु भएका गरेर २ लाख ३५ हजार मतदाता हटेको उनले जानकारी दिए ।

सबैभन्दा बढी मतदाता बागमती प्रदेश र कम कर्णालीमा
आयोगको विवरण अनुसार मुलुकभरका ७ वटै प्रदेशमध्ये सबैभन्दा धेरै मतदाता बागमती प्रदेशमा ३४ लाख ७१ हजार ४ सय ९२ जना रहेका छन् भने सबैभन्दा कम मतदाता कर्णाली प्रदेशमा १० लाख ८ हजार ४ सय ३ जना रहेका छन् ।

सबैभन्दा बढी मतदाता मोरङ जिल्ला र सबैभन्दा कम मनाङमा
यस्तै मुलुकभरका ७७ वटै जिल्ला मध्ये सबैभन्दा धेरै मोरङमा ७ लाख ३५ हजार ५ सय २५ मतदाता रहेका छन् भने सबैभन्दा कम मतदाता मनाङ जिल्लामा ६ हजार ७ सय ७९ जना मात्रै मतदाता रहेका छन् ।

सबैभन्दा धेरै मतदान केन्द्र मधेश प्रदेश र कम कर्णाली प्रदेशमा
आयोगका अनुसार सबैभन्दा बढी मतदान केन्द्र हुने प्रदेशमा मधेश प्रदेशमा ४ हजार २ सय ३५ मतदान केन्द्र रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ४ सय ३ मतदान केन्द्र मात्रै रहेका छन् ।

सबैभन्दा धेरै मतदान केन्द्र मोरङ जिल्ला र कम मनाङमा
यस्तै सबैभन्दा धेरै मतदान केन्द्र मोरङ जिल्ला ८ सय ३९ रहेका छन् भने सबैभन्दा कम मनाङमा २८ वटा मात्रै मतदान केन्द्र रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर