अर्थतन्त्रमा सुधार भ्रम कि यथार्थ ? यस्ता छन् परिसूचक – Nepal Press

अर्थतन्त्रमा सुधार भ्रम कि यथार्थ ? यस्ता छन् परिसूचक

काठमाडौं । देशको अर्थतन्त्रमा उत्पन्न भएको संकटके समाधानतर्फ अघि बढेको हो ? एकाध आँकडाहरूको बलमा यस्तै प्रचार गर्ने प्रयास सरकारी निकायहरूले गरिरहेका छन् । तर, अर्थतन्त्रका समग्र परिसूचकहरूले भने संकटको बादल हटिसकेको पुष्टि गर्दैनन् ।

रेमिट्न्यासमा केही सुधार आएको भए पनि मुख्य समस्याका रुपमा रहेको वैदेशिक मुद्राको सञ्चिति बढ्न सकेको छैन । चालू खाता र शोधनान्तर खाताको घाटामा केही संकुचन देखिएको छ । यस्तै, वैदेशिक व्यापारको घाटा केही गिरावट देखिएको छ । बाँकी परिसूचकहरू भने नकारात्मक नै छन् ।

ढाड सेक्ने मूल्यवृद्धि

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन) मा मूल्यवृद्धि आकाशिएको छ । महंगीले जनताको ढाड सेकिरहेको सरकारकै प्रतिवेदनले देखाउँछ ।

नेपाल राष्ट्र बैंकले एक महिनामै ८.२६ प्रतिशतले महंगी बढेको जनाएको छ । जबकी गत वर्ष यसै अवधिमा ४.३५ प्रतिशतले मात्रै महंगी बढेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ७.११ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.१८ प्रतिशत रहेको छ ।

बढ्न सकेन विदेशी विनिमय सञ्चिति

नेपालको टाउको दुखाइ बनेको विदेशी विनिमय सञ्चितिमा सुधार अआउन सकेको छैन । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रूपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति १७ अर्ब ९५ करोड रूपैयाँले घटेको छ । जुन गत महिनाको तुलनामा १.५ प्रतिशत कम हो । साउन मसान्तसम्म आइपुग्दा ११ खर्ब ९७ अर्ब ८५ करोड रूपैयाँ विदेशी मुद्रा कायम भएको छ ।

अहिले भएको विदेशी विनिमय सञ्चितीले ९ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.४ महिनाको वस्तु आयात र ८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिने केन्द्रीय बैंकको भनाइ छ ।

रेमिट्यान्समा सुधार

चालु आर्थिक वर्षको पहिलो महिनामा ९२ अर्ब २१ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा २०.३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १७.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १२.५ प्रतिशतले वृद्धि भएको छ ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्यामा बृद्धि भएको छ । यो सँगै आगामी महिना पनि रेमिट्यान्स बढ्ने आंकलन गरिएको छ । साउनमा ४४ हजार ५ सय ४० जना बैदेशिक रोजगारमा गएका छन् ।

चालू खाता घाटा र शोधनान्तर स्थिति घाटा खुम्चियो

यो महिना चालू खाता १६ अर्ब २६ करोड रूपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ४७ अर्ब २९ करोड रूपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३९ करोड ७४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १२ करोड ७७ लाखले घाटामा रहेको छ ।

शोधनान्तर स्थिति पनि २२ अर्ब ६३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३८ अर्ब ७५ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १७ करोड ७७ लाखले घाटामा रहेको छ ।

निक्षेप संकलन र कर्जा प्रवाहमा संकुचन

बैंक तथा वित्तिय संस्थाले निक्षेप संकलन र कर्जा प्रवाहको विस्तार गर्न सकेका छैनन् । लगानीयोग्य रकमको अभाव हुँदा मागेजति ऋण दिन सक्ने अवस्थामा अझै पनि छैनन् बैंकहरु । बैंकमा नयाँ निक्षेपसमेत जम्मा हुन सकेको छैन ।

आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कुल आन्तरिक कर्जा ०.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.३ प्रतिशतले घटेको थियो ।

सेयर बजार उक्सिन सकेन

२०७८ साउन मसान्तमा ३१६०.१ रहेको नेप्से सूचकाङ्क २०७९ साउन मसान्तमा आइपुग्दा २०४१.१ कायम भएको छ । वर्षभरि बजार निरन्तर ओरालो लागिरह्यो । कारोबार रकम समेत अर्ब भन्दा कम भएको छ । यसकारण पनि २०७९ साउन मसान्तमा धितोपत्र बजार पँुजीकरण २९ खर्ब १४ अर्ब ६८ करोड कायम भएको छ । २०७८ साउन मसान्तमा बजार पुँजीकरण.४४ खर्ब १४ अर्ब ११ करोड रहेको थिया । लगानीकर्ताले यो अवधिमा १५ खर्बभन्दा बढी गुमाइसकेका छन् ।

सरकारको खातामा कति पैसा ?

२०७९ साउन मसान्तमा बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब ९४ अर्ब २५ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७९ असार मसान्तमा यस्तो मौज्दात २ खर्ब २७ अर्ब ६९ करोड रहेको थियो ।

व्यापारघाटा १० प्रतिशतले घट्यो

आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा १०.४ प्रतिशतले कमी आएको छ । यो सँगै पहिलो महिनामा १ खर्ब १६ अर्ब ४८ करोड व्यापारघाटा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७०.६ प्रतिशतले बढेको थियो ।

आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कुल वस्तु निर्यात २८.७ प्रतिशतले कमी आई १४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११५.९ प्रतिशतले वृद्धि भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर