जाँदाजाँदै प्रतिनिधिसभा बैठकमा बीपीलाई सम्झँदै डिलाको यस्तो भावुक मन्तव्य (भिडिओ) – Nepal Press

जाँदाजाँदै प्रतिनिधिसभा बैठकमा बीपीलाई सम्झँदै डिलाको यस्तो भावुक मन्तव्य (भिडिओ)

काठमाडौं । वर्तमान प्रतिनिधिसभाको आयु अब दुईदिनमात्र बाँकी छ । मंसिर ४ गते हुने अर्को प्रतिनिधिसभा निर्वाचनका लागि असोज २ र ३ गते समानुपातिक तर्फका उम्मेदवारहरू बन्दसूचL पेस गर्ने कार्यक्रम छ । सो प्रक्रिया सुरू हुनासाथ अहिलेको प्रतिनिधिसभाको आयु समाप्त हुने जनाइएको छ ।

यसैअनुसार आज अन्तिम बैठक चलिरहेको छ । आजको बैठकअन्तर्गत अहिले शून्य समयको कार्यक्रम चलिरहेको छ । जसमा सांसदहरूले आफ्ना बिदाई भाषण गरिरहेका छन् ।

यसैक्रममा नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले कांग्रेसका संस्थापक नेता बीपी कोइरालालाई सम्झँदै निकै भावुक भाषण गरेकी छन् ।

‘म यसबेला हाम्रा प्रिय नेता जननायक बीपी कोइरालालाई सम्झन चाहन्छु । एकपटक एकजना पत्रकारले उहाँलाई सोधे-तपाईँ जनताले आफूलाई कसरी सम्झुन् भन्ने चाहनुहुन्छ,’ उनले उक्त दृष्टान्त स्मरण गर्दै भनिन्, ‘बीपीले भन्नुभयो-मैले जनताको घाँटीमा अड्केको कुरालाई सार्वजनिक गर्ने प्रयास गरेँ । त्यही रूपमा मलाई सम्झनुभए हुन्छ । भन्नुभएको थियो ।’

गएको पाँचवर्ष जनताको घाँटीमा अड्केको कुरालाई आफूहरूले कुन हदसम्म उजागर गर्नसक्यौं ? इतिहासले अवश्य मूल्यांकन गर्ने नै छ । हामीले उठाएका कुराहरू कति कार्यान्वयन भए ? कति भएनन् ? भन्ने कुरा जनताले मूल्यांकन गर्ने विश्वास व्यक्त गरिन् ।

‘हामीमध्ये कति साथीहरूले टिकट पाउनुहोला, कतिले जितौंला, कतिले हारौंला, यो सदनमा फर्केर आउने साथीहरूले अवश्य पनि जनताको पीरमर्का, राष्ट्रको वृहत हितलाई ध्यानमा राखेर काम गर्न सक्नु नै पर्नेछ भन्ने मेरो मान्यता छ,’ उनले भनिन् ।

यस्तै प्रतिनिधिसभाको सदस्यका रूपमा काम गर्न पाएकोमा भाग्यमानी महसुस गरेको उनले बताइन् । उनले भनिन्,‘मैले कैयौं कुरा सिक्ने मौका पाए, जनताका कुरा राख्ने मौका पाए, जुनसुकै विचारधाराका भएपनि मित्र बनाएँ ।’

तर, दुई-दुई पटक जनताको प्रतिनिधिको थलो प्रतिनिधिसभालाई समयअगाावै भंग गर्ने प्रयास पनि गरिएको प्रसंग सम्झदाँ दुःख लाग्ने पनि उनले बताइन् ।

‘संविधानको ‘चेक एण्ड व्यालेन्स’ले प्रतिनिधिसभाले आफ्नो कार्यकाल पूरा गर्ने मौका पाएको छ । संविधानतः हामी चुनावमा जाँदैछौं यो सुखद पक्ष हो,’ उनले भनिन् ।

उनको बोली जस्ताको तस्तै

प्रतिनिधिसभाको सदस्यका रुपमा काम गर्न पाएकोमा भाग्यमानी महशुस गरेको छु । मैले कैयौं कुरा सिक्ने मौका पाए, जनताका कुरा राख्ने मौका पाए, जुनसुकै विचारधाराका भएपनि मित्र बनाएँ ।
तर, सम्झदाँ दुःख लाग्छ । दुई-दुई पटक जनताको प्रतिनिधिको थलो प्रतिनिधि सभालाई समयअगाावै भंग गर्ने प्रयास पनि गरियो । तर संविधानको ‘चेक एण्ड व्यालेन्स’ले प्रतिनिधिसभाले आफ्नो कार्यकाल पुरा गर्ने मौका पाएको छ ।

संविधानतः हामी चुनावमा जाँदैछौं यो सुखद पक्ष हो ।

म यसबेला हाम्रा प्रिय नेता जननायक बीपी कोइरालालाई सम्झन चाहन्छु । एकपटक एकजना पत्रकारले उहाँलाई सोध-तपाईँ जनताले आफूलाई कसरी सम्झुन् भन्ने चाहनुहुन्छ । बीपीले भन्नुभयो-मैले जनताको घाटीमा अड्केको कुरालाई सार्वजनिक गर्ने प्रयास गरेँ । त्यही रूपमा मलाई सम्झनुभए हुन्छ । भन्नुभएको थियो ।

गएको पाँच वर्ष जनताको घाटीमा अड्केको कुरालाई हामीले कुन हदसम्म उजागर गर्नसक्यौं ? इतिहासले अवश्य मूल्यांकन गर्ने नै छ । हामीले उठाएका कुराहरू कति कार्यान्वयन भए ? कति भएनन् ? जनताले मूल्यांकन गर्लान् नै । हामी मध्ये कति साथीहरूले टिकट पाउनुहोला, कतिले जितौंला, कतिले हारौंला, यो सदनमा फर्केर आउने साथीहरूले अवश्य पनि जनताको पीरमर्का, राष्ट्रको बृहत हितलाई ध्यानमा राखेर काम गर्न सक्नु नै पर्नेछ भन्ने मेरो मान्यता छ । त्यो शुभकामना पनि छ । प्रजातन्त्रको सौन्दर्य पनि त्यही नै हो । आगामी दिनमा कुनै न कुनै किसिमले भेट हुने नै छ । धन्यवाद जय नेपाल ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर