माओवादीनिकट व्यवसायीको महाधिवेशनमा भाँडभैलो, तीनवटा संगठन छुट्टै भेलाको तयारीमा – Nepal Press

माओवादीनिकट व्यवसायीको महाधिवेशनमा भाँडभैलो, तीनवटा संगठन छुट्टै भेलाको तयारीमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट व्यवसायीको महाधिवेशन सर्वसम्मत नेतृत्व चयनमा असफल भएको छ । मनपरी गरेको भन्दै तीनवटा संगठनले बहिष्कार गरेका छन् ।

उद्योग व्यापार सहकार्य महासंघ, राष्ट्रिय उद्योग व्यापार महासंघ, राष्ट्रिय उद्योग व्यापार महासंघ (केन्द्र), नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको छाता संगठन नेपाल उद्योग व्यापार महासंघको प्रथम महाधिवेशनमा किचलो भएको हो । महाधिवेशनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार होटल एभरेष्टमा उद्घाटन गरेका थिए । माओवादीनिकटका व्यवसायीको आधा दर्जन संगठन एकीकृत गरेर नयाँ नेतृत्व चयन गर्ने बताइएको थियो ।

पार्टी केन्द्रीय सदस्य गंगा कार्की, पूर्व सभासद तथा व्यवसायी कृष्ण आचार्य, तदर्थ समितिका अध्यक्ष श्यामकुमार पाठकले एकता गर्नुअघिको सहमतिलाई लत्याउँदै आफूनिकटको भर्ती केन्द्र बनाएपछि बहिष्कार गर्नुपरेको एक सदस्यको आरोप छ । आफूहरूको धारणा छिट्टै सार्वजनिक गर्ने उनले बताए ।

‘पार्टी नेतृत्वलाई गुमराहमा राखेर एकताको भाव नै मरेर आफूखुसी नेतृत्व चयन गरियो । उहाँहरू व्यवसायीको हक हितभन्दा पनि पार्टीबाट कसरी भाग लिने भन्ने मनसाय देखेपछि हामीले बाहिरिएका हौं । अब छिट्टै आफ्नो धारणा सार्वजनिक गर्नेछौं र तीनवटै संगठनबीच एकता गरेर नयाँ नेतृत्व चयन गर्नेछौं ’, बन्दसत्र बहिष्कार गरेका एक नेताले भने ।

महाधिवेशनले खेम भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । तर, बहिष्कार पक्षले स्वार्थहरूको सानो समूह भएको आरोप लगाएको छ । देशभरका व्यवसायीलाई समेटर छिट्टै अर्को महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने बाहिष्कार पक्षले बताएको छ ।

पार्टी अध्यक्ष प्रचण्डले उद्घाटनको क्रममा सम्बोधन गर्दै व्यवसायीको गुनासो सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए । सबै व्यवसायी एकजुट भएकोमा प्रचण्डले खुसी जनाउँदै पार्टी र सरकारमा राम्रो स्थान दिने उनले आश्वासन दिएपनि भण्डारीको नेतृत्व विवादित बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर