खडेरी तोड्दै रोनाल्डोले गरे सिजनको पहिलो गोल – Nepal Press

खडेरी तोड्दै रोनाल्डोले गरे सिजनको पहिलो गोल

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले खडेरी तोड्दै चालु सिजनको पहिलो गोल गरेका छन्।युरोपा लिगअन्तर्गत बिहीबार राती सेरिफ टिरासपोलविरुद्ध गोल गर्दै रोनाल्डोले खराब लय तोडेका हुन्।

उनले यो सिजन खेलेका अघिल्ला सबै ७ खेलमा गोल गर्न सकेका थिएनन्।टिरासपोलको मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले पहिलो हाफमै दुवै गोल गरेको थियो। १७ औं मिनेटमा जेडन सान्चोले गोल गरेका थिए भने रोनाल्डोले ३९ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारेका थिए।

गत सिजन म्यान युनाइटेडले कमजोर प्रदर्शन गरेपछि यो सिजन रोनाल्डो अन्य क्लबमा जान इच्छुक देखिएका थिए। तर क्लबहरुले उनिमाथी रुची नदेखाएपछि रोनाल्डो म्यान युनाइटेडबाटै खेल्न बाध्य बनेका हुन्।

रोनाल्डो करियरमा पहिलोपटक युरोपा लिग खेलिरहेका छन्। उनी युरोपको सबैभन्दा ठुलो प्रतियोगिता च्याम्पियन्स लिगका सर्वकालिन सर्वाधिक गोलकर्ता हुन्। युरोपा लिगमा यो सिजन पहिलो खेलमा रियल सोसिडाडसँग उत्रिएको म्यान युनाइटेड पराजित भएपछि रोनाल्डोसहितका खेलाडीको आलोचना भएको थियो।

पछिल्लो गोलसँगै रोनाल्डो क्लब फुटबलमा ७ सय गोलको कोसेढुंगा नजिक पुगेका छन्। उनको क्लब गोल संख्या ६ सय ९९ पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर