जापानमा गायिका अमृतामाथि दुर्व्यवहार प्रकरण: श्रीपाल र आयोजकबीचको विवाद साम्य – Nepal Press

जापानमा गायिका अमृतामाथि दुर्व्यवहार प्रकरण: श्रीपाल र आयोजकबीचको विवाद साम्य

जापान। जापानमा सांगितिक कार्यक्रम आएकी गायिका अमृता श्रीपाल र धौलागिरी दोहोरी साँझका संचालक धनबहादुर थापाबीच विवाद साम्य भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाले यहि सेप्टेम्बर साँझ एक विज्ञप्ती जारी गर्दै दुवै पक्षबीच समझदारी भएको जनाएको हो ।

जापानको ओसाकास्थित धौलागिरी दोहोरी साँझमा सांगीतिक कार्यक्रममा आएकी लोक दोहोरी गायिका श्रीपाललाई आयोजक धौलागिरी दोहोरी साँझका संचालकथापाले आफूमाथि दुर्व्यवहार गरेको बताएकी थिइन् ।

श्रीपालले लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष सूर्य खड्कालाई सम्बोधन गरेर लेखेको निवेदनमा आफूमाथि दुर्व्यवहार गरेको जानकारी गराउँदै २ महिनाको भिसा बाँकी रहेकाले उक्त अवधिभर जापानमा तय भएका कार्यक्रममा भाग लिने वातावरण मिलाइदिन आग्रह गरेकी थिइन् ।

विज्ञप्तिमा भनिएको छ,‘गायिका अमृता श्रीपालले सन् २०२२/०९/१२ मा आफूमाथि भएको क्रियाकलापबिरुद्ध न्याय पाउँ भनी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखा मा दिएको निवेदनमा हाम्रो ध्यानाकर्षण तथा सहमतिको लागि प्रयास भइरहेको जानकारी गराई सकेका थियौँ ।यसै सन्दर्भमा यस विषयलाई निर्णायक बनाउनका निम्ति प्रतिष्ठान जापान शाखाका सदस्य कुलबिर थापाको रोहबरमा तपशिल बमोजिमका अन्य बिभिन्न संघ संस्थाहरुका प्रतिनिधि हरुको उपस्थितिमा दुवै पक्षको कुरा सुनवाई भएको र तपशिलको हस्तलिखित ब्यहोरा र उपस्थिति अनुसार पीडित र पीडकबीच सहमति भएको जानकारी गराउँछौँ ।’

प्रतिष्ठान शाखाले बिज्ञप्तिसँगै सहमति र हस्ताक्षर भएको सक्कल कागज समेत संलग्न गराई सार्वजनिक गरेको छ। जहाँ आरोपित र आरोपी दुबैबीच आपसी लेनदेन तथा गायिकाको नेपाल फर्किने टिकट लगायतका सबै विषयहरुको मिलान गर्दै दुवै पक्ष अब उप्रान्त कुनैपनि आक्षेपहरुको उठान तथा खण्डन नगर्ने सहमति भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *