सञ्जय काउछाको मगर्स किचनः मौलिक संस्कृति हेर्ने, बुझ्ने र खाने एउटै ठाउँ – Nepal Press

सञ्जय काउछाको मगर्स किचनः मौलिक संस्कृति हेर्ने, बुझ्ने र खाने एउटै ठाउँ

रुपन्देही । बुटवलको आधुनिक र व्यस्त बजारमा पुरानो कला कौशल र संस्कृति संरक्षण गर्न व्यवसायिक अभियान सञ्चालन गरेका छन् गुल्मीका सञ्जय काउछामगरले । नयाँ पिँढीलाई पुरानो संस्कृतिबारे जानकारी दिन सञ्जयले यस्तो अभियान सुरु गरेका हुन् ।

बुटवलको मिलनचोक नजिकै जग्गा भाडामा लिएर उनले पौने करोड लगानीमा यस्तो कामको थालनी गरेका छन् । मिलनचोकबाट तीनकुने गएपछि केही उत्तरतर्फ रेग्मीपथमा मगर्स किचन नाम राखेर उनले यस्तो कामको सञ्चालन गरेका छन् । परम्परागत वस्तुको अवलोकन, पुरानै खानाको परिकार अनि सांस्कृतिक पहिचान झल्कने विभिन्न कृतिहरुको अध्ययन गर्न पाइने मगर्स किचनको विशेषता हो ।

उहिलेका खानेकुरा, उहिलेका संस्कृति, जीवनशैली, संस्कार सबैको मिश्रण गरेर उनले यसलाई मगर्स किचन नाममा दिएका छन् । आधुनिक शहरको बीचमा बनाइएको यो परम्परागत मौलिक घर रहेको ठाउँले पुरानो पुस्तालाई आफ्नो अनुभव नवीकरण गर्ने ऊर्जा दिन्छ नै नयाँ पिँढीलाई उत्साहित बनाउँछ पनि ।

यो घरमा पछिल्लो समय विरलै देखिने ढुंगाले छाएको घर, पहिले गाउँमै बनाएको बाँसको तगालो अनि गेट, तगालोभित्र पुगेपछि छपनी बिच्छाइएको, छेउछाउमा मकैको सुली अनि त्यसको नजिकै ढिकी, जाँतो, मौरीका पुराना घार लस्करै मिलाएर राखिएको देख्दा धेरैको मन आकर्षित हुन्छ ।

मगर्स किचनस्थित दुईतले घरको माथिल्लो तलामा लहरै राखिएको मकैका झोत्ता, कौसीमा फर्सी अनि त्यो कौसीमा जान काठको भर्‍याङ, छेउछाउमा ठूला भरुवा बन्दुक मगर किचनमा पुग्दा देखिने दृश्य हुन् यी । भोटे ताल्चा, मोही राख्ने आरी, बाजेबज्यैको पालाका मदुस, बस्नलाई राडी, मादल, डम्फू र पुराना संस्कृतिको अध्ययन गर्ने जोकोहीको यस दृश्यले मनमस्तिष्क तान्छ ।

आधुनिकताको नाममा पहाडी क्षेत्रमै हराइसकेको यस्ता ऐतिहासिक वस्तुहरु समेटिएको यो अभियान सुरु गर्न धेरै मेहनत गर्नुपरेको सञ्जय सुनाउँछन् ।

यी वस्तुहरुको अवलोकन गर्दै मगर किचनमा परम्परागत नेपाली खाना र मगर परिकार खान पाइन्छ । कोरोना महामारी सुरु हुनु एक महिनाअगाडि मात्रै सञ्चालनमा आएको थियो मगर किचन । त्यसैले महामारीको कारण केही समय चलेन पनि । अहिले परम्परागत खानाका परिकार खोज्नेहरुको रोजाइमा पर्न थालेको छ ।

सञ्जय कला-साहित्यको क्षेत्रबाट यता आएका हुन् । यो पनि आफ्नो लगावको क्षेत्र भएको बताउने उनी गाउँले जनजीवनको झल्को दिन रेस्टुरेन्ट सञ्चालनमा ल्याएको बताउँछन् । जहाँ गाउँका उत्पादन गाउँले शैलीमै पाक्छन् ।

‘पहाडका घरमा जे-जस्ता परिकार जसरी पकाइन्थ्यो, त्यसरी नै यहाँ पकाइन्छ । मसला पनि सिलौटामा पिसिन्छ । भुटेको मकै, मही, सर्वत, भकिम्लोको सर्वत खान पाइन्छ’, ४७ वर्षका सञ्जय भन्छन्, ‘धेरै अघिदेखि यस्तो काम गर्ने सोच आएको थियो । करिब १० वर्षअघि काठमाडौंको सुन्धारामा एउटा होटलमा खाना खाँदै गर्दा १ जना साथीसँग कुरा गरेको थिएँ । त्यही सोचलाई अहिले पूरा गरेको छु । सबैको साथ पाइरहेको छु ।’

शहरमा बसे पनि गाउँकै स्वाद, परिकार र संस्कृति हेर्ने र हेराउने रहर पूरा गर्ने सोचका साथ अगाडि बढेको उनले सुनाए । ‘यहाँ बन्ने परिकार गाउँकै उत्पादन हुन् । कोदोको मःमको लागि सिलौटोमै चट्नी पिस्छौं । अर्गानिक टेस्ट र गाउँको संस्कृति तथा भेषभुषासहित नयाँ-नयाँ चिज पस्किने जमर्को गरेको छु’, उनी थप्छन् ।

जहाँ कोदो, फापर, गहुँको ढिडो, अचार र मासुका परिकारसमेत उपलब्ध हुन्छन् । प्रत्येक खानामा सिस्नो पस्कने गरिएकाले एउटा पहिचान बन्दै गरेको उनले बताए ।

सेवाग्राही आउँदा खाना पस्कने तौरतरिकाले पनि आकर्षित हुने गरेको सञ्जयको अनुभव छ । चलचित्रको क्षेत्र होस् वा रेस्टुरेन्ट उनको एउटै उद्देश्य मगर समुदायको पहिचान आम नागरिकलाई चिनाउनु रहेको छ । मगर समुदायका खानपिन, लवाइखवाइ, संस्कृतिलाई मगर्स किचनमार्फत चिनाउन आफू लागिपरेको उनी बताउँछन् ।

नेपाली परिकारलाई ब्रान्डिङ गर्ने सोच छ सञ्जयको । नेपाली खाना सेट, कोदो र फापरको ढिडो, आटा, जेठोबुढो चामल (पोखरेली चामल) को भात, जुम्ली सिमीको दाल, काभ्रो, बुँगोको अचारलाई उनले मेन्युमा राखेका छन् ।

मगरका परिकारहरू बारा (बटुक), सेल, पिँडालु, तरुल, चुकाउनी, पोर्कका परिकार इच्छाअनुसार पाइन्छ । पहाडका स्थानीय जात (लोकल) कुखुरा र बोकाको मासु, गोर्खाली अचार पनि उनले मेन्युमा राखेका छन् ।

सुरुमा करिब ६० लाख रुपैयाँ खर्च भएको सञ्जयको लगानी अहिले ८० लाख पुगेको छ । यहाँ प्रयोग भएका सबै निर्माण सामग्री पनि उनले पहाडबाटै ल्याएका हुन् । आफू अनुभवी नभएकाले धेरै संघर्ष गर्नुपरेको उनको भनाइ छ ।

उनी कोरियामा करिब ४ वर्ष बिताएर नेपालमै केही गर्छु भनेर फर्किएका हुन् । फिल्म क्षेत्रमा केही समय बिताएका छन् । उनले मगर भाषाका ‘फेर्च्छ नमखान’ (सूर्योदय हुँदैछ), ‘मि फुरुङ’ (कोपिला) र ‘डु यू लभ मी’ नामका ३ वटा चलचित्रको लेखन र निर्देशन गरेका छन् ।

म्युजिक भिडिओहरूमा पनि उनले अभिनय गरेका छन् । ‘सबैको नजरमा’, ‘दुइटा औंठी’, ‘हृदयमा टाँसी’ र ‘ए मेरी दिलकी रानी’ लगायतका गीतमा सञ्जयले अभिनय गरेका छन् । कविता पनि लेख्छन् उनी । जीवनको एउटा नमीठो अनुभवलाई उनले पुस्तकमा उतारेका छन् । ‘जिन्दगी’ कथासंग्रह नै निकालेका छन् उनले ।

कला क्षेत्रबाट छिटो प्रचारप्रसार हुने भए पनि रेस्टुरेन्ट सेवाबाट कला-संस्कृतिको प्रचारको गति सुस्त हुने उनी बताउँछन् । फिल्ममा ठूलो रकम लगानी हुने र प्रतिफलमा जोखिम हुने भए पनि रेस्टुरेन्ट क्षेत्रमा गरेको लगानीमा जोखिम कम र मुनाफा पनि मिल्दै जाने उनी बताउँछन् । मगर्स किचनमा अहिले विद्यालय तथा संघसंस्थाहरुबाट अध्ययन-अवलोकन गर्नेहरु पनि पुग्न थालेका छन् । पाका समूहहरु पनि आउन थालेको उनले जानकारी दिए ।

धेरै क्षेत्रमा हन्डरठक्कर खाएका सञ्जयले मगर किचन चलाउन १० वर्षे जग्गा भाडामा लिएका छन् । सम्झौता सकिएपछि लगानी परेको ऐतिहासिक वस्तु कहाँ राख्ने भन्ने पीरले अहिल्यै पिरोलेको उनले सुनाए ।

स्थानीय सरकारले यस्ता विषयमा ख्याल गरेर सार्वजनिक जग्गाको भोगाधिकार दिए दीर्घकालीन रुपमा यसलाई चलाउन सकिन्थ्यो । नारामा धेरैले यस्ता कुरा गरे पनि व्यवहारमा कसैले सहयोग गर्न खोज्नुभएन’, सञ्जयले भने, ‘सानो मेहनतले संस्कृति संरक्षण गर्न सकिँदैन । यति धेरै भाडा तिरेर कसरी खर्च चलाउने भन्ने अवस्था आयो ।’

उनलाई संस्कृति संरक्षण गर्ने अभियानमा धेरै व्यक्तिहरुले सहयोग गर्ने तत्परता देखाएका पनि छन् । तर, यसलाई कसरी संस्थागत गर्ने भन्नेमा निचोड ननिकालेको उनी बताउँछन् ।

प्रतिक्रिया

One thought on “सञ्जय काउछाको मगर्स किचनः मौलिक संस्कृति हेर्ने, बुझ्ने र खाने एउटै ठाउँ

  1. सलाम छ सञ्जय काउछालाई ।
    नेपालमा यस किसिमको व्यवसायलाई एकैपटक ठुलो शहरमा एउटै व्यक्तिको प्रयासमा उतारिएको पहिलो पटक हो।
    दैनिकरुपमा नकारात्मक खबरहरु मात्रै हेर्नुपरेको यस नेपाली समाजमा एक संघर्षमार्फत संस्कृति र सम्प्रदायको मौलिक पहिचानलाई नयाँ पुस्तामा उतार्न लागिपरेको हिम्मती हातलाई सबै क्षेत्रबाट सहयोग मिलोस्।
    मगर समुदाय लगायत नेपाली संस्कृतिलाई नयाँ शुरुवातको बधाई तथा कला संस्कृति प्रेमी एवं कलाकार सञ्जय काउछालाई सफलताको शुभकामना।

Leave a Reply

Your email address will not be published.