इन्द्रजीतको एमाले प्रवेशपछि माओवादीमा बहस- चितवनको सतिसाल किन ढल्यो ? समीक्षा गरौं – Nepal Press

इन्द्रजीतको एमाले प्रवेशपछि माओवादीमा बहस- चितवनको सतिसाल किन ढल्यो ? समीक्षा गरौं

काठमाडौं । केन्द्रीय र जिल्ला तहकै नेताहरु धमाधम नेकपा एमालेमा समाहित हुने क्रम बढेपछि नेकपा (माओवादी केन्द्र)मा यसको कारण र समाधान खोज्न आवाज उठ्न थालेको छ ।

बिहीवार अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनका सहइन्चार्ज समेत रहेका जनयुद्धकालदेखि कै संस्थापक नेता यमवहादुर परियार (इन्द्रजीत)सहितका नेताहरु एमाले प्रवेश गरेपछि माओवादी पंक्तिमा सार्वजनिक वहस शुरु भएको हो ।

परियार ती नेता हुन्, जो प्रचण्डको निर्वाचन क्षेत्र माडीको माटोमा हुर्किएका र ५ पटकसम्म माओवादी चितवनको नेतृत्व गरिसकेका छन् । उनी एमालेसँग एकतापछि बनेको नेकपाको बेला पनि चितवनको अध्यक्ष थिए भने हाल केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज ।

परियार हालै प्रचण्डको निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा क्षेत्र ख बाट प्रत्यक्ष उम्मेदवारका लागि सिफारिससमेत भएका थिए । परियारको प्रवेशलाई सामान्यरुपमा मात्र लिन नहुने बहस माओवादीमा चलेको छ ।

वाइसिएल इन्चार्जसमेत रहेका माओवादी नेता रामप्रसाद सापकोटाले भनेका छन्- यति हलुका नभनौ, ती बिग्रेका थिए र गए । ती बिग्रे ठीकै छ, हाम्रा कमजोरी कहाँ कहाँ छन् ? खोज्नुपर्दैन ? हामीले आफैंलाई समीक्षा नगर्ने हो भने कमरेडहरू बिग्रिरहन्छन् । ती ब्रिग्रेकै हुन् । तर हामी नि ?

वाइसिएल इन्चार्जको फेसबुक स्टाटसमा प्रतिक्रिया दिँदै प्रचण्डकै निर्वाचन क्षेत्र भरतपुरका वाइसिएल सचिव मौसम अधिकारीले चितवनका अधिकांशको प्रश्न पनि दीपशिखाको जस्तै रहेको बताएका छन् ।

उनी लेख्छन्- सानोतिनो कुरा हैन चितवनका साल ढलेका छ्न, यत्रो वर्ष सतिसाल सावित भएका हस्तिद्वय अहिले निर्वाचन मुखमा आएर धमिरिएका किन ? अझै समीक्षा हुन जरुरी छ, केन्द्रबाट हुन जरुरी छ । सलाम सबैलाई ।

उनले भनेका हस्तिद्वय परियार र पूर्वजनमुक्ति सेनाका कमाण्डर अन्जन तिमिल्सिना हुन् । दीपशिखाभन्दा अगाडि नै फेसबुकमै बहस थालेका थिए उपराष्ट्रपतिका प्रेस सल्लाहकार समेत रहेका माओवादी आबद्ध पत्रकार संगठन प्रेस सेन्टरका नेता मनोज घर्तिमगरले ।

उनी लेख्छन्- माओवादी सरकारमा छ । गठबन्धनमार्फत निर्वाचनमा जाँदैछ । सम्भवतः निर्वाचनपछि बन्ने सरकारमा पनि बाहिर रहने छैन । तर, नेता कार्यकर्ता दिनानुदिन पार्टी छोडिरहेका छन्। पहिले आफ्ना नेता कार्यकर्तालाई ध्यान दिने कि ?

चितवनबाट यमवहादुर परियारको प्रवेशलाई ट्रेलरमात्र भनिएको बेला माओवादी पंक्तिमा समिक्षा हुनुपर्ने आवाज उठेको हो । नेकपा विभाजनपछि एमाले र माओवादी व्युँतिएसँगै तत्कालीन नेकपाका ५ स्थायी कमिटी सदस्यले माओवादी धार त्यागेर एमालेमा लागेका थिए ।

यो संख्या केन्द्रीय कमिटीमा ३३ थियो भने जनप्रतिनिधिहरुको पनि ठूलो हिस्सा एमालेमा समाहित भएको थियो । एमाले अध्यक्ष ओलीले विहीवार परियारको टोलीलाई स्वागत गर्दै अहिलेको एमाले नेकपाकै निरन्तरता रहेको भन्दै प्रचण्ड र माधव नेपालबाहेक सबैलाई एमालेमा स्वागत गरिने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर