सामाजिक सञ्जालमा सन्दीप प्रकरणः सेलिब्रिटीलाई उछिन्दै ‘टक अफ द टाउन’ बने दुर्गा प्रसाईं – Nepal Press

सामाजिक सञ्जालमा सन्दीप प्रकरणः सेलिब्रिटीलाई उछिन्दै ‘टक अफ द टाउन’ बने दुर्गा प्रसाईं

काठमाडौं । केही दिनदेखि नेपालको सामाजिक सञ्जाल सन्दीप लामिछानेमय बनिरहेको छ । प्रहरी अनुसन्धानमा रहेको घटनालाई लिएर सञ्जाल प्रयोगकर्ताहरू आफैँ न्यायाधीश बन्दै फैसला सुनाइरहेका छन् ।

आजका दिनसम्म सन्दीप लामिछाने एक आरोपी हुन् । उनीविरुद्ध यौनजन्य कसुरमा जाहेरी परेको छ र प्रहरीले अनुसन्धान गरिरहेको छ । सन्दीप नेपालमा नरहेकाले उनी पक्राउ परेका छैनन् । प्रहरी र नेपाल क्रिकेट संघको सम्पर्कमा नरहेका उनी कहाँ छन् भन्ने अन्योल बढ्दो छ ।

यता सामाजिक सञ्जाल सन्दीपको पक्ष र विपक्षमा बाँडिएको छ । एकथरि उनको खोइरो खन्न तल्लिन रहँदा भने अर्काथरि उनीप्रति सहानुभूति दर्शाइरहेका छन् । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्मममा फरक-फरक ट्रेन्ड देख्न पाइन्छ । ट्वीटरमा बढीजसो सन्दीपप्रति आलोचनात्मक प्रतिक्रियाहरू आइरहेका छन् । फेसबुकमा मिश्रित छ । तर, अहिलेको सबैभन्दा लोकप्रिय एप टिकटकमा चाहिँ अधिकांशले सन्दीपको बचाउ गरिरहेका छन् ।

केही नाम चलेका सेलिब्रिटीले पनि सन्दीप प्रकरणमा मुख खोलेका छन् । उनीहरूका अभिव्यक्तिमाथि पनि सामाजिक सञ्जाल प्रयोगकर्ता ध्रुवीकृत छन् । एकथरिले उनीहरूलाई समर्थन गरेका छन् त अर्काथरिले विरोध । अहिलेसम्म जति सेलिब्रिटीले मुख खोलेका छन्, उनीहरूको पनि सहानुभूति सन्दीपप्रति नै देखिएको छ ।

गायक शिव परियारको स्टाटस सबैभन्दा बढी विवादित बन्यो । उनले ‘पेशेवर पीडित’ हरूले बलात्कारको धन्दा गरिरहेको भन्दै उनीहरूको भण्डाफोर गर्नुपर्ने विचार राखेका थिए । अभिनेत्री तथा टिभी होस्ट रिमा विश्वकर्माले सन्दीपलाई अपराध प्रमाणित नभइकन अध्यागमन विभागले कालोसूचीमा राखेकोमा असन्तुष्टि व्यक्त गरिन् । यसैगरी, गायक प्रमोद खरेलले पनि सन्दीपप्रति सहानुभूति दर्शाउँदै स्टाटस लेखेका छन् । देशको झण्डा छातिमा बोकेर हिँड्ने व्यक्तिमाथिको कानूनी प्रक्रियालाई विनाहोहल्ला अगाडि बढाउन उनले सुझाव दिएका छन् ।

वरिष्ठ हास्यव्यंग्य कलाकार सन्तोष पन्तको अभिव्यक्तिले पनि चर्चा पायो । उनले एक अन्तर्वार्तामा यस घटनामा पीडित भनिएकी किशोरीप्रति विभिन्न प्रश्नहरू उठाएका थिए । पन्तको पनि पक्ष र विपक्षमा प्रतिक्रियाहरू आएका छन् ।

प्रतिक्रियाहरूको भीडमा सबैभन्दा बढी चर्चा कमाउन सफल भए व्यवसायी दुर्गा प्रसाई । पछिल्लो समय देशका जल्दाबल्दा विषयहरूमा स्पष्ट र हक्की शैलीमा उनले दिएका अन्तर्वार्ता लगातार भाइरल बनिरहेका छन् । सन्दीप प्रकरणमा उनले ऋषि धमलालाई दिएको अन्तर्वार्ताले बजार तताएको छ । उनले सो अन्तर्वार्तामा बलात्कारसम्बन्धी नेपालको कानून त्रुटिपूर्ण रहेको र यसले जोकोहीलाई बलात्कारीको ट्याग भिराइदिन सक्ने बताएका थिए । युट्यूवमा राखिएको उनको अन्तर्वार्तामा लगभग सतप्रतिशत प्रतिक्रिया उनको समर्थनमा छन् ।

टिकटकमा पनि अत्यधिक चर्चा पाएको प्रसाईँको अभिव्यक्तिका मुख्य बुँदा यस्ता थिए-

– पल शाहलाई मिडियाले सिध्याए । अब सन्दीपलाई पनि सिध्याए । यो डिजाइन अनुसार आएको छ । यो हिसाबले जाने हो भने सबैले खोले भने सबैभन्दा पहिले नेताहरू जान्छन् । ९५ प्रतिशत मान्छे जान्छन् ।

– बलात्कार भनेको विदइन सेकेन्डमा हुनुपर्छ । ५ दिनपछि हुन्छ बलात्कार ? अस्ति मजाले मिलेर कोठामा जाने । मोजमस्ती गर्ने । सँगै फर्केर आउने, राति होटलमा बस्ने । १५ दिनपछि मलाई बलात्कार गर्‍यो भन्दा त्यस्तो कानून पास गर्ने यीनहरू के हुन् ? कानून कस्तो बुद्धि भएकाले पास गरेको हो ?

– बलात्कार भयो भने एक घण्टाभित्र उजुरी दिन सकिन्छ । प्रहरी थाना टाढा छ भने अलिक टाइम लाग्ला । तत्काल उजुरी दिएमा उसको वीर्यदेखि फाटेको कपडा सबै भेटिन्छन् । तर, १५ दिनपछि उजुरी दिएर के भेटिन्छ ?

– १७ वर्षको केटी नाबालिग हुँदैनन् । उहिले हाम्रा आमाले १५ वर्षमा नानी जन्माएको हो । महिनावारी भएपछि केटीहरू बालिग हुन्छन् । जे पनि कानून बनाएको छ । यो भन्यो भने मलाई मुख छाड्छन् । तर, वास्तविकता त्यही हो । प्रकृतिले दिएको कुरा पनि यही हो । सन्दीप र पल शाह चैं बलात्कारी होइनन् । बार्गेनिङमा कुरा नमिलेपछि बलात्कार भनिएको हो ।

– म आफैंलाई टेन्सन हुन थालिसक्यो । हस्पिटलमा आउँदा फोटो खिच्न आउँछन् । केटीहरूको छेउमा जाने कि नजाने । पर पर बस है बैनी हो भन्ने बेला भइसक्यो । यो स्थिति कसरी सिर्जना भयो भन्नुस् त ? जसले जे मन लाग्यो त्यही भनेको छ । जम्मैलाई सिध्याउन थाले । भोलि तपाईं पनि छुट्नुहुन्न, म पनि छुट्दिन । कोसित हिँडिन्छ, कोसित फोटो खिचिन्छ, त्यो पनि गर्नु नहुने भयो ।

– कसले बनाएको यस्तो कानून ? कानून यस्तो हुन्छ ? प्रकृतिले दिएको कुरा १५-१६ वर्षदेखि केटीहरूले बच्चा जन्माउँछन् । १८ वर्षका लागि नाबालिग बनाउने मान्छे के हुन् ? लभ गर्छन् ७ क्लसमा पढ्दादेखि । चिठी पठाउँछन्, डेटिङ जान्छन् । ढाक्रे हली, गोठालाहरूलाई संविधान बनाउने ठाउँमा लगेर राखेपछि के हुन्छ ? त्यसकै परिणाम आज व्यापारीले १८ प्रतिशत ब्याज बोक्नुपरेको छ । अब झुण्डिएर मर्नुपर्ने छ सबैले । एउटा रुखमा ३ जना चेलीहरू झुण्डिएर मरे, त्यसको कुरा आउँदैन । भोकभोकै छन् मान्छे । नेपालबाट नेपाली खेदाउन र विदेशी ल्याएर राज्य सञ्चालन गर्ने रणनीति अनुसार चलिरहेका छन् ।


प्रतिक्रिया

One thought on “सामाजिक सञ्जालमा सन्दीप प्रकरणः सेलिब्रिटीलाई उछिन्दै ‘टक अफ द टाउन’ बने दुर्गा प्रसाईं

  1. एकदम सही कडा शब्द मा भन्नु भएको छ प्रसाई जी ले कति दिन भित्र उजुरी गरि सक्नु पर्छ होइन भने कुरा मिलेन की केटा फस्यो अर्को कुरा गार्जियन पनि चनाको हुनु पर्दछ आफ्नो छोरा छोरी कहा के गर्दै छन् भनेर त्यस्तो घटना हुनु भन्दा हुन न दिनु राम्रो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर