रेमिट्यान्स बढे पनि घट्यो विदेशी मुद्रा सञ्चिती – Nepal Press

रेमिट्यान्स बढे पनि घट्यो विदेशी मुद्रा सञ्चिती

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स २०.३ प्रतिशतले वृद्धि भएको छ । एक महिनामा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १७.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४ हजार ५४० पुगेको छ ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३९० पुगेको छ ।

मुलुकको विदेशी विनिमय सञ्चिती भने घटेको छ । गएको असारमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको विदेशी विनिमय सञ्चिती १.५ प्रतिशतले घटेर साउनसम्ममा ११ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँ कायम भएको छ ।

गएको असारसम्म अमेरिकी डलरमा यस्तो सञ्चिती ९ अर्ब ५४ करोड रहेको थियो । साउनमा १.२ प्रतिशतले कम भई ९ अर्ब ४२ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिती गएको असारमा १० खर्ब ५६ अर्ब ३९ करोड थियो । साउनमा ०.७ प्रतिशतले कम भई १० खर्ब ४९ अर्ब ११ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग गएको असारसम्म विदेशी विनिमय सञ्चिती १ खर्ब ५९ अर्ब ४१ करोड थियो । साउनमा ६.७ प्रतिशतले कम भई १ खर्ब ४८ अर्ब ७४ करोड कायम भएको छ । साउनको कुल विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर