प्रदर्शन अघि हेपिएको चलचित्र ‘झिँगेदाउ’को विदेशी राइट्स किन्न हानाथाप – Nepal Press

प्रदर्शन अघि हेपिएको चलचित्र ‘झिँगेदाउ’को विदेशी राइट्स किन्न हानाथाप

काठमाडौं । यस वर्षको ‘क्लिन हिट’ फिल्म ‘झिँगेदाउ’लाई प्रदर्शनपूर्व विदेशका विभिन्न ठाउँमा बेच्न निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजाले ठूलै कसरत गरेका थिए । किनकी विदेश राइट्सबाट फिल्मको लगानीको ठूलो हिस्सा उठ्ने गरेको छ । तर, देउजाको फिल्म किन्न ठूला देशका नेपाली वितरक राजी भएनन् । नेपालमा फिल्म हिट भएपछि भने यतिबेला विदेश राइट्स किन्न हानाथाप चलेको छ ।

नेपाली बक्स अफिसमा राम्रो कलेक्सन गरिहेको चलचित्र ‘झिँगेदाउ’को हालै अमेरिका र अष्ट्रेलियामा महंगो मुल्यमा राइट्स बिक्री भएको छ । अमेरिका र अष्ट्रेलियामा गरी कूल ५५ लाख रुपैयाँमा फिल्मको प्रदर्शन अधिकार बिक्री भएको हो । प्रतिक सुवेदीले अमेरिका र हरी मल्लले अष्ट्रेलिया प्रदर्शन अधिकार लिएका हुन् । अमेरिकामा भोलि शुक्रवारबाट र अष्ट्रेलियामा दशैं आसपासबाट फिल्म प्रदर्शन हुनेछ ।

नेपालमा फिल्म चलेपछि विदेशबाट राम्रो माग आइरहेको निर्देशक देउजाले बताए । ‘मैले प्रदर्शन अगाडि विभिन्न देशमा फिल्म बेच्न प्रयास गरेको थिएँ । तर, कसैले विश्वास गरेनन् । अहिले धेरै देशबाट माग आइरहेको छ । पहिला केही देशमा फिल्म बेचेँ । अहिले फिल्मको डिमान्ड देखेर किन हतारमा बेचेछु भन्ने लागिरहेको छ । फिल्मको डिमान्ड देख्दा खुशी लागेको छ,’ उनले भने ।

बलियो ‘वर्ड अफ माउथ’ले फिल्मको दोस्रो हप्तामा पनि राम्रो व्यापार छ । मल्टीप्लेक्सहरुमा उच्च शो पाएको फिल्मले पारिवारिक दर्शकलाई आकर्षित गरेको छ । एक परिवारभित्रको कथामा निर्माण भएको यस फिल्ममा केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभय बराललगायतको अभिनय रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर