नेतृत्व लिन युवाले के गर्ने ? – Nepal Press

नेतृत्व लिन युवाले के गर्ने ?

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा फेरि एकपटक युवा नेतृत्वको बहस सुरु भएको छ । राजनीतिमा यो बहस पटक-पटक हुँदै आएको छ । २०४६ सालको प्रजातन्त्रपछि भएका हरेक निर्वाचनमा मुलुकको एउटा तप्काले युवा नेतृत्वको बहस गरिरहेको छ ।

तर, हरेक निर्वाचनमा केहीलाई छोडेर अधिकांश पदमा युवा उमेरको एउटा तह पार गरिसकेका नेताहरु नै उम्मेदवार हुने गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि राजनीतिक दलहरुले धमाधम उम्मेदवार सिफारिस सुरु गरेका छन् । तर, विडम्बना दलहरुबाट सिफारिस अधिकांश उम्मेदवार ५० वर्षमाथिकै हुने गरेका छन् ।

सिफारिस उम्मेदवारमा २५ देखि ४५ वर्ष उमेर समूहका अत्यन्त न्यून छन् । तीस वर्ष अघिदेखि युवा नेतृत्वको बहस भैरहँदा अझै पनि किन युवाहरु नेतृत्वको लागि तयार भैरहेका छैनन् ? कमजोरी कसको हो ? नेतृत्व नदिने ज्येष्ठ नेताहरुको कि नेतृत्व लिन नसक्ने युवाहरुको ?

राजनीतिक रुपमा हेर्दा नेतृत्व नदिने भन्दा पनि नेतृत्व नलिनेकै कमजोरी देखिन्छ । सबै कुरा दिएकोमात्र पाउने वा अपेक्षा गर्ने हो भने धेरैको पालो जीवनभरि आउँदैन । किनभने हामीलाई थाहा छ, यो दुनिया नातावाद-कृपावादमा चलेको छ । त्यसैले नेतृत्व आफैंले लिन सक्नुपर्छ । अझ राजनीतिमा मागेर पाइँदैन ।

अझै पनि किन युवाहरु नेतृत्वको लागि तयार भैरहेका छैनन् ? कमजोरी कसको हो ? नेतृत्व नदिने ज्येष्ठ नेताहरुको कि नेतृत्व लिन नसक्ने युवाहरुको ?

नेतृत्व लिन के गर्ने ?

गएको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन शाह र धरान उपमहानगरपालिकामा हर्क साङपाङ सानदार मतका साथ मेयरमा निर्वाचित भए । यो नतिजाले के देखायो भने जनता राजनीतिक दल र त्यसका नेतृत्वसँग सन्तुष्ट छैनन् । कुनै स्वतन्त्र व्यक्तिले नागरिक अधिकारको लागि काम गर्छ भने जनताले खुशीखुशी उनीहरुलाई राजनीतिक नेतृत्वमा पुर्‍याउन सक्छन् ।

दलका नेताहरुले राजनीतिक रुपमा जुन सफलता प्राप्त गरिरहेका छन्, त्यो सबै बाध्यताको नतिजामात्र हो । नेताहरुको कामको प्रतिफल छैन । यसको मतलब दलसँग आवद्ध नेताहरु सबै एकै किसिमका हुन् भन्न खोजिएको हैन । कोही-कोही काम गर्ने पनि छन् र उनीहरुले राजनीतिक रुपमा सफलता प्राप्त गरेका पनि छन् ।

बुझ्नुपर्ने कुरा यतिमात्र हो कि दलमा युवाहरुले नेतृत्व लिने हो भने काम गर्नुपर्‍यो । नागरिकका हरेक समस्यामा सक्रियतापूर्वक सहभागी हुने र समाधानको लागि अगुवाइ गर्न सक्नुपर्‍यो । गाउँ, टोल, वडा, पालिका, प्रदेश र देशको विकासको लागि, समृद्धिको लागि अगुवाइ गर्नुपर्‍यो । यति गर्न सक्यो भने जुनसुकै राजनीतिक दलको भए पनि नेतृत्वमा पुग्न र संसदीय राजनीतिमा आफूलाई विजयी गराउन कुनै समस्या हुँदैन ।

अन्य मुलुकमा राष्ट्र प्रमुखदेखि अन्य नेतृत्व तहका हरेक ठाउँमा युवाको सहभागिता निर्णायक छ । उनीहरु सफल पनि भएका छन् । तर, नेपालमा भने युवाहरुले त्यो तहको हैसियत नै बनाउन सकेको देखिँदैन । नेतृत्व चाहिन्छ भन्ने तर भरोसायोग्य काम नगर्ने अवस्थाले युवाहरुलाई मागेर लिने ठाउँमा पुर्‍याएको छ ।

युवाहरुले नेतृत्व लिने हो भने काम गर्नुपर्‍यो । नागरिकका हरेक समस्यामा सक्रियतापूर्वक सहभागी हुने र समाधानको लागि अगुवाइ गर्न सक्नुपर्‍यो ।

अब युवाहरुले काम गर्नुपर्‍यो, आँट गर्नुपर्‍यो । धेरै युवा महिलाहरु अहिले पनि संसदीय निर्वाचनमा प्रत्यक्ष हैन समानुपातिक कोटामा बस्न रुचाएको देखिएको छ । यसको कारण अरु केही हैन आँटको कमी हो । आँट किन भएन त भन्दा काम गरेको छैन । काम गर्ने हो भने जनताको साथ रहन्छ र आँट गर्न सकिन्छ । कहींकतै कुनै पनि सामाजिक अभियानमा सहभागी छैन, जनताको समस्यासँग कहिल्यै नजिकिएको छैन, विकास र समृद्धिको मेसो नै छैन भनेपछि जनतासँग नजिक हुने कुरै भएन । जनतासँग नजिक नभएपछि उनीहरुले साथ दिने कुरा भएन । अनि जनताको साथ नभएपछि आँट आउने कुरा भएन । आँट नभएपछि प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने अवस्था भएन ।

अर्को पटकलाई तयारी गरौं

यो पटक शतप्रतिशत हैन ७०/८० प्रतिशत युवा प्रतिनिधित्व/नेतृत्वको सम्भावना पनि देखिएको छैन । राष्ट्रिय राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, विश्वास, भरोसा सबै हिसाबले यो पटक पनि प्रौढ र ज्येष्ठ नेताहरुकै उपस्थिति हुने सम्भावना बढाएको छ । यो सत्यलाई युवा नेतृत्वले अहिले स्वीकार गर्नुको विकल्प देखिँदैन । त्यसैले यो पटक भएका युवा नेतृत्वको बचाउ र विकास गर्ने तथा अर्को पटकको लागि शतप्रतिशत युवा नेतृत्वको लागि तयारी गर्ने नै अन्तिम विकल्प हो ।

अर्को पटकको लागि युवा नेतृत्व तयार हुन राजनीतिको सैद्धान्तिक ज्ञानसहित अन्तर्राष्ट्रिय पहुँच, सामाजिक अभियानमा सक्रियतालगायतको विषयमा ध्यान पुर्‍याऔं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *