काम नसकिँदै बेलहिया-बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाको कार्यालय खारेज, बुटवलमा सडक अस्तव्यस्त – Nepal Press

काम नसकिँदै बेलहिया-बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाको कार्यालय खारेज, बुटवलमा सडक अस्तव्यस्त

रुपन्देही । बुटवलदेखि बेलहियासम्म ६ लेन सडक विस्तार आयोजनाको कार्यालय खारेज गरिएको छ । १० वर्षअघि स्थापना भएको बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाको कार्यालय सडक निर्माणको काम पूरा नहुँदै खारेज गरिएको छ ।

अहिलेसम्म बुटवलको राजमार्ग चौराहादेखि बेलहियासम्म २४ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडक र बेलहियाको ७०० मिटर सडक निर्माण दुई वर्षदेखि अलपत्र छ । आयोजनाको कार्यालय खारेज भएपछि निर्माणको काम अनिश्चित हुने देखिएको छ ।

आयोजनाको काम डिभिजन सडक कार्यालय बुटवलले हेर्नेगरी कार्यालय खारेज भएको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् ।

आयोजनाको कार्यालय खारेज भएको पत्र भने अहिलेसम्म नआएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख होम एसीले जानकारी दिए । ‘खारेज भएको भन्ने सुनेको छु, तर पत्र आइसकेको छैन’, उनले भने ।

चौतर्फी दबाबबीच केही दिन काम गरेको बुटवलको अस्पताल लाइन क्षेत्रमा एकतर्फी बनाएर ठेकेदार सम्पर्कविहीन भएका छन् । ठेकेदारले सवारीसाधनको सबैभन्दा बढी चाप हुने लुम्बिनी बस टर्मिनलदेखि ट्राफिक चोकसम्मको करिब ५०० मिटर सडक एकतर्फीमात्रै बनाएका थिए । जसले गर्दा उक्त क्षेत्र अस्तव्यस्त छ । सडक प्रयोगकर्ताहरूले सास्ती भोग्नुपरेको छ ।

सडक पिच गर्ने भन्दै बुटवल बसपार्कदेखि ट्राफिकचोक पश्चिमतर्फको सडक करिब एक महिनादेखि बन्द गरिएको छ । पूर्वतर्फको लेनमा मात्रै सवारीसाधन सञ्चालन हुँदा कार्यालय समयमा घण्टौं जाम हुने गरेको छ ।

साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ साल चैत १७ गते ठेक्का सम्झौता गरिएको सडकमा ६ वर्षमा बल्ल ३० प्रतिशतमात्रै काम भएको छ । समयमा काम सम्पन्न नहुँदा सडक जीर्ण बनेको छ । गत असार ३० गते ठेक्का अवधि सकिएको छ । तर, निर्माण कम्पनी द कञ्चनजङ्घा विरुवा जेभी कन्स्ट्रक्सन प्रालिले ठेक्का अवधि थप गर्न केही दिन काम गरे जस्तो देखाए पनि अहिले काम ठप्प छ ।

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले विगतमा सडकको क्षेत्राधिकार मिचेर बनाएका घरलगायतका संरचना हटाउन खोज्दा सडक क्षेत्राधिकार मिच्नेलाई बोक्दै काठमाडौं पुगेर राजनीतिक र अदालतको ढोका ढकढक्याउने कामको अगुवाइ गरेका थिए । पाण्डेले स्थानीय तहको निर्वाचन लड्दै गर्दा आफू विजयी भए ६ महिनाभित्र सडक निर्माण पूरा गर्ने बताएका थिए । तर, अहिले भने उनले सडक विस्तारमा ढिलाइ भएकोमा आफू निकै चिन्तित भएको बताए ।

बुटवल–बेलहिया सडक आयोजनाको जिम्मेवारी सम्हालेका सडक डिभिजन कार्यालय बुटवलका तत्कालीन प्रमुख जयलाल मरासिनी सडक क्षेत्राधिकार खाली गर्न अहोरात्र खटिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर