गठबन्धन कार्यदलः २२ बैठक बसिसक्दा पनि भएन ‘ब्रेक थ्रु’, सरकारका प्रवक्ता भाका सारेको सार्‍यै (भिडियो) – Nepal Press

गठबन्धन कार्यदलः २२ बैठक बसिसक्दा पनि भएन ‘ब्रेक थ्रु’, सरकारका प्रवक्ता भाका सारेको सार्‍यै (भिडियो)

कैलाली । गठबन्धन कार्यदलको हरेक बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चारकर्मीसँग लगभग एउटै भाषा दोहोर्‍याउँछन्- ‘सकारात्मक छलफल भएको छ, कार्यदललाई शीर्ष नेतृत्वले दिएको जिम्मेवारी पूरा गर्ने नजिक पुगिसकेका छौं ।’

सञ्चारकर्मी कार्कीले पटक-पटक यस्तो भने पनि कार्यदल अझै निष्कर्षमा पुग्न सकेको छैन । अहिले पनि दलहरु सीट बाँडफाँडलाई लिएर आ-आफ्नै अडानमा छन् । सीट बाँडफाँडमा कुरा नमिलेर कतै चुनावी तालमेल विथोलिने त होइन भन्ने चिन्ता गठबन्धन नेतृत्वमा देखिन थालेको छ ।

३९ दिन पहिले अर्थात् साउन २० गते सत्ता गठबन्धनको बैठकले १६५ निर्वाचन क्षेत्रको सीट बाँडफाँट गर्ने उद्देश्यले कार्यदल गठन गरेको थियो । कार्यदलको तीनवटा बैठक सकिएपछि २६ साउनमा सञ्चारमन्त्री कार्कीले सीट बाँडफाँटमा सहमति नजिक पुगिएको र केही दिनमै टुंगो लाग्ने बताएका थिए । तर, त्यसको १ महिनासम्म थप १९ बैठक बसिसक्दा पनि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन । सञ्चारकर्मी कार्की अहिले पनि उही ‘सहमति नजिक पुगेको’ सुगारटाइ गरिरहेका छन् ।

सुरुमा कार्यदलभित्र सीट बाँडफाँट गर्दा २०७४ सालको संसदीय चुनावको मतलाई आधार मान्ने कि हालै सम्पन्न स्थानीय चुनावको नतिजालाई भन्नेमा मतान्तर देखिएको थियो । साउन ३० गते केही दिनमा सहमति जुट्ने दाबी गरेका कार्कीले अर्को दिन भदौ १ गते कार्यदलको बैठक ‘निष्कर्ष नजिक’ रहेको दाबी गरे । उनले शीर्ष नेताहरूलाई भेटेर प्रगति विवरण सुनाउने निर्णय भएको समेत जनाए ।

‘अहिलेसम्म भएका छलफलका विवरण शीर्ष नेताहरूलाई अवगत गराउने र त्यसपछि बस्ने बैठकबाट निर्णयमा पुग्ने सहमति भएको छ’, उनले भनेका थिए ।

करिब एक महिना पहिले केही दिनमा सहमति हुने सन्देश दिइरहेका सञ्चारमन्त्री कार्कीले पछिल्लो एक सातामा भने भोलि-पर्सिभित्रै सहमति हुने दाबी गर्दै आइरहेका थिए । भदौ २० गते बैठक सकिएलगत्तै उनले तिथिमिति तोकेरै दुई दिनभित्र सहमति गर्ने जनाए । तर, ९ दिन बितिसक्दा पनि त्यो दुई दिन आएन ।

भदाै २१ गते कार्यदलको बैठक सकिएलगत्तै उत्साहित मुद्रामा निस्किएका कार्कीले २२ गते कार्यदलले सहमति गर्ने र शीर्ष नेतृत्वलाई बुझाउने बताएका थिए । सीट बाँडफाँटमा सहमति भइसकेको र त्यसलाई लिपिबद्ध गर्नमात्रै बाँकी रहेको दाबी गरेका थिए ।

‘सीट संख्या करिब-करिब मिलेको छ । त्यसलाई लिपिबद्ध गर्नमात्रै बाँकी छ । केही छलफल सकिएपछि औपचारिक जानकारी गराउनेछौं’, उनले भनेका थिए ।

कार्यदलमा सीट संख्या करिब-करिब बताइएपछि भदौ २२ मा कार्यदलले अधुरो प्रतिवेदन बुझाएको थियो । तर, कार्कीले भने आफूहरूले पूर्ण प्रतिवेदन बुझाएको दाबी गरे ।

सहमति नजिक रहेको बताउँदै आएको कार्यदलले ३९ दिनसम्म पनि सहमति गर्न नसकेपछि फेरि यो जिम्मेवारी शीर्षस्थ नेताको काँधमा आएको छ । केही दिनदेखि कार्यदलसँगै यसमा शीर्ष नेताहरू पनि सहमति जुटाउने प्रयास गरिरहेका छन् । तर, सहमति भने हुन सकेको छैन ।

यसैबीच फेरि केही दिनलाई सीट बाँडफाँटको विषयले ब्रेक पाउने भएको छ । अब समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवार टुङ्गो लगाएपछि मात्र प्रत्यक्षतर्फ सीट बाँडफाँटबारे छलफल गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पनि सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूको संयुक्त र द्विपक्षीय छलफल भएको थियो । सीट बाँडफाँटमा शीर्ष नेताहरू लचिला देखिए पनि सहमति जुटेको छैन । अब कार्यदलको बैठक ४ गतेभन्दा पहिले नबस्ने तर, शीर्ष नेताहरू बस्नसक्ने बताइएको छ ।

‘अब हामी ४ गतेसम्म बस्दैनौं’, कार्यदलका एक सदस्यले भने, ‘विवाद रहेका सीटहरूमा शीर्ष नेताहरूले छलफलबाट सहमति जुटाउन पनि सक्नुहुन्छ ।’

१६५ निर्वाचन क्षेत्रमध्ये अहिले गठबन्धनमा रहेका दलहरूले गरेको दाबी करिब २ सय पुगेको छ । तर, करिब ९५ सीटमा भने उनीहरु सहमति नजिक छन् । कार्यदलका एक सदस्यले भने, ‘९५ सीटमा करिब सहमति भइसकेको छ । अहिलेसम्म ७० सीटमा विवाद छ । ती क्षेत्रमध्ये धेरैमा दुई पक्ष र केहीमा त्रिपक्षीय दाबी छ ।’

उनका अनुसार अहिलेसम्म नेपाली कांग्रेसको ५५ देखि ६० क्षेत्र स्पष्ट भएको छ । माओवादी केन्द्रको १२ देखि १५ क्षेत्र स्पष्ट भएको छ भने नेकपा एकीकृत समाजवादीको ८ देखि १० सीट सुनिश्चित भइसकेको छ । जसपालाई पनि नेकपा एसकै हाराहारीमा दिने सहमति छ । त्योबाहेकका ७० सीटमा शीर्ष नेताहरूले छलफल गरिरहेको उनी बताउँछन् ।

कार्यदलको बैठकमा नेपाली कांग्रेसले १००, माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ सीट दाबी गरेका थिए । १६५ निर्वाचन क्षेत्रमा २ सयभन्दा बढीको दाबी भएपछि ३९ दिनसम्म पनि कार्यदलले सहमति गर्न नसकेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर