हेटौँडामा ५४ बिघा क्षेत्रफलमा वागमती प्रदेशको ‘सिंहदरबार’ बन्ने – Nepal Press

हेटौँडामा ५४ बिघा क्षेत्रफलमा वागमती प्रदेशको ‘सिंहदरबार’ बन्ने

हेटौँडा । विगत करिब पाँच वर्षबाट वागमती प्रदेश सरकारको सबैभन्दा ठूलो टाउको दुखाई बनेको प्रदेशका संरचना बनाउने स्थलको टुंगो लागेको छ । संघियता कार्यन्वयनको लागिसमेत समस्या बनेको प्रदेश संरचना बनाउने स्थलको टुंगो नहुँदा हेटौँडामा मुख्यमन्त्री कार्यालयसहित अधिकांश मन्त्रालय पुराना तथा जिर्ण भवनलाई टालटुल गरेर बस्न वाध्य थिए ।

अझ प्रदेशसभा भवन अति अव्यवस्थित थियो । एउटै भवनमा पाँच वटासम्म मन्त्रालय रहनुपर्ने, अझ भवन अपुग भएर व्यक्तिको भाडाको घरमा मन्त्रालयहरु सञ्चालनमा गर्नुपर्ने बाध्यताबीच प्रदेश सरकारले प्रदेशको संरचना निर्माणको लागि फराकिलो स्थान फेला पारेको छ ।

प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिकाको वडा नंबर १६ हटियामा ५४ विगहा जग्गामा प्रदेश संरचना गर्ने निर्णय गरेको हो । हेटौँडाको मुख्य बजार क्षेत्रबाट करिब ११ किलोमिटर पूर्वमा रहेको ५४ बिघा सार्वजनिक जग्गामा प्रदेश सरकारले प्रदेशको ‘सिंहदरबार’ बनाउने प्लान सहित बजेट विनियोजन गरेको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताए ।

मंगलबार मुख्यमन्त्री कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गरी पाण्डेले अब एकै स्थानबाट प्रदेशको सबै मन्त्रालय, विभिन्न आयोगको सेवा सञ्चालन हुनेगरि भवनहरु निर्माण हुने बताए । ५४ बिघा क्षेत्रफलमा मुख्यमन्त्रीको कार्यालय सहित सबै मन्त्रालय, लोकसेवा आयोग, मुख्य न्यायधिवक्ताको कार्यालयदेखि प्रदेश नीति आयोगको कार्यालय सहित सुरक्षा संयन्त्रको कार्यालयहरु निर्माण गरिने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले भने, ‘हेटौँडा–१६ मा ५४ बिघा क्षेत्रफलमा प्रदेशको सिंहदरबार बन्छ । हामीले जग्गा छनोट गरेर संघीय सरकारलाई स्वीकृतिका लागि पठाइसकेका छौँ । केही दिनभित्रै त्यसको अनुमति आउँछ,’ पाण्डेले भने, ‘जग्गा स्वीकृत भएको एक हप्ताभित्र संरचनाको डिजाइन र निर्माण दुवै काम गर्ने गरी टेण्डर आह्वान गछौं ।’

पाण्डेले पाँच वर्षसम्म साँघुरो तरबले काम गरिएको स्मरण गर्दै प्रदेश सरकारले आफ्ना प्रशासनिक भवनहरु बनाउनको लागि चालु आर्थिक वर्षमा १ अर्ब पाँच करोड रुपैँया विनियोजन गरेको बताए । बहु वर्षिय योजनाअन्र्तगत निर्माण हुने कार्यालयहरु अब आउने सरकारले दु्रत गतिमा निर्माण गर्ने र थप बजेटको लागि संघिय सरकारलाई समेत आग्रह गरिएको बताइएको छ ।

तत्कालीन हटिया गाविसमा रहेको उक्त क्षेत्र हेटौँडा उपमहानगरपालिकामा गाभिएपछि तीव्र विकासको गतिमा छ । धरान–चतरा सडकखण्डसँग जोडिएको उक्त क्षेत्र काठमाडौं–तराई द्रुत मार्गबाट करिब १५ किलोमिटरको दुरीमा मात्र पर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *