कृषि विकास बैंकको ४ करोड घोटालामा पूर्वजर्नेल र उनकी प्रेमिकालाई कैद सजाय – Nepal Press

कृषि विकास बैंकको ४ करोड घोटालामा पूर्वजर्नेल र उनकी प्रेमिकालाई कैद सजाय

काठमाडौं । कृषि विकास बैंकको न्यूरोड शाखामा भएको चार करोड रुपैयाँभन्दा बढीको घोटालामा पूर्वसहायक रथी रमेशराज विष्टलाई ४ वर्ष कैद सजाय भएको छ । उनकी प्रेमिका भनिएकी बैंककै कर्मचारी दीपिका रेग्मीलाई भने ८ वर्ष कैद सजाय सुनाएको छ ।

विशेष अदालतले सोमबार उनीहरुलाई उक्त सजाय सुनाएको हो । त्यसअघि न्यायाधीशहरु शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले उनीहरुलाई भदौ ७ गते दोषी ठहर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी दुईसहित ८ जनाविरुद्ध २०७६ पुस २९ गते विशेषमा मुद्दा दायर गरेको थियो । उनीहरुविरुद्ध चार करोड २४ लाख १३ हजार ६१५ रुपैयाँ घोटाला गरेको आरोप लागेको थियो । आरोपित बाँकी ६ जनाले भने सफाइ पाएका छन् । रेग्मी बैंकमा टेलर सहायक पदमा कार्यरत थिइन् ।

अनुसन्धानका क्रममा रेग्मीले बैंकको पैसा व्यक्तिगत प्रयोजनमा खर्च गरेको देखिएको थियो । बैंकबाट उनले लिएको पैसामध्ये ३१ लाख ३८ हजार ८६४ रुपैयाँ पूर्वसहायक रथी विष्टको खातामा जम्मा गरेकी थिइन् ।

विशेषले रेग्मीलाई तीन करोड ९२ लाख ४४ हजार ४४७ रुपैयाँ जरिवाना पनि तोकेको छ । विष्टलाई ३१ लाख ६८ हजार ६४४ रुपैयाँ जरिवाना तोकिएको विशेषले जनाएको छ ।

उनीहरुविरुद्ध यसअघि सोही प्रकरणमा बैङ्किङ कसुरमा पनि मुद्दा दायर भएको थियो । पाटन उच्च अदालतले रेग्मीलाई ५ वर्ष कैद, बिगो र बिगो बराबर जरिवाना तथा विष्टलाई २ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर