इन्जिनियरहरुलाई सहरी विकास मन्त्रीको निर्देशन- पैसाका पछि नलाग्नुस् – Nepal Press

इन्जिनियरहरुलाई सहरी विकास मन्त्रीको निर्देशन- पैसाका पछि नलाग्नुस्

काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले इन्जिनियरहरुलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिएका छन् । लोकसेवाबाट सिफारिस भएर आएका ५९ जना इन्जिनियरहरुलाई मन्त्रालयमा आयोजिक बधाई तथा स्वागत कार्यक्रममा मन्त्री चौधरीले भने, ‘अब तपाईँहरुको निजी जीवनभन्दा फराकिलो स्पेस भएको छ । राज्यले पनि तपाईँहरुमाथि ठुलो लगानी र भरोसा गरेको छ । राज्यले दिएको जिम्मेवारीमा जवाफदेही बन्नुहोला । कहिल्यै पैसाका पछि नलाग्नुस् । तपाईंले इमानदारीपुर्वक काम गर्नुभयो भने पैसा आफैँ तपाईंको पछि लाग्नेछ ।’

इन्जिनियरले पैसा नखाइ कलम नै चलाउदैनन् भन्ने सुनिएको भन्दै मन्त्री चौधरीले जनतालाई सेवा दिने कुरामा सधैँ ध्यान दिन र जनताले नबुझ्ने भाषामा नबोल्न समेत आग्रह गर्दै भने, ‘जनतालाई पीर पर्ने काम नगर्नुस् । मन दुख्ने भाषा नबोल्नुस् । तपाईँ जहाँ जानुहुन्छ त्यहाँ रहेका आफु मुनिका कर्मचारीलाई पनि नहेप्नुस् । नथर्काउनुस् । राम्रो संस्कार देखाउनुस् । मेहनतमा विश्वास गर्नुस् । मेहनतले नै तपाईंहरु सचिव बन्न सक्नुहुनेछ ।’

ठुला नेता र कर्मचारीका नाम लिएर मन्त्रालयमा दबाब नदिन र पोष्टिङ भएकै ठाउँमा गएर काममा खटिन समेत मन्त्री चौधरीले निर्देशन दिएका छन् ।

इन्जिनियरिङ सेवा सिभिल समुह अन्तर्गत विल्डिङ र आर्किटेक तर्फ ४१ र जनरल उपसमुहतर्फ १८ जना इन्जिनियरहरुलाई मन्त्रालयका सचव डा. रमेशप्रसाद सिंहले सपथ खुवाएका थिए ।


प्रतिक्रिया

One thought on “इन्जिनियरहरुलाई सहरी विकास मन्त्रीको निर्देशन- पैसाका पछि नलाग्नुस्

  1. पैसाको लागि काम नगरे तिमीलाई के बुझाउनु नि ? त्यसैको लागि मन्त्री खान पार्टी नै फुटाएका छौ । पैसा नदिए त तिमीले सरूवा गर्दिइहाल्छौ नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर