महाअभियोगको छलफल गलत सम्प्रेषण भएकोमा आपत्ति, समितिले तोक्यो प्रवक्ता – Nepal Press

महाअभियोगको छलफल गलत सम्प्रेषण भएकोमा आपत्ति, समितिले तोक्यो प्रवक्ता

चोलेन्द्रले भने- ओली र पौडेललाई मैले धन्यवाद दिएँ तर केही माननीयले मिडियालाई उल्टो जानकारी दिए

काठमाडौं । महाअभियोग सिफारिस समिति समक्ष प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले दिएको बयानलाई कतिपय मिडियाले उल्टो सम्प्रेषण गरेको र समितिकै केही सदस्यले त्यसरी बोलेको भन्दै अब समितिका सचिवलाई प्रवक्ता तोकिएको छ ।

आइतबार चोलेन्द्रले दिएको बयानमा सर्वोच्चको भवन बनाउँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले महत्वपूर्ण सहयोग गरेको कारणमात्र सम्भव भएको बताएका थिए । तर, केही सदस्यलाई उदृत गर्दै केही मिडियाले भवन ठेक्कामा ओली र पौडेलको नाम पनि मुछियो भन्ने समाचार प्रसारण गरेपछि समितिमा हंगामा भएको हो ।

मंगलबारको बयानको सुरूमै समितिका सदस्यहरूले सर्वोच्चको भवन निर्माण सम्बन्धमा के भएको हो फेरि भन्नुस् भनेर राणालाई प्रश्न गरेका थिए । राणाले भवन बनाउने सन्दर्भमा तत्कालीन प्रधानमन्त्रीले जग्गा उपलब्ध गराएर सहयोग गरे र तत्कालीन अर्थमन्त्रीली बजेट दिएर सहयोग गरेको बताए ।

उनले आफूले भनेको कुरालाई समितिकै केही माननीय सदस्यले मिडियामा गलत सूचना दिएको र ती मिडियाले आफूहरूलाई अनुकूल हुनेगरी समाचार ‘डिस्टोर्ट’ गरेको बताएका थिए ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै समितिका सदस्य विष्णु पौडेलले समितिमा भएका बयान र छलफल मिडियामा गलत ढंगले आएकाले अबदेखि समिति सचिव लक्ष्मी गौतमलाई प्रवक्ता तोकिएको र उनले भनेका कुरामात्र आधिकारिक हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर