लगानी बोर्डबाट १० खर्बको ३३ वटा परियोजना स्वीकृत, के छ प्रगति ? – Nepal Press

लगानी बोर्डबाट १० खर्बको ३३ वटा परियोजना स्वीकृत, के छ प्रगति ?

काठमाडौं । लगानी बोर्डले हालसम्म १० खर्ब रुपैयाँ बराबरको परियोजना स्वीकृत गरेको छ । बोर्डले ऊर्जातर्फ १९ र गैरऊर्जातर्फ १४ ठूला परियोजनामा लगानी स्वीकृत गरेको हो ।

ऊर्जासम्बन्धी परियोजर्नामा ७ खर्ब २५ अर्ब ४१ करोड रुपैयाँ लगानी आएको छ । ग्रामीण पूर्वाधारसम्बन्धी एउटा परियोजनाको लागि ५ अर्ब ६६ करोड लगानी स्वीकृत भएको छ । औद्योगिक पूर्वाधारका तीन वटा परियोजनाका लागि ५ अर्ब १२ करोड रुपैयाँ स्वीकृत गरिएको छ ।

खानीजन्य परियोजनामा २ खर्ब १० अर्ब ५ करोड रुपैयाँ लगानी हुनेछ । पर्यटनसम्बन्धी दुइटा परियोजनाका लागि १३ अर्ब ९ करोड रुपैयाँ लगानी स्वीकत गरिएको बोर्डले जनाएको छ ।

स्वीकृतमध्ये ३ वटा गैरऊर्जा परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेर व्यवसायिक उत्पादनसमेत गरिरहेको बोर्डले जनाएको छ । होङ्गसी शिवम सिमेन्टले (३७ अर्ब ३५ करोडको परियोजना) व्यवसायिक उत्पादन गरिरहेको छ । धरान फोहोरमैला व्यवस्थापन (२४ अर्ब रुपैयाँको परियोजना) र ह्वासिन सिमेन्ट नारायणी (१४ अर्ब ८२ करोड रुपैयाँ) ले परीक्षण उत्पादन गरिरहेका छन् ।

यता ९ सय मेगावाटको अरुण- ३ र २१६ मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत परियोजना निमार्णाधीन चरणमा छन् । ९०० मेगावाटको अरुण- ३ जलविद्युत १ खर्ब ४४ अर्ब लागतमा बन्दै गरेको परियोजना हो । २१६ मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत ७३ अर्ब १५ करोडमा बन्दै गरेको परियोजना हो ।

९०० मेगावाटकै माथिल्लो कर्णाली जलविद्युत परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरी वित्तीय व्यवस्थापनको क्रममा रहेको बोर्डले जनाएको छ । यो १ खर्ब ६६ अर्ब लागतमा बन्नेछ ।

ऊर्जातर्फ नै ३२७ मेगावाट विद्युत उत्पादन गर्ने माथिल्लो मर्स्याङ्दी २ जलविद्युत परियोजनाको लगानी बोर्डले स्वीकृत गरेको छ । यो परियोजना ७८ अर्ब ३० करोड रुपैयाँ लागतमा बन्नेछ ।

गैरऊर्जातर्फ ४ वटा परियोजनाको लगानी स्वीकृति भएको छ । जसमा चीन नेपाल मैत्री औद्योगिक पार्क, भेइकल म्यानुफ्याक्चरिङ एण्ड एसेम्बली प्लान्ट, दाङ सिमेन्ट र सम्राट सिमेन्ट रहेका छन् । चीन नेपाल मैत्रीपार्क ६४ अर्ब ९० करोड रुपैयाँ लागतमा बन्नेछ ।

भेइकल म्यानुफ्याक्चरिङ १० अर्ब ५४ करोड रुपैयाँ लागतमा बन्नेछ । दाङ सिमेन्ट ३२ अर्ब ५० करोड र सम्राट सिमेन्ट १५ अर्ब ६ करोड लागतमा बन्नेछ ।

पश्चिम सेती र सेती नदी- ६ परियोजना विकासकर्तासँग परियोजना अध्ययनको लागि सम्झौता भइसकेको छ । यी दुई परियोजनाबाट १२ सय मेगावाट विद्युत उत्पादन हुनेछ । यसमा २ खर्ब ७० अर्ब १३ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । दुइटा गैरऊर्जा परियोजनामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं बाहिरी चक्रपथ परियोजना निर्माणको चरणमा छन् ।

वीरेठाँटी-मुक्तिनाथ केवलकार परियोजना, प्राइभेट फ्रेट टर्मिनल एण्ड बल्क ह्याण्डिलिङ फेसिलिटिज र मल्टिमोडल लजिस्टिक पार्कको विस्तृत सम्भाव्यता अध्ययन भइरहेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार तमोर जलाशययुक्त परियोजना (७५६ मेगावाट), तल्लो अरुण (६६९ मेगावाट) र राइजेन इनर्जी सोलार परियोजना (२५० मेगावाट) पनि अध्ययनको चरणमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर