१५ महिना सम्झौता बाँकी छँदै किन छोडे अल्मुताइरीले नेपाली टोली ? – Nepal Press

१५ महिना सम्झौता बाँकी छँदै किन छोडे अल्मुताइरीले नेपाली टोली ?

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ५२५ दिनपछि जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।

अल्मुताइरीले आइतबार अपरान्ह सामाजिक सन्जालमार्फत नेपाली टोलीको प्रशिक्षक पदबाट अलग भएको घोषणा गरेका हुन् । त्यसअघि अल्मुताइरीले इमेल गर्दै त्रिपक्षीय सम्झौता आफ्नो तर्फबाट अन्त्य गरेको जानकारी गराएको अखिल नेपाल फुटबल संघ(एन्फाका प्रवक्ता सुरेश शाहले बताए।

उनले कतार फुटबल संघ, एन्फा र आफुबीच भएको सम्झौता अन्त्य गरेको उल्लेख गरे । यसको मतलब उनले नेपाली टोलीको प्रशिक्षकबाट राजिनामा दिएको भन्ने अर्थमा बुझ्न सकिन्छु, शाहले बताए।

अल्मुताइरी कतार फुटबल संघको प्राविधिक सहयोगमा सन् २०२१ मा नेपाल आएका हुन् । उनको कार्यकाल सन् २०२४ को डिसेम्बरसम्म थियो । यसको मतलब उनी सम्झौताको अवधि करिब १५ महिना बाँकी रहँदै जिम्मेवारीबाट अलग भएका हुन्।

खेलाडीसँगको विवादका कारण एक्लिएका अल्मुताइरी पछिल्लो समय बिदामा थिए । अखिल नेपाल फुटबल संघ एन्फासँग उनको दुरी पनि बढेको थियो । यहीबीचमा एन्फाले प्रदीप हुमागाईँलाई नेपाली टोलीको निमित्त प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो ।

हुमागाईँको प्रशिक्षणमा नेपालले केही सातापछि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै छ । अल्मुताइरीको प्रशिक्षणमा नेपाल साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुगेको थियो।

एसिया कप छनोटको बन्द शिविरमा रहेका १० जना खेलाडीलाई व्यक्तिगत टसलमा निकालेपछि अल्मुताइरी विवादको उत्कर्षमा पुगेका थिए । त्यसपछि गठित छानबिन समितिले अल्मुताइरीको विकल्प खोज्न एन्फालाई सुझाव दिएको थियो ।

अल्मुताइरी बन्द शिविरबाट निकालेका १० जना र नियमित कप्तान किरणकुमार चेम्जोङलाई टोलीमा नराखी एसिया कप छनोट खेल्न पुगेका थिए । एसिया कप छनोटमा कमजोर प्रदर्शन गरेपछि अल्मुताइरी नेपाल फर्किएका थिएनन् ।

त्यसपछि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी गरिरहँदा अल्मुताइरीले खेलाडीको सूची पठाएका थिए । तर स्पष्टीकरणका विषयमा कुरा उठेपछि अल्मुताइरीले आफूलाई जबरजस्ती हटाए मुद्दा हाल्नेसम्मको चेतावनी दिएका थिए। निमित्त प्रमुख प्रशिक्षक हुमागाईले अल्मुताइरीले टोलिबाट निकालेका खेलाडीलाई समेत समेटेर अहिले बन्द प्रशिक्षण गराइरहेका छन्।

अल्मुताइरीविरुद्ध आन्दोलनमा उत्रिएका खेलाडीले त्यतिबेलै यी प्रशिक्षकको मातहतमा रहेर नखेल्ने बताएका थिए । एन्फाको निवर्तमान कार्यसमितीको बलियो आड भरोसा पाएका अल्मुताइरी त्यहाँको नेतृत्व फेरिएपछि दबाबमा परेका थिए।

एन्फामा कर्मा छिरिङलाई विस्थापित गर्दै उनीविरुद्ध आन्दोलन गरिरहेका पंकजविक्रम नेम्वाङ नेतृत्वमा आएपछि अल्मुताइरी नेपाल फर्कने सम्भावना कमजोर बनेको थियो। यद्यपी एन्फाको नयाँ समितीले अल्मुताइरीको नेपाल फिर्तीलाई अस्विकार गरेको थिएन।

छलफलका लागि एन्फाले व्यक्ती नै तोकेको थियो। अल्मुताइरी पनि आफु नेपाली टोलीको प्रशिक्षक भएजसरी र भविस्यमा फर्कने जसरी सामाजिक सन्जालहरुमा सक्रिय भइरहन्थे ।

अल्मुताइरी व्यवसायिक रुपमा निकै अब्बल प्रशिक्षक मानिन्छन् । उनी नेपाली टोली सम्हाल्ने पहिलो एएफसी प्रो लाइसेन्सधारी प्रशिक्षक हुन् । नेपाली टोली र नेपाली फुटबलका बारेमा बोलिरहने उनी नेपाली फुटबल समर्थकमाझ लोकप्रिय थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर