निर्वाचनमा व्यवसायिकताको उदाहरण प्रस्तुत गर्नुस्ः प्रधानसेनापति शर्मा – Nepal Press

निर्वाचनमा व्यवसायिकताको उदाहरण प्रस्तुत गर्नुस्ः प्रधानसेनापति शर्मा

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा व्यवसायिकताको उदाहरण प्रस्तुत गर्न मातहतलाई निर्देशन दिएका छन् ।

पदभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा सैनिक जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्ने जिम्मेवारी उत्कृष्ट ढंगबाट निर्वाह गरी व्यवसायिकताको उदाहरण प्रस्तुत गर्न निर्देशन दिएका हुन् ।

उनले मतपत्र छपाइ सुरक्षा, मतपत्र तथा मतपेटिका विकट र संवेदनशील क्षेत्रमा ढुवानीलगायत विस्फोटक पदार्थ निष्क्रिय गर्ने, मतदानस्थलको बाहिरी सुरक्षा जस्ता जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्न मातहतलाई निर्देशन दिएका हुन् ।

प्रधानसेनापति शर्माले राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्न सदैव तयारी अवस्थामा रहन नेपाली सेनालाई निर्देशन पनि दिए । ‘हाल विकसित अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षाको वातावरणको सूक्ष्म अध्ययन र विश्लेषण गर्दै नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट रुपमा निर्वाह गर्नुस्’, उनले भने ।

उनले नेपाली सेना सबै नेपाली जनताको आशा, भरोसा र एकताको केन्द्रविन्दु भएको उल्लेख गरे । नेपाली सेनाको मूल्य र मान्यताको सम्बर्द्धन र प्रवर्द्धन गर्दै मातहतका दर्जाले फलामे अनुशासन, पारदर्शिता र सैनिक चरित्र कायम राख्दै आआफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा उनको जोड थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर