सम्राट अशोकसँग आफूलाई दाँज्दै प्रचण्डले भने- युद्धलाई नजिकबाट हेरेकैले शान्तिको महत्व बुझ्छ (भिडिओ) – Nepal Press

सम्राट अशोकसँग आफूलाई दाँज्दै प्रचण्डले भने- युद्धलाई नजिकबाट हेरेकैले शान्तिको महत्व बुझ्छ (भिडिओ)

को हुन् प्रचण्डले आफूसँग तुलना गरेका अशोक ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास र समृद्धिका लागि शान्ति र स्थिरताको ठूलो महत्व हुने बताएका छन् ।

काठमाडौंमा आयोजित युवा उद्यमी सम्मेलनलाई सम्बोधन गर्दै उनले बुद्ध जन्मेको देशमा अब शान्ति र स्थिरता कायम गर्दै विकास र समृद्धिको बाटो कोर्नुपर्ने बताएका हुन् ।

सोही अनुसार आफ्नो बाँकी जीवन यही कार्यमा खर्चिने उनले प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘मेरो बाँकी जीवन विकास र समृद्धि, शान्ति र स्थिरताका लागि हो । यसो भन्दा धेरैलाई अनौठो पनि लाग्नसक्छ ।’

नेपाली भूमिमा बुद्ध जन्मेको र बुद्धको शान्ति सन्देश दिने पात्र सम्राट अशोक आफूजस्तै युद्ध लडेको पात्र रहेको अध्यक्ष प्रचण्डले टिप्पणी गरे ।

‘हामी बुद्ध जन्मेको देशका बासी हौं । बुद्धलाई र बुद्धको शिक्षा शान्ति र अहिंसाको सन्देशहरूलाई स्थापित गर्न एउटा त्यस्तो युद्धको कमाण्डर धेरै ठूलो युद्ध लडेको मान्छेद्वारा भएको तपाईँ हामी पढ्छौं इतिहासमा-अशोक !’, उनले भने,‘थुप्रै युद्ध लडेको । आफ्नै आँखा अगाडि हज्जारौं-हजार मान्छे मर्ने/मार्नेगरी लडेको मान्छे नै अन्ततः शान्तिको दूतका रूपमा बुद्धका सन्देशहरूलाई स्थापित गरेर अशोक स्तम्भ हामी लुम्बिनीमा देख्छौं ।’

युद्ध लडेको पात्रमा त्यस्तो रुपमा परिवर्तन हुनसक्ने बताउँदै अध्यक्ष प्रचण्डले अगाडि भने, ‘मैले भन्ने गरेको छु-शान्तिको महत्व त्यसले बुझेको हुन्छ जसले युद्धलाई नजिकबाट हेरेको हुन्छ ।’

शान्ति, स्थिरता र विकासको आवश्यकतालाई पूर्ण गर्ने कुरा नै आजका मुख्य कुरा रहेको उनले बताए । ‘हामीलाई ठुल्ठूला दार्शनिकहरूले भनेका छन् । संसार हाम्रो हो, युवाहरूलाई सम्बोधन गर्दै संसार तपाईँहरूको पनि हो । तर, अन्तिम विश्लेषण संसार तपाईँ युवाहरूकै हो । तपाईँहरूकै भरोसामा हामी छौं,’ उनले भने ।

को हुन् प्रचण्डले आफूसँग तुलना गरेका अशोक ?

अशोक (राज्यकाल ईसापूर्व २७३-२३२) प्राचीन भारतमा मौर्य राजवंशको चक्रवर्ती राजा थिए । उनको राज्य उत्तरमा हिन्दूकुशदेखि दक्षिणमा मैसूरसम्म तथा पूर्वमा बङ्गालदेखि पश्चिममा अफगानिस्तानसम्म पुगेको थियो । यो त्यसबेलाको भारतको सबैभन्दा ठूलो साम्राज्य थियो ।

सम्राट अशोकलाई साम्राज्य विस्तारका लागि तमाम युद्ध लडेको र अन्तमा बौद्ध धर्मको प्रचारको लागि जानिन्छ । उनले जीवनको उद्धरार्धमा भारत, श्रीलङ्का, अफगानिस्थान, पश्चिम एसिया, इजिप्ट तथा ग्रीकसम्म बुद्ध धर्म र बुद्धको शान्ति सन्देशको प्रचार गराए ।

अशोक बाल्यकालबाट नै सैन्य गतिविधिहरूमा पोख्त थिए । उनले सुरुवातमा आफ्ना सौतेनी भाईहरूलाई मारेर सम्राट बनेका थिए । सम्राट बनेलगत्तै अशोकले पूर्व तथा पश्चिम दुबै दिशामा आफ्नो साम्राज्य फैलाउन सुरू गरे । जसमा उनले हज्जारौं मानिस र सैनिकको नरसंहार गरेका थिए ।

त्यसैक्रममा कलिङ्ग भन्ने ठाउँमा भएको नरसंहारपछि उनको मनमा ग्लानी भरियो र बौद्ध धर्म अंगिकार गर्नपु गे । त्यसपछि उनी बुद्धको उपदेशहरू पढ्दै गए र ती उपदेशहरूलाई आफ्नो जीवनमा उतार्न थाले ।

यसैक्रममा उनले शिकार तथा पशुहत्या गर्न छोडिदिए । ब्राह्मण तथा अन्य सम्प्रदायको सन्यासीहरूलाई खुलेर दान दिए । जनकल्याणको लागि उनले चिकित्सालय, पाठशाला तथा सडक आदिको निर्माण गराए ।

त्यसपछि बौद्ध धर्मको प्रचारका लागि आफूसहित आफ्नो छोरा र छोरीलाई विभिन्न देशको यात्रामा पठाएका थिए ।


प्रतिक्रिया

One thought on “सम्राट अशोकसँग आफूलाई दाँज्दै प्रचण्डले भने- युद्धलाई नजिकबाट हेरेकैले शान्तिको महत्व बुझ्छ (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर