सोह्रश्राद्ध सुरु, पितृलाई तर्पण दिनेको घुइँचो (तस्बिरहरु/भिडिओ) – Nepal Press

सोह्रश्राद्ध सुरु, पितृलाई तर्पण दिनेको घुइँचो (तस्बिरहरु/भिडिओ)

काठमाडौं । मुख्य चाडपर्वअघि दिवंगत पितृलाई तर्पण, सिदादान तथा पिण्डदान दिने रीतिअनुसार सोह्रश्राद्ध आजदेखि सुरु भएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्ध समेत भन्ने गरिएको हो ।

कतै यो पक्षलाई प्रेत पक्ष पनि भनिएको छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ ।आज २ बजे पछिद्वितीय तिथि परेकाले आजै द्वितीय तिथिको श्राद्ध पनि गरिन्छ ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गर्छ । पशुपतिमा पनि आज  श्राद्ध गर्नेकाे भीड लागेकाे  छ ।

अरुको घरमा डेरा गरी बसेकाले तीर्थमा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ । अरुको घरमा श्राद्ध गर्नुहुँदैन भन्ने शास्त्रीय मान्यताका आधारमा तीर्थमा गई श्राद्ध गर्ने गरिएको हो ।

श्राद्धका लागि कर्ता (गर्ने मानिस), ब्राह्मण (गराउन जान्ने मानिस)र श्राद्ध सामग्रीको आवश्यकता पर्दछ । कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *