ईश्वर पोखरेलको दाबी- गठबन्धनको मनोवैज्ञानिक त्रास टुटिसक्यो (भिडिओ) – Nepal Press

ईश्वर पोखरेलको दाबी- गठबन्धनको मनोवैज्ञानिक त्रास टुटिसक्यो (भिडिओ)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धनको मनोवैज्ञानिक त्रास टुटिसकेको बताएका छन् ।

एमालेको मोरङ–काठमाडौं सम्पर्क मञ्चको आज आयोजित कार्यक्रममा बोल्दै उनले स्थानीय तह निर्वाचनबाट गठबन्धनको मनोवैज्ञानिक त्रास टुटेको दाबी गरेका हुन् ।

‘अब गठबन्धनको मनोवैज्ञानिक त्रास अब टुटिसक्यो,’ उनले भने,‘गठबन्धनवालाहरूको दुर्दशा देख्नुभयो नि तपाईँहरूले पर्खनु मात्रै पर्छ त्यसको दुर्दशा देख्न धेरै समय कुर्नुपर्दैन ।’

स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनले एमालेको पत्ता साफ गर्छु भनेर तालमेल गर्दा पनि एमालेलाई कमजोर बनाउन नसकेको उनले बताए ।

उनले भने, ‘नेकपा एमालेलाई पत्ता साफ गर्दिने, टर्च बालेर खोज्नुपर्ने, भित्तामा पुर्‍याउने भन्दै थिए । त्यसरी दम्भपूर्ण घोषणाका बाबजुद पनि एमाले मतका हिसाबले सर्वाधिक लोकप्रिय मतसहित आयो ।’

एमालेलेलाई धुलोमा मिलाउँछु भन्नेहरू आफै धुलोमा मिलेको उनले दाबी गरे । ‘एमाले धुलोमा मिलेन, भित्तामा टाँसिएन । टर्च बालेर खोज्नुपरेन । जसले घोषणा गरेका थिए उनीहरूको नै पत्ता साफ भयो,’ उनले भने ।

मतका हिसाबले स्थानीय निर्वाचनमा एमालेले विगतभन्दा १ प्रतिशत बढी मत ल्याएको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए ।

‘हाम्रो लोकप्रियता खस्किएकै छैन । १ प्रतिशत मत बढेको छ । १ लाख मत बढी आयो,’ उनले भने ।

गठबन्धनकै कारण नडराउन पनि पार्टी कार्यकर्तालाई उनले आश्वस्त पार्ने प्रयास गरे । त्यसका लागि स्थानीय तह निर्वाचनको आँकडालाई देखाउँदै निर्धक्क भएर लाग्न उनले आग्रह गरे ।

‘गठबन्धन भए पनि डराउनुपर्दैन,’ उनले भने, ‘किनभने गठबन्धनवाला एक्ला एक्लै लडेको ठाउँमा एमाले २४ प्रतिशत मात्रै जित्यो, आंशिक भएको ठाउँमा ३१ प्रतिशत जित्यो र पूर्ण गठबन्धन र सबै पोको परेर जाइलागेको ठाउँमा एमालेले ४१ प्रतिशत जित्यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर