इन्द्रदहमा स्नान गर्नेको भीड – Nepal Press

इन्द्रदहमा स्नान गर्नेको भीड

काठमाडौं । राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका- १ को इन्द्रदहमा भाद्र शुक्ल पूर्णिमाका अवसरमा स्नान गर्ने भक्तजनको भीड लागेको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन यहाँ स्नान गरेमा इन्द्रसँगै स्वर्ग गइने जनविश्वास छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीको बेलुकी इन्द्रदहमा रहेको इन्द्र वासुकीको मन्दिरमा दिवङ्गत पितृको स्वर्गवास होस् भन्ने कामनाले दीप प्रज्ज्वलन गर्ने भक्तजन बिहानै स्नान एवं मन्दिर पूजा आराधना गरी फर्कने गर्छन् ।

शुक्रबार बेलुकी दीप प्रज्ज्वलन गरी बसेका भक्तजन र अन्य भक्तजनको पनि बिहानैदेखि इन्द्रदहमा स्नान गर्न भीड लागेको चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए । इन्द्रदहको धार्मिक पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारले सक्दो प्रयास गरेको उनले बताए ।

थानकोटदेखि नै भक्तजनको भीड लाग्ने भएकाले शुक्रबारदेखि नै स्वयंसेवक खटाएर काम गरिएको नगरपालिकाले जनाएको छ । भाद्र शुक्ल चतुर्दशीका दिन वसन्तपुरमा इन्द्रजात्रा हेर्नेले बेलुकी बत्ती बाली जाग्राम बसेर आज बिहान पूर्णिमाका दिन स्नान गर्नुपर्ने धार्मिक विधि छ ।

देवराज इन्द्रसँग जोडिएको पौराणिक कथाका आधारमा यहाँ प्रत्येक वर्ष मेला लाग्ने गरेको छ । कथाअनुसार स्वर्गबाट फूल चोर्न आएका इन्द्रलाई राजधानीका वसन्तपुर क्षेत्रमा समातिएको थियो । इन्द्रलाई छुटाउन उनकी आमा पनि स्वर्गबाट यहाँ आएको किम्वदन्ती छ । जसलाई यहाँका मानिसले आफूसँगै स्वर्ग लगे छोडिदिने वचन दिएका थिए ।

वसन्तपुरबाट स्वर्ग जान इच्छुकलाई लिएर हिँडेका इन्द्रले भाद्र शुक्ल पूर्णिमाका दिन बिहान इन्द्रदहमा स्नान गरेका थिए । इन्द्रसँगै आएका मानिस पनि स्नान गरिरहेका बेलाको मौका छोपी इन्द्र र आमा स्वर्ग गएको भनाइ विशेष गरी बूढापाकाले सुनाउने गरेका छन् ।

त्यसबेला वसन्तपुरका स्थानीयवासी भने त्यही स्नान गरी घर फर्किएका थिए । यसै सम्झनामा प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशी र पूर्णिमाका दिन बत्ती बाल्ने र स्नान गर्ने परम्परा बसेको बताइन्छ । यहाँको मेलामा काठमाडौँ उपत्यकाका साथै वरपर जिल्लाका स्थानीयवासी पनि सहभागी हुने गरेका छन् ।

कोरोना महामारीका कारण विगतका दुई वर्ष कम भक्तजन आएकामा यस वर्ष भने धेरै भक्तजन इन्द्रदह आएको नगरपालिकाले जनाएको छ । यहाँ कालु पाँडेको समाधिस्थलसमेत रहेकाले यस क्षेत्रलाई पर्यटकीय ठाउँका रुपमा विकास गरिएको नगर प्रमुख गिरीले बताए । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर