बलात्कार आरोपमा उजुरी परेपछि फरार लहानका उपप्रमुख महतो प्रहरीमा हाजिर – Nepal Press

बलात्कार आरोपमा उजुरी परेपछि फरार लहानका उपप्रमुख महतो प्रहरीमा हाजिर

जनकपुरधाम । बलात्कार आरोपमा उजुरी परेपछि फरार भएका सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचलित्तर महतो इलाका प्रहरी कार्यालय लहानमा हाजिर भएका छन् ।

साउनको पहिलो साता उपप्रमुख महतोमाथि एक महिलाले जबरजस्ती करणी उद्योग अन्तर्गत लहान प्रहरीमै जाहेरी दर्ता गराएकी थिइन् । मुद्दा दर्ता भए लगत्तै उपप्रमुख महतो नगरपालिका जान छाडेका थिए ।

पक्राउ पर्ने डरले उनी करिब डेढ महिना सम्पर्क विहीन बने । उनी आज दिउँसो ईप्रका लहानमा हाजिर भएको सिरहाका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

‘उपप्रमुख महतो ढिलो गरी हाजिर भएकाले अदालतबाट अनुसन्धानका लागि म्याद पनि लिन सकेनौं’, उनले भने, ‘भोली त शनिवार नै भयो । अब आइतबार म्याद थप हुन्छ ।’

हाजिर भए लगत्तै अनुसन्धान सुरु भइसकेको र अनुसन्धान सकेपछि अदालतमा बुझाउने उनको भनाई छ ।

लहान नगरपालिकाले दैनिक ज्यालादारीमा कम्प्युटर अपरेटर सम्बन्धी विज्ञापन गरेको थियो । सो पदका लागि दरखास्त दिएकी एक महिलाले जागिर लगाइदिने लोभ दिएर आफूमाथि उपप्रमुख महतोले आफ्नो कार्यकक्षको गोप्य कोठामा लगी जबरजस्ती करणीको प्रयास गरेको आरोप लगाएकी छन् ।

महतो जनता समाजवादी पार्टी जसपाबाट उपप्रमुखमा निर्वाचित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर