नयाँ एसपी हाजिर भएको हप्ता दिन नबित्दै अदालतबाटै भागे कैदिबन्दी – Nepal Press

नयाँ एसपी हाजिर भएको हप्ता दिन नबित्दै अदालतबाटै भागे कैदिबन्दी

दाङ । प्रहरीले म्याद थप्नका लागि लगिएका एक जना बन्दी दाङ जिल्ला अदालतबाट फरार भएका छन् ।

सुन चोरी आरोपमा बुधबार घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर बजार क्षेत्रबाट पक्राउ परेका घोराही– १७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा बिहीबार बेलुका जिल्ला अदालतबाट फरार भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए ।

म्याद थपका लागि लगिएका विश्वकर्मालाई भित्र न्यायाधीशसमक्ष पेस गर्ने क्रममा शौचालय जान्छु भनेर त्यहीँबाट भागेको भन्ने सूचना आफूले पाएको र घटनाको अनुसन्धान भइरहेको उनले बताए । यसअघि सुरेश काफ्ले दाङको एसपि हुँदा कारागारबाट भागेका कैदी यमराज परियारलाई भारतबाट पक्राउ गरेर ल्याउन सफल भएका थिए। जिल्ला प्रहरी प्रमुख भएर वलि आएको एक हप्ता नबित्दै अर्का कैदी फरार भएको घटना सार्वजनिक भएको हो ।

शौचालय गएका विश्वकर्मा लामो समयसम्म पनि नआएपछि ढोका फोरेर पाँच बजेतिर हेर्दा शौचालयको झ्यालबाट फरार भएको र त्यहाँ फेला नपरेको एसपी वलीले बताए ।

हत्कडि खोलेको बेला त्यसैको फाइदा उठाउँदै विश्वकर्माले शौचालय जान्छु भनेर योजनाबद्ध रूपमा झ्यालबाट हाम फालेर निस्किएको र त्यसपछि अदालतको पर्खाल नाघेर फरार भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले बताए ।

जिल्ला प्रहरी प्रमुख एसपी वलीले आफू एआइजीको स्कर्टिङको लागि भालुबाङमा रहेको र म्याद थप्न लैजाँदा लापरवाही गर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याउने बताए ।

त्यसमा प्रहरीको मिलेमतो देखिए कारबाही गर्ने उनले बताए । जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय बीचको दूरी करिब एक डेढ सय मिटरको हाराहारीमा छ । जिल्ला अदालत भित्र पनि प्रहरीको अलग्गै सुरक्षा युनिट रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर