अर्घाखाँचीमा माओवादीका बलदेवको सिफारिसपछि डिलारामलाई तनाव – Nepal Press

अर्घाखाँचीमा माओवादीका बलदेवको सिफारिसपछि डिलारामलाई तनाव

रुपन्देही । नेकपा माओवादीका सचिव चक्रपाणी खनाल बलदेवको नाम अर्का सचिव डिलाराम आचार्यको क्षेत्र अर्घाखाँचीबाट सिफारिस भएको छ ।

यसअघि कपिलवस्तुको क्षेत्र नं १ लाई निर्वाचन क्षेत्र बनाएका खनालले गठबन्धनमा कांग्रेसलाई छाड्नुपरेको अवस्थामा वैकल्पिक क्षेत्र खोज्दै अर्घाखाँचीमा पनि नाम पारेको भन्दै अर्का सचिव डिलाराम आचार्य निकट कार्यकर्ताहरु आक्रोशित बनेका छन् । बलदेव अहिले कपिलवस्तु १ बाट प्रतिनिधिसभा सदस्य छन् ।

कपिलवस्तु १ बाट उनीसहित ३ जनाको नाम केन्द्रमा सिफारिस भए पनि यहाँ कांग्रेस नेता दीपकुमार उपाध्यायले दाबी गरिरहेकाले कतै गठबन्धनमा छाड्नुपर्ने हो कि भन्ने त्रासमा खनाल पक्ष रहेको छ ।

खनालको दुवै जिल्लाबाट नाम सर्वसम्मत भने सिफारिस हुन सकेको छैन । कपिलवस्तुमा उनीसहित डोरप्रसाद उपाध्याय, कमल चुँदालीको नाम सिफारिस भएपनि चुँदालीले आफू अहिलेको निर्वाचन प्रणालीमा आर्थिक अवस्थाले लड्न नसक्ने बताएका छन् ।

अर्घाखाँचीबाट टोपबहादुर रायमाझीले माओवादी छाडेपछि त्यो खाडल पुर्न सचिव बनाइएका डिलाराम आचार्यले टिकट पाउने अपेक्षा गरिएपनि बलदेवको नामसमेत सिफारिसमा परेपछि उनको समूहले आशंका गर्न थालेको छ । यहाँबाट बलदेव, आचार्यसहित जाकिर हुसेनको नाम पनि सिफारिस भएको माओवादी अर्घाखाँचीले जनाएको छ ।

अर्घाखाँचीमा समानुपातिकतर्फ सुशिला श्रीपालीको एकल नाम सिफारिस भएको छ । प्रदेश सभा ‘क’ तर्फ ठाकुर कुमार बिक, पदम क्षेत्री, शोभाखर बन्जाडेको नाम सिफारिस भएको छ भने प्रदेश सभा ख मा बिबेक गैरे, टिकाबहादुर रेश्मी र भक्त बहादुर पुनको नाम सिफारिस भएको माओवादी अर्घाखाँचीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर