विदेशमोह त्यागेर दुई अर्ब लगानीको व्यवसायिक प्रतिष्ठान हाँक्दै तिलोत्तमाका आवास – Nepal Press

विदेशमोह त्यागेर दुई अर्ब लगानीको व्यवसायिक प्रतिष्ठान हाँक्दै तिलोत्तमाका आवास

रुपन्देही । रुपन्देहीको तिलोत्तमाका आवास बन्जाडे २६ वर्षका भए । चार वर्षअघि डिग्री सकेका उनलाई धेरैले विदेश जाने सल्लाह दिए ।  सम्पन्न परिवारमा जन्मिएका आवासलाई विश्वका विकसित मुलुकमा जान र बस्न कुनै समस्या छैन ।

बाबुबाजेको सम्पत्तिले अमेरिका, अस्ट्रेलिया वा युरोपियन मुलुकमा ग्रीनकार्ड लिएर सुखी जीवन बिताउन पुग्थ्यो पनि । परिवारको सबल आर्थिक अवस्थाले उनलाई धेरैले विदेशै ताक्न सुझाएका थिए । तर, उनलाई अमेरिका, अस्ट्रेलिया र युरोपले आकर्षित गर्न सकेन । त्यहाँ जाने मोह पनि जागेन, जहाँ आजभोलि हरेक युवायुवतीले आँखा लाइरहेका छन्, जान पाए हुन्थ्यो भन्ने सपना देखिरहेका छन् ।

आवास जे गर्ने हो सबै आफ्नै मातृभूमिमा गर्नुपर्ने लक्ष्यमा दृढ छन् । उनको चाहना मातृभूमिमै केही नयाँ काम गरौं भन्ने थियो । युवा पुस्तामा देखिएको विदेशमोहलाई रोक्नुपर्ने उनको तर्क छन् । आफ्नो लक्ष्य र तर्कलाई पूरा गर्न आवासले तिलोत्तमा नगरपालिका- ४ स्थित राधाकृष्ण टोलमा व्यवसायिक प्रतिष्ठान सञ्चालनमा ल्याएका छन् । अढाई विगा क्षेत्रफलको पुर्खौली जग्गामा उनले दैनिक उपभोग्य वस्तु पाइने व्यवसायिक प्रतिष्ठान खोलेका हुन् ।

प्रतिष्ठानमा दैनिक उपभोग्य वस्तुको किनमेल गर्न डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याइएको छ । रेस्टुरेन्ट, सभासमारोह र गोष्ठी गर्ने हल, बालबच्चालाई मनोरञ्जन दिने बालोद्यानसमेत प्रतिष्ठानभित्रै व्यवस्थापन गरिएको छ । कस्मेटिक, फर्निचर शोरुम तथा बिक्री केन्द्र, सैलुन, बुटिक, स्पासमेत एउटै छानामुनि उपलब्ध छ । त्यस्तै अर्गानिक भेजिटेबल, गार्मेन्टस्, लुगाकपडा, सांस्कृतिक, क्याजुअल कपडालगायत सबै फेन्सी आइटमको स्टोरसमेत राखिएको छ ।

आवासले हजुरबुबा इन्द्रप्रसाद, बुबा नारायण, आमा गीता र आफ्नो नाम आवासको पहिलो अक्षर लिएर आईएनजीए नाम राखेर २ अर्बभन्दा बढी लगानीमा व्यवसायिक प्रतिष्ठान बनाएका हुन् । प्रतिष्ठानभित्र आईएनजीए सपिङ कम्प्लेक्स, एनजी मार्केटलगायत सञ्चालनमा छन् ।

मातृभूमि छोडेर विदेश जान खोज्ने युवा पिँढीलाई आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने उदाहरण दिन उक्त प्रतिष्ठान सञ्चालनमा ल्याएको आवास बताउँछन् । त्यस्तै केही सस्तो सामान पाइने लोभमा सीमावर्ती भारतीय बजार जाने तर उल्टै ठगिने नेपालीहरुलाई आफ्नै बजारतर्फ आकर्षित गर्न उपभोग्य वस्तुको थोक तथा खुद्रा पसल सञ्चालन गरिएको उनले बताए ।

‘उपभोक्तालाई आवश्यक हरेक वस्तु एउटै छानामुनिबाट उपलब्ध गराउने उद्देश्यले व्यवसाय सञ्चालन गरेका हौं’, आवासले भने । उनको प्रतिष्ठानमा करिब १०० जनाले प्रत्यक्ष र थप १०० जनाभन्दा बढीले अप्रत्यक्ष रोजगारी पाएका छन् । उनले स्थानीय किसान तथा बिक्रेताबाट स्थानीय उत्पादनसमेत किन्ने प्रवन्ध मिलाएका छन् ।

उच्च शिक्षा अध्ययनरत युवाहरुलाई बजारीकरणको अवसरसमेत दिँदै आएका छन् । आफूकहाँ आएका अधिकांश युवाहरुहरुमा रोजगारी वा थप उच्च शिक्षाको लागि विदेश जाने सोच रहेको पाएको आवास बताउँछन् । तर आफूले सक्षम भएर पनि विदेश जाने मोह त्यागेको उनले सुनाए ।

‘म बाबुबाजेले कमाइदिएकै पैसामा अमेरिका, अस्ट्रेलिया वा युरोपियन मुलुकमा ग्रीनकार्ड लिएर सुखी जीवन बिताउन सक्थें । तर, अधिकांश नेपाली युवामा जस्तो ममा युरोप र अमेरिका प्रेम जागेन’, उनले भने, ‘उहाँहरुले दुःख गरेर कमाएको सम्पत्तिको सदुपयोग गर्न स्वदेशमै रोजगारी दिने उद्यमतिर लागेको छु ।’

बुटवल, भैरहवाका ठूला बजारभन्दा तुलनात्मक रुपमा तिलोत्तमामा जनघनत्व कम छ । तर, एनजी मार्केटले तिलोत्तमाको चहलपहल बढाएको छ । बुटलव, भैरहवा र भारतको सुनौली बजार जाने सर्वसाधारण विस्तारै एनजी मार्केटतर्फ आकर्षित हुन थालेका छन् ।

‘रुपन्देहीबाट दैनिक हजारौं नेपाली भारतीय शहर सुनौली र नौतनहवाका बजारमा जानुहुन्छ । म उहाँहरुलाई बजार मूल्य बुझेर आउन अनुरोध गर्छु’, आवासले भने, ‘बाहिरभन्दा हामीकहाँ महँगो पर्दैन । त्यसमाथि सबै समान एकै छानामुनि पाइन्छ ।’

व्यापारिक नगरका रुपमा विकास भैरहेको बुटवल, तिलोत्तमा र भैरहवाका उपभोक्तालाई लक्षित गरेर व्यवसाय अघि बढाएको आवासले स्पष्ट पारे । उनका अनुसार व्यवसायिक प्रतिष्ठान बनाउन जग्गाबाहेक करिब एक अर्ब रुपैयाँ लगानी भैसकेको छ ।

आवासले आफ्नो बजारमा उपभोक्तालाई आकर्षित गर्न नयाँ नयाँ ग्राहक योजना ल्याइरहेका छन् । ‘हरेक दिन छुटका योजना चलाएका छौं । सबै क्षेत्रका उत्पादन राखेका छौं । त्यसमाथि बाहिरी बजारको भन्दा मूल्य बढी छैन । मूल्यमा बार्गेनिङ गर्नुपर्दैन’, उनले थपे, ‘यसबारे उपभोक्तालाई बुझाउन केही समय लाग्ला । सबैले विस्तारै बुझ्दै जानुहुन्छ ।’

चाडपर्वको अवसरमा ग्राहकहरुलाई लक्षित गरी विशेष योजना ल्याउने तयारी भइरहेको आवासले जानकारी दिए । उनको चाहना पूरा गर्न जग्गासहित दुई अर्बभन्दा बढी लगानी गरेर व्यवसायिक प्रतिष्ठान खडा गरिएको आवासका बुवा नारायण बन्जाडेले जानकारी दिए ।

उनले सीमा क्षेत्रका भारतीय बजारमा गएर दुःख र सास्ती खेप्नुभन्दा स्वदेशमै सहज किनमेल गर्ने व्यवहार सिकाउने थलोका रुपमा प्रतिष्ठानलाई विकास गरिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर