धान छरेरै धान फलाउने बडायकको कृषि क्रान्ति – Nepal Press

धान छरेरै धान फलाउने बडायकको कृषि क्रान्ति

कैलाली । परम्परागत शैलीबाट छरुवा धान प्रविधितर्फ आकर्षित भएका कञ्चनपुर बेलौरी नगरपालिका ६ हात्तिबोझाका आश्रय बडायक अहिले निकै उत्साहित छन् ।

विगत केही वर्ष अघिसम्म ८ बिघा क्षेत्रफलमध्ये एक बिघामा मात्रै धान खेती गर्दै आइरहेका उनी अहिले नयाँ प्रविधिमार्फत करिब सबै क्षेत्रमा खेती गरिरहेका छन् । यसरी खेती गर्दा आधा लागतमा उत्पादन हुन थालेपछि उनी उत्साहित भएका हुन् ।

गाउँमा पहिलो पटक बडायकले ५ वर्ष पहिले सिसा परियोजनामार्फत छरुवा धान खेती सुरु गरेका थिए । ‘नयाँ प्रविधि भएको हुँदा धेरैलाई विश्वास लागेको थिएन तर, अहिले गाउँमा धेरैले यस्तो प्रविधिबाट खेती गरिरहनु भएको छ’ उनले भने, ‘मैले त अहिले दोब्बर आम्दानी गरिरहेको छु ।’

उनले यसपटक साढे ४ बिघामा छरुवा प्रविधिमार्फत धान लाएका छन् । केही वर्षदेखि धान छरेरै धान फलाइरहेको उनी वार्षिक रुपमा २५ लाखसम्मको कारोबार हुने गरेको बताउँछन् ।

एक बिघामा परम्परागत शैलीबाट धान लगाउँदा ६० हजार खर्च लाग्नेमा अहिले ३० हजारमै धान उत्पादन भइरहेको उनको अनुभव छ । ३० हजारको लागतमा उत्पादन भएको धान उनले बजारमा ८० हजार सम्ममा बेचेका छन् । बडायकबाटै अहिले यहाँ कैयौँ किसानहरूले यस्तो प्रविधि प्रयोग गरिरहेका छन् । त्यसबाट पनि उनको आम्दानी बढिरहेको छ । जमिन सम्याउने,धान छर्ने, विषादी छर्ने, गोड्ने र काट्ने सम्मका मेसिनहरू उनी आफैसँग छ ।

यस वर्ष मात्रै १७ जना किसानले ३७ बिघा क्षेत्रमा यस्तो प्रविधिबाट धान लगाएका छन् । बम बहादुर रावलले सबै भन्दा धेरै पाँच बिघामा छरुवा प्रविधिबाट धान लगाएका छन् । अघिल्लो बर्ष यहाँ ९ जना किसानले २२ बिघामा धान लगाएका थिए ।

आकाशे पानीको भर र खेतालाको कमीले समस्या हुने गरेकोमा छरुवा धान खेती प्रविधिले राहत मिलेको बयाडक बताउँछन् । त्यसैमाथि लगानी कम र आम्दानी बढी हुने हुँदा किसानको आकर्षण बढिरहेको उनको भनाइ छ । कृषिमा राम्रो उत्पादन गरिरहेको बडायकलाई अहिले स्थानीय तह र प्रदेश सरकारले पनि सहयोग गरेको छ । उनले धान सुपर जोन परियोजना कार्यान्वयन इकाई कञ्चनपुरबाट कृषि यान्त्रिकीकरण र प्राविधिक सहयोग पाइरहेका छन् ।

बडायकले यस अघि धान खेतभित्र माछा र हाँस पनि पालेर आम्दानी दोब्बर गरेका थिए । बडायकले प्रविधिको माध्यमबाट धान छर्ने मात्र होइन प्रविधिकै माध्यमबाट धान काट्ने पनि काम गर्छन् । ‘सिसा परियोजनाले हामीलाई प्रविधिसम्बन्धी धेरै कुराको ज्ञान दिएको छ । त्यही ज्ञान र सिपको माध्यमबाट हामीले कृषिमा कम लगानी गरी बढि उत्पादन गरिरहेका छौँ,’ उनले भने, ‘अहिले क्रमिक रुपमा सबै किसान प्रविधिसँग जोडिँदै गएका छन् ।’

सिसा परियोजनाका सुदूरपश्चिम प्रमुख लोकेन्द्र खड्काले नयाँ प्रविधितर्फ वडायक र उनी जस्ता अन्य किसानहरू पनि आकर्षित भएको बताए । उनका अनुसार नयाँ प्रविधि बिस्तारको लागि परियोजनाले किसानहरूलाई आर्थिक सहयोगसँगै खेतीमा लाग्ने रोगहरू, झार हटाउने विधि र उपायहरू पनि जानकारी दिँदै आइरहेको छ ।

उनले भने, ‘हामीले उत्पादन बढाउन र कृषिमा व्यवसायीक बनाउन पहल गरिरहेका छौँ । अहिले उहाँ जस्ता अरू किसानहरूले पनि प्रविधिको माध्यमबाट कम लगानीमा मनग्य आम्दानी गरिरहनु भएको छ ।’ बडायकले धानमा मात्र होइन उखुमा पनि प्रविधि प्रयोग गरेका छन् । परम्परागत शैलीमा उखु लगाउँदा एक बिघा क्षेत्रफलका लागि ८० क्वीन्टल उखु चाहिन्छ । तर, उनले उत्पादन गरेको नर्सरी विधिबाट उखु लगाउँदा एक बिघाको लागि २ क्वीन्टल उखु भए पुग्ने उनको दाबी छ ।

‘७८ क्वीन्टल उखुको मूल्यले त सिँचाइ खर्च र लगाउँदाको लगानी मात्रै होइन निकै राम्रो आम्दानी हुन्छ’ उनी भन्छन् ‘यो विधिबाट लगाएको उखुको उत्पादन पनि निकै राम्रो छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर