फोहोर पानी प्रशोधन केन्द्र अलपत्र पार्ने चिनियाँ कम्पनीसँगको ठेक्का रद्द, करिब ४९ करोड धरौटी जफत – Nepal Press

फोहोर पानी प्रशोधन केन्द्र अलपत्र पार्ने चिनियाँ कम्पनीसँगको ठेक्का रद्द, करिब ४९ करोड धरौटी जफत

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिस (होल्डिङ) इन्कसँग सम्झौता अन्त्य गरेको छ । पीआईडीले भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोबीघाटमा फोहोरपानी प्रशोधन केन्द्रको निर्माण गर्न साफबोनसँग सम्झौता गरेको थियो ।

साफबोनले सम्झौताअनुसार निर्माण अघि नबढाएको र पाँचपटकसम्म म्याद थप गर्दा पनि काम पूरा नगरेकाले सम्झौता तोडिकएको पीआईडीका उपनिर्देशक एवम् प्रवक्ता इञ्जिनियर चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार साफबोनसँग सल्लाघारी, कोड्कु र धोविघाटमा २ वर्ष ६ महिनाभित्र प्रतिदिन कूल ६ करोड ८७ लाख लिटर फोहोरपानी प्रशोधन क्षमताका फोहोरपानी प्रशोधन केन्द्रहरु निर्माण सम्पन्न गर्ने र पाँच वर्षसम्म सञ्चालन गर्ने गरी सन् २०१७ को जनवरी २६ मा सम्झौता भएको थियो ।

तर, पछिल्लोपटक सन् २०२२ को जुलाई ३१ सम्म समय दिँदासमेत सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेका कारण उक्त कम्पनीसँगको सम्झौता अन्त्य गरिएको प्रवक्ता श्रेष्ठले स्पष्ट पारे ।

उनका अनुसार फोहोरपानी प्रशोधन केन्द्र निर्माणमा कम्पनी असफल भएको छ । ‘निर्माणस्थलमा कम्पनीका आधिकारिक प्रतिनिधि तथा मुख्य व्यक्ति अनुपस्थित रहेको, सम्झौताअनुसार काम नगरेको, बीमालेख नवीकरण नगरेको, सम्झौता उल्लंघन गरेको र पीआईडीबाट दिइएका निर्देशनलाई बेवास्ता गरेको कारणले सम्झौता अन्त्य गरिएको हो’, प्रवक्ता श्रेष्ठले भने ।

तीनवटै फोहोरपानी प्रशोधन केन्द्र निर्माण् गर्न उक्त कम्पनीसँग कूल लागत ३ अर्ब ९२ करोड रुपैयाँमा सम्झौता भएको थियो । सम्झौताबमोजिम कम्पनीले बैंक ग्यारेन्टीस्वरुप राखेको करिव ४९ करोड रुपैयाँ धरौटी रकम जफत गरिएको उनले बताए ।

उक्त कम्पनीले थपिएको अवधिसमेत गरी ५ वर्ष ३ महिनामा जम्मा २७.१ प्रतिशतमात्र काम गरेको छ । जसवापत करिब ७७ करोड २७ लाख रुपैयाँ भुक्तानी लगेको पीआईडीले जनाएको छ । अब तीनवटै केन्द्रको बाँकी निर्माण नयाँ ठेक्का प्रक्रियाबाट अघि बढाउन आवश्यक प्रक्रिया अगाडि बढाइने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर