निर्वाचन आयोगले थप्यो १३२ मतदान स्थल, अब १० हजार ८८८ कायम – Nepal Press

निर्वाचन आयोगले थप्यो १३२ मतदान स्थल, अब १० हजार ८८८ कायम

काठमाडौं । आगामी मंसिर ४ गते हुने स्थानीय तहको निर्वाचनका लागि १० हजार ८८८ मतदान स्थल कायम गरिएको छ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम निर्वाचन आयोगले मतदान स्थल कायम गरेको हो ।

मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा मतदातालाई मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको संख्या, सुविधा एवं सुरक्षाको अवस्थासमेतलाई मध्यनजर गरी केही मतदान स्थल पुनरावलोकन गरिएको हो । कार्यविधिमा भएको व्यवस्था बमोजिम २०७९ साउन १ गतेदेखि मतदान स्थल पुनरावलोकन कार्यक्रम सञ्चालन गरेको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव सुर्यप्रसाद अर्यालले नेपाल प्रेसलाई जानकारी दिए ।

मतदाताको सघनता, मतदान स्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत, यातायात लगायतका पूर्वाधारको अवस्था, सुरक्षा एवं भौगोलिक अवस्था र निर्वाचनका सरोकारवालाको सहमतिसमेतका आधारमा मितदान स्थल कायम गरिएका हो । जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले गरेको सिफारिस बमोजिम मतदान स्थल पुनरावलोकन गरिएको हो सहायक प्रवक्ता अर्यालले बताए ।

त्यसै आधारमा जिल्लाभरका मतदान स्थल पुनरावलोकन गर्दा एक हजार १२३ मतदान स्थलको त्रुटि सच्याइएको, साविकका ३६५ मतदान स्थलबाट सबै मतदाता स्थानान्तरण गरी ३ सय ६४ मतदान स्थल निर्धारण गरिएको छ । यस्तै १६३ मतदान स्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी १६९ मतदान स्थल निर्धारण गरिएको साथै २८ वटा मतदान स्थलका सबै मतदातालाई २८ वटै मतदान स्थलमा र १५ मतदान स्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा मतदान स्थलमा गाभिएको छ ।

यसरी देशभरका मतदान स्थलको संख्या १० हजार ८८८ पुगेको आयोगले जनाएको छ । यसअघि देशभरका जम्मा १० हजार ७५६ मतदान स्थल रहेका थिए । मतदान स्थल पुनरावलोकन गर्दा देशभरका ४०१ मतदान स्थललाई हटाई नयाँ मतदान स्थल निर्धारण गरिएको छ ।
मतदान स्थल पुनरावलोकन भएपछि स्थानीय तहको निर्वाचन, २०७९ को समयमा मतदान गर्नका लागि बास बस्नुपर्ने, निकै टाढा टाढासम्म हिंड्नुपर्ने लगायतको गुनासोसमेत सम्बोधन भएको आयोगले जनाएको छ । मतदातालाई मतदान स्थलसम्मको पहुँच सहज भई निर्वाचनमा मतदाताको सहभागिता अझ बढ्ने पनि आयोगले अपेक्षा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर