पोखराका नमूना वडाध्यक्ष : अवैध संरचना हटाउन फूल दिएर पसल खाली गराउँदै – Nepal Press

पोखराका नमूना वडाध्यक्ष : अवैध संरचना हटाउन फूल दिएर पसल खाली गराउँदै

पोखरा । पोखरा महानगरपालिकाको स्वामित्वमा रहेको जीर्ण भवनमा व्यापार गरेर बसेकाहरूलाई वडाध्यक्ष दीपेन्द्र मर्सानीले गुलाबको फूल दिएर खाली गर्न आग्रह गरेका छन् ।

वडा नम्बर ९ का वडाध्यक्ष मर्सानीले प्रत्येक व्यक्तिलाई भेटेर गुलाबको फूल दिँदै भवनमा खतरा रहेको भन्दै अन्य क्षेत्र रोज्न आग्रह गरेका हुन् । करिब ४ दशक पहिलो मापदण्ड विपरीत बनेको घरमा रहेकाहरूलाई सद्भाव पूर्ण ढंगले खाली गरिदिन आग्रह गरिरहेको उनी बताउँछन्

‘हामी मापदण्डको कुरा गर्छौ । हाम्रै भवन मापदण्ड विपरीत थियो । पुरानो र जीर्ण भवनमा रहनु भएकाहरुलाई निर्धारित समय भित्र खाली गर्न आग्रह गरेका हौँ’ उनले नेपाल प्रेसलाई भने ‘फूल दिएर आग्रह गर्दा धेरैले मानिदिनु भएको छ ।’

उनका अनुसार आगामी २२ गते महानगरपालिकाले जारी गरेको ३५ दिने सूचनाको म्याद सकिन्छ । त्योभन्दा पहिले नै खाली गर्ने योजनाअनुसार सबैलाई आग्रह गरिरहेको उनले बताए ।

जीर्ण भवनबाट २७ जनालाई हटाउन आवश्यक रहेको महानगरपालिकाले जनाएको थियो । उनले काठमाडौँमा डोजर लिएर खाली गर्न हिँडिरहेको बेला आफू गुलाबको फूल लिएर खाली गर्न हिँडेको बताए ।

ती भवनमा ३० वटा सटर छन् । ती सटरमा बस्ने व्यवसायीले महानगरसँग गरेको कुनै सम्झौता पत्र पनि महानगरसँग छैन । ०७३ सालदेखि ती सडक भाडामा दिएको भए पनि सम्झौता पात्र अहिलेसम्म भेटिएको छैन । सटर कसले भाडामा लिएको हो भन्ने प्रष्ट छैन ।

व्यवसायीले भाडा तिर्ने गरे पनि उक्त भाडाबापतको रकम महानगरमा आएको छैन । बिचौलियाले सटर तेस्रो पक्षलाई भाडामा लगाएको महानगरको भनाइ छ । तर बिचौलिया को हो भन्नेमा महानगर अझै अन्योलमा छ ।

पहिलो चरणमा ठेकेदारलाई पत्र पठाएर भवन खाली गर्न आग्रह गरेको महानगरपालिकाले ठेकेदारबाट कुनै प्रतिक्रिया नआएपछि प्रत्येक व्यापारीलाई पत्र काटेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर