खातामा एक करोड जम्मा भएको नोटिफिकेसन आएपछि… – Nepal Press

खातामा एक करोड जम्मा भएको नोटिफिकेसन आएपछि…

जापान । नेपालको गोर्खा घर भै जापानको मिएइ प्रिफेक्चरमा बस्दै आएका २९ वर्षीय कृष्ण रेग्मी भर्खरै उठेर बाथरूम छिर्ने तर्खरमा थिए । नुहाइधुवाइ गरेर काममा निस्कने तयारीमा रहेका रेग्मीको हातमै रहेको मोबाइलमा नोटिफिकेसन ‘अलर्ट’ बज्यो ।

नोटिफिकेसन ‘अलर्ट’ नयाँ इमेल ‘डेलिभर्ड’ सूचना थियो । उनले इमेल खोले र हेरे । मोबाइलमा इमेल आउनु सामान्य हो । इमेल आएपछि नोटिफिकेसन ‘अलर्ट’ बज्नु अहिलेको जमानामा कुनै आश्चर्यको विषय होइन । त्यसैले रेग्मीले पनि सामान्य तवरले इमेल खोले र हेरे । इमेलमा लेखिएको पढेर उनी अचम्ममा परे । इमेलमा लेखिएको थियो, ‘तपाईंको खातामा पैसा डिपोजिट भएको छ ।’

हरेक ‘ट्राञ्जेक्सन’ को सूचना इमेलमा आउने भए पनि त्यसमा पूर्ण विवरण राखिएको हुँदैन । रेग्मीले पाएको इमेलमा पनि पूर्ण विवरण थिएन नै । त्यसपछि उनले मोबाइल एप्लिकेसनबाट आफ्नो बैंक खाता चेक गरे ।

‘जब मैले बैंक खाता चेक गरें, तब म चकित परें’, रेग्मीले भने, ‘साँचो हो कि झूटो हो मैले छुट्टाउन सकिनँ ।’

उनको बैंक खातामा एक विद्यालयको खाताबाट १ करोड जापानी येन डिपोजिट भएको नोटिफिकेसन आएको रहेछ । बिहान ७ बजे डिपोजिट भएको रकमबारे रेग्मीले बैंक खुलेपछि त्यसबारे जानकारी गराए । उनले विनालोभ उक्त रकम जहाँबाट डिपोजिट भएको हो त्यहीं फिर्ता गरेका छन् ।

रेग्मीका बैंकले उक्त रकम फिर्ता गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । ‘बैंकले भनेअनुसारका डकुमेन्ट पठाइसकेको छुु’, उनले भने, ‘जुन खाताबाट डिपोजिट भएको हो त्यही खातामा रकम फिर्ता गरेको छु । बैंकले प्रक्रिया पूरा गर्छ ।’

केही समयअघि जापानमा एक सरकारी कार्यालयले कोरोना राहतको रकम गल्तीले व्यक्तिको खातामा डिपोजिट गरेको थियो । गल्तीले डिपोजिट भएको पैसा सम्बन्धित व्यक्तिले फिर्ता गर्न नमानेपछि राष्ट्रिय बहसको विषय बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *