सुमन सायमी भन्छन्: अपूर्वको मुद्दा मेरो हातमा छैन, ममाथि राजनीति भयो – Nepal Press

सुमन सायमी भन्छन्: अपूर्वको मुद्दा मेरो हातमा छैन, ममाथि राजनीति भयो

न्याय निरुपणका लागि अदालत जान सुझाव

काठमाडौं । युट्युबमा राखेको एउटा कमेडी भिडिओलाई लिएर सर्लाहीका युवा अपूर्व क्षितिज सिंह सात दिनदेखि प्रहरी हिरासतमा छन् । नेवार समुदायको संस्कृति र सभ्यतामाथि खिल्ली उडाएको भन्दै सम्पदा संरक्षण महाअभियानले उनीविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।

यस प्रकरणमा सामाजिक सञ्जालको समर्थन र सहानुभूति अपूर्वप्रति देखिएको छ । अपूर्वले भिडिओ हटाएर गल्ती स्वीकार्दै माफी मागिसकेपछि उनलाई हिरासतमा पुर्‍याउनु अनुदार व्यवहार भएको टिप्पणी धेरैले गरेका छन् । यद्यपि कतिपयले कमेडीका नाममा एउटा जातमाथि खनिनु आपत्तिजनक भन्दै यसको समाधान कानूनी प्रक्रियाबाटै हुनुपर्ने तर्क पनि गरिरहेका छन् ।

अपूर्व प्रकरणमा सबैभन्दा बढी नाम आएको छ, सुमन सायमीको । धेरैले अपूर्वलाई हिरासतमा पुर्‍याउने योजनाकार नै उनी भएको ठानेका छन् । तर, सायमी भने अपूर्वमाथिको मुद्दाको नेतृत्व आफूले नगरेको बताउँछन् ।

‘सम्पदा संरक्षण महाअभियानका यादवलाल कायस्थजीको नेतृत्वमा उजुरी दिइएको हो । यसमा मैले नैतिक समर्थन जनाएको छु’, उनले भने ।
महाअभियानका तर्फबाट १०३ जनाले हस्ताक्षर गरेको हुँदा आफू एक्लैले मुद्दा प्रभावित गर्न नसक्ने सायमी बताउँछन् । यो विषयलाई अर्को पक्षले कानूनी प्रक्रियाबाटै निरुपण गर्न प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।

आगामी संसदीय चुनावमा काठमाडौं- ८ बाट उम्मेदवारी दिने तयारी गरिरहेका सायमीले अपूर्व पक्राउ प्रकरणमा आफूमाथि राजनीति भइरहेको गुनासो पनि गरे ।

प्रस्तुत छ, सायमीसँगको संक्षिप्त कुराकानीः

– नेवार समुदायको अपमान गरेको भनेर एउटा युवा कमेडियनलाई पक्राउ गरेर हिरासतमा राखिएको छ । यो मुद्दाको नेतृत्व तपाईंले गर्नुभएको हो ?

म यसको नेतृत्वकर्ता होइन । हाम्रै समुदायभित्रको सम्पदा संरक्षण महाअभियानले मुद्दा दायर गरेको हो । मैले नैतिक समर्थन अवश्य जनाएको छु । तर, उजुरीमा १०३ जनाको हस्ताक्षर छ । कसैको उक्साहटमा नभएर स्वतस्फुर्त रुपमा अभियन्ताहरु कानूनी उपचारको खोजीमा जानुभएको हो । यसको नेतृत्वकर्ता चाहिँ यादवलाल कायस्थसहित ५-६ जना हुनुहुन्छ ।

– तपाईंको पनि नैतिक समर्थन रहेको भन्नुभयो । के कारणले अपूर्वको कमेडी तपाईंलाई आपत्तिजनक लाग्यो ?

मुख्य त कमेडीका नाममा सामाजिक सद्भाव खल्बलाउने काम कसैले पनि गर्नु हुँदैन । वाक स्वतन्त्रताका नाममा कर्तव्य र दायित्व बिर्सिने क्रम बढिरहेको छ । हाम्रो समुदायमात्र होइन, पछिल्ला दिनमा यस्तो आक्रमण अरु समुदायमाथि पनि भइरहेको छ । सन्दीप क्षेत्रीको ‘फ्लप शो’लाई लिएर पनि विवाद भएको थियो । भर्खरै महादेव-पार्वतीको विवाद आयो । यस्तो पटक-पटक किन दोहोरिएको छ भने कसैले पनि कानूनी र न्यायिक प्रक्रियामा गएर समाधान खोजेन । त्यसैले एउटा नजिर बसाल्न पनि यो जरुरी भएको छ । ताकि भोलि अरु कमेडियनले पनि आफ्नो लक्ष्मणरेखा नबिर्सिऊन् ।

– प्रस्तुतिमा केही तलमाथि भयो होला । तर, यसरी हिरासतमै पुर्‍याउनुपर्ने अपराध थियो त ?

मैले माथि भनें कि सामाजिक सद्भाव खल्बलाउने किसिमबाट कमेडी गर्नुहुँदैन । कसैलाई व्यक्तिगत हानी-नोक्सानी पुर्‍याउने गरी पनि गर्नु हुँदैन । यदि उनले त्यस्तो गरेका छैनन् भने पक्कै पनि न्याय पाउँछन् । हामी अदालत त होइनौं ।

विगतमा मलाई पनि प्रहरी चौकीभित्र नेवारी भाषा बोलेको आरोपमा पक्राउ गरेर सात दिन हिरासतमा राखियो । पछि अदालतमा गएँ र न्याय पाएँ । अपूर्वसँग पनि त्यो विकल्प खुला छ ।

– त्यो बाटोबाट भन्दा पनि दुई पक्षबीच आपसी सहमति भएर समाधान निकाल्दा त्यसले सामाजिक सद्भाव बढाउन मद्दत पुग्थ्यो होला नि ?

कुनै पनि विषय कानूनमा गइसकेपछि त्यसको आफ्ना प्रक्रिया हुन्छन् । यस्तो फौजदारी मुद्दामा कानूनी प्रक्रिया अनुसरण गर्नैपर्छ । अहिले मलाई मिलाइदिनुपर्‍यो भनिरहेका छन् कतिपयले । अवश्य पनि म आफ्नो ठाउँबाट सहमतिका लागि प्रयास त गर्छु नै । तर, यो मुद्दा मेरो हातमा छैन । १८ लाख जनसंख्या भएको समुदायको कुरा हो । नेवाः समुदायमाथि र नेवाः सभ्यतामाथि खिल्ली उडाउन पाउने कि नपाउने भन्ने प्रश्न छ । खानपिनदेखि भाषा र रहनसहन सबैतिर प्रहार गरिएको छ । यसर्थ सकभर कानूनी र न्यायिक प्रक्रियाबाटै समाधान खोज्दा राम्रो हुन्छ ।

अर्को कुरा के पनि हो भने हामीले दबाबमा आएर आपसी सहमति गरेर छुटायौं भने पनि भोलि उहाँलाई नै रिस्क हुन्छ । किनकि समुदायमा मान्छे सबै उस्तै हुँदैनन् । को कति आक्रोश बोकेर बसेको हुन्छ, के थाहा ? तर, यदि अदालतले नै सामान्य तारेखमा रिहा गरिदियो भने त त्यस्तो रिस्क हुँदैन । उहाँ पनि शीर उँचो गरेर हिँड्न सक्नुहुन्छ । मेरो विचारमा ‘विन-विन’ को बाटो यही हो । म उहाँहरुलाई चाँडो अदालत जान सुझाव दिन्छु ।

– भनेपछि आपसी मेलमिलापको कुनै सम्भावना छैन ?

मैले अहिलेसम्म उहाँहरुको परिवारलाई भेटेको छैन । भेटेर कुरा गर्ने प्रयासमा छु । उहाँहरुलाई म यही कुराका कन्भिन्स गर्ने प्रयास गर्नेछु । मेलमिलाप गरेर छुट्नुभन्दा अदालत जानु तपाईंहरुको लागि पनि राम्रो हो भनेर सम्झाउने कोसिस गर्छु ।

– तपाईंले भोटको राजनीतिका लागि जातीय सेन्टिमेन्ट उराल्न खोजेको आरोप पनि लागिरहेको छ नि ?

यो विल्कुल गलत आरोप हो । मैले भनिसकें कि यो मुद्दाको नेतृत्व मैले गरेको नै होइन । यहाँ राजनीति त ममाथि भइरहेको छ । मेरो अपूर्वमाथि व्यक्तिगत रिसइबी केही पनि छैन । समुदायको पनि छैन । खालि के होभन्दा उहाँको प्रस्तुतिले समुदायको भावनामा चोट पुगेको छ । यस्ता भावनात्मक कुराहरुलाई अरुले नियन्त्रण गर्न गाह्रो हुन्छ ।

– तर, गल्ती महसुस गरेर क्षमायाचना गरिसकेपछि पनि यस्तो कठोरता देखाउँदा नेवाः समुदायको अनुदार छवि निर्माण हुँदैन ?

उहाँले गल्ती महसुस गर्नुभएको धेरै राम्रो हो । तर, विगतका अरु केसहरु पनि हेरौं न । सरस्वती प्रधानको केस ताजै छ । त्यो घटनाले के भयो भन्दा निजी सम्पत्तिमा पनि जातीय भेदभाव गर्नुहुँदैन भन्ने मान्छेले बुझे । नबुझिकन गरेको गल्तीका लागि उहाँलाई पनि त माफी दिन सकिन्थ्यो होला नि !

आफ्नो जाति, आफ्नो समुदाय सबैलाई प्यारो हुन्छ । कमेडीका नाममा अरुको भावनामा चोट पु¥याउनु गलत हो । यो विषयमा जनचेतना पनि आवश्यक देखिएको छ ।

– कमेडी त नेवारमाथि मात्र नभएर अरु जातिमाथि पनि भइरहेको हुन्छ । सबैभन्दा बढी बाहुनहरुमाथि नै धेरै व्यंग्य गरिन्छन् । तर, कहिल्यै कानूनी कारबाहीको विषय भएन । तपाईंहरुले मात्रै किन पचाउन नसक्नुभएको ?

जुन जाति र समुदाय बढी उत्पीडनमा परेको छ, उसलाई नै यस्ता कुराले बढी चोट पुग्छ । अहिले नेवाः समुदायजस्तो उत्पीडनमा अरु छैनन् । म आफैंले पनि भोगेको छु । आफ्नो समुदायको भाषा बोल्दा म ७ दिन थुनिनुपर्यो । गल्ती गरेको भए सजाय भोग्छु भनेर म अदालत गएको हुँ । र, आफ्नो समुदायको अधिकार स्थापित गरें । उहाँहरुले पनि यो हिम्मत राख्नुपर्छ । दिगो समाधान त्यही नै हो ।


प्रतिक्रिया

2 thoughts on “सुमन सायमी भन्छन्: अपूर्वको मुद्दा मेरो हातमा छैन, ममाथि राजनीति भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर