बाग्लुङ–१ (ख) मा कांग्रेसबाट प्रत्यक्षतर्फ सागर परियारको नाम सिफारिस – Nepal Press

बाग्लुङ–१ (ख) मा कांग्रेसबाट प्रत्यक्षतर्फ सागर परियारको नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेसबाट बाग्लुङ निर्वाचन क्षेत्र नं. १ (ख) मा प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ सागर परियारको नाम सिफारिस भएको छ । क्षेत्रीय समितिले प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ उनीसहित पाँच जनाको नाम सिफारिस गरेको छ ।

परियार नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय उपाध्यक्ष हुन् । युवा र विद्यार्थीमाझ लोकप्रिय छवि बनाएका परियारले प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ टिकटमा दाबी गरेका हुन् । यसअघि नेविसंघका विभिन्न तहका समिति, महाधिवेशन प्रतिनिधि र पार्टीको जिल्ला कार्यसमितिमा सदस्यसमेत रहिसकेका परियार केन्द्रमा देउवाइत्तर समूहका नेतासँग निकट छन् ।

उनले नेता शेखर कोइराला समूहबाट टिकटमा दाबी गरेका हुन् । दलित समुदायबाट विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आएका ३५ वर्षे युवा नेता परियार कांग्रेसमा प्रत्यक्षतर्फ टिकटको दाबी गर्ने दलित समुदायका थोरै नेतामध्ये हुन् । निर्वाचनमा प्रत्यक्षतर्फसमेत दलित समुदायका नेतालाई उम्मेदवार बनाउनुपर्ने माग उठिरहेका बेला परियारको दाबीलाई महत्वका साथ लिइएको छ ।

कांग्रेसले ई०७४ को निर्वाचनमा १ सय ६५ क्षेत्रमध्ये कुनै पनि क्षेत्रमा दलित समुदायका नेतालाई उम्मेदवार बनाएको थिएन । प्रदेशसभातर्फ कास्कीबाट जीवन परियार उम्मेदवार थिए । उनी हाल पार्टीको सहमहामन्त्री छन् । यसपटक पनि कांग्रेसमा दलित समुदायबाट प्रत्यक्षतर्फ टिकटको दाबी गर्ने नेताको संख्या कमै छ ।

नेता परियारले आफ्नो क्षेत्रमा कांग्रेसको पक्षमा राम्रो जनमत रहेको र त्यसमाथि आफू युवा पुस्ताका भावना र प्रतिनिधित्व गर्न सक्ने भएकाले पार्टीले आफूलाई नै उम्मेदवार बनाउने विश्वास व्यक्त गरे । ‘देशभर युवाको पक्षमा जुन जनमत सिर्जना भएको छ, त्यसलाई आफ्नो पक्षमा पार्न पनि कांग्रेसले युवाहरूलाई उम्मेदवार बनाउनुपर्छ,’ उनले भने, ‘ती नै युवाको भावनाको प्रतिनिधित्व गर्न मेरो टिकटमा दाबी हो ।’

सो क्षेत्रमा प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ नै नेता दलबहादुर शिरिष, हरिप्रसाद आचार्य, ओमकार थापा, कमलराज सापकोटा र इन्द्रराज पौडेलकोसमेत दाबी छ । क्षेत्रीय समितिले उनीहरूसमेतको नाम सिफारिस गरी माथिल्लो कार्यसमितिमा पठाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर