सार्वजनिक जग्गामा नेताहरुको सालिक बनाउने निर्णयविरुद्ध एमाले र स्थानीयको विरोध – Nepal Press

सार्वजनिक जग्गामा नेताहरुको सालिक बनाउने निर्णयविरुद्ध एमाले र स्थानीयको विरोध

रुपन्देही । बुटवल उपमहानगरले वीपी र पुष्पलालसँगै बुटवलका पूर्वमेयर स्व. सूर्यप्रसाद प्रधानको स्मृति पार्क बनाउन शुक्रबार शिलन्यास गरेपछि एमालेले विरोध जनाएको छ ।

उपमहानगरपालिकाले बुटवल ११ प्रगतिनगरमा नेपाली कांग्रेसका संस्थापक स्व. वीपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल र बुटवलका पूर्वनगर प्रमुख स्व. सूर्यप्रसाद प्रधानको स्मृतिमा पार्क निर्माण गर्न शुक्रबार शिलन्यास गरेको हो ।

स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएर पदस्थापन गरेको १ सय दिन पूरा भएको अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले पार्कको शिलान्याश गरेका छन् । तर एमाले बुटवल ११ का अध्यक्ष दिननाथ भट्टराईले लामो समयदेखि स्थानीयले संरक्षण गरेको जग्गामा कुनै जानकारीबिना नेताहरुको शालिक बनाएर जग्गा कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।

तर नगर प्रमुख खेलराज पाण्डेले १७ कठ्ठा १४ धुरमा बन्ने पार्कमा स्व. वीपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल र स्व. सूर्यप्रसाद प्रधानको शालिक रहने र पार्कलाई सौन्दर्यीकरण गरी घुम्न र विश्राम गर्न लायक बनाइने बताए ।

उनले बुटवललाई बुटवलबासी र सबै राजनीतिक दलको अपनत्व हुने गरी पहिचान स्थापित गर्न आवश्यक रहेकाले सहमति, सहकार्य, एकता र मेलमिलापको नीति लिएर अघि बढ्ने दाबी गरे ।

‘यो पार्कमार्फत बुटवल सबैको हो र हामी बुटवलका लागि हौं भन्ने भावना जागृत गराउनका लागि पनि यो पार्कले देशभर सन्देश दिनेछ’, उनले भने, ‘यहाँको विकासका निम्ति हामी सबै मिलेर अघि बढ्नु आवश्यक छ, यसले बुटवललाई देशकै उत्कृष्ट नगरको रुपमा स्थापित गर्न मदत गर्नेछ ।’

नगरप्रमुख पाण्डेयले अव्यवस्थित बसोबासी रहेको क्षेत्रनजिक बन्ने पार्कले स्थानीयलाई समेत अपनत्वको भावना जगाउने र स्थानीयले पार्कको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

‘यहाँका बासिन्दाले आफूलाई हेपिएको महसुस गर्नुपर्ने छैन, यहाँ सुन्दर पार्क बनेपछि यो नै बुटवलको रमणीय केन्द्र बन्नेछ, यहाँको महत्व बढ्नेछ भन्ने हामीलाई विश्वास छ’, उनले भने, ‘यहाँको सार्वजनिक जग्गा संरक्षण हुँदा यहाँका बासिन्दालाई लाभ हुनेछ, विपदमा खुला स्थान आवश्यक पर्दा यो पार्क उपयोगी हुनेछ ।’

प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विपदका समयमा हुनसक्ने जोखिमका लागि समेत उपयोगी हुने गरी र्पाक निर्माण हुने र यसले स्थानीयलाई लाभ पुग्ने बताए ।

गत जेठ २५ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार चालु आर्थिक वर्षका लागि शालिकसहितको पार्क निर्माण गर्न ५० लाख रुपैयाँ विनियोजन भएको शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले बताए ।

नगरप्रमुखले गरेको यो निर्णयको स्थानीयले कुनैपनि हालतमा स्वीकार गर्न नसक्ने सो वडाका वडा सदस्य नकुल शाहीले बताए । ‘हामी यहीँका जनप्रतिनिधिलाई केही जानकारी छैन, पहिले वीपी र पुष्पलालको शालिक बनाउने कुरा थियो रे, आज त सूर्यप्रधानको नि थपिएछ, यहाँका जनताले नेताको शालिक बनाउन जग्गा संरक्षण गरेका होइनन्, पहिले स्थानीयलाई मनाउनुपर्छ, उनीहरुको मन जित्नुपर्दछ’, उनले भनेका छन् ।

बुटवल ११ प्रगतिनगर रंगशाला टोलभित्र आइ सेक्टरमा रहेको उक्त सार्वजनिक जग्गामा स्थानीयले सरकारी कार्यालय वा बहुउपयोगी संरचना बनाउन भनेर संरक्षण गरिराखेकाले नेताहरुको शालिक बनाउने विषयमा सहमति नहुने र काम अगाडि बढ्न नदिइने स्थानीय कमल बस्नेतले बताए । उनले यसरी टोलमा जबरजस्ती राजनीति नगर्न र स्थानीयलाई विवादमा नल्याउन आग्रह गरेका छन् ।

उनले नगर प्रमुखलाई शालिक नै बनाउने मन भए बुटवल ११ श्रृजनानगर मा २ बिघाहा क्षेत्रफलमा बनाइएको विभूति पार्कमा यस्ता नेताहरुको शालिक निर्माण गर्न आग्रह गरेका छन् । एमाले अध्यक्ष दिननाथ भट्टराईले पनि जबरजस्ती शालिक निर्माणका नाममा सरकारी जग्गा कब्जा गर्ने गलत सोच त्याग्न र स्थानीयलाई अनावश्यक विवादमा नतान्न आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *